केशव सिल्वाल
तिमीले मुन्टो बटार्दैमा
के बटारिन्छ हावाको दिशा ?
तिमीले फेर्दैमा गीतको भाका
के फेरिन्छ झरनाको झङ्कार ?
तिम्रो अडवाङ्गे चालले
के भासिन्छन् हाम्रा गोरेटोहरू ?
आसुलाई आगो बनाउन
अब सिकाइरहनु पर्दैन
हामीले जानी सक्यौँ
रातो झण्डा हल्लाउन
सिकाइरहनु पर्दैन
हामी आफैले सिलाई सक्यौँ
हिँड्नलाई बाटो देखाउनु पर्दैन
हामीले बाटो पहिल्याई सक्यौँ
त्यसकै अन्त्य चाहियो
जसले हत्या गर्यो हाम्रो समयको
त्यसकै अन्त्य चाहियो
जसले हत्या गर्यो हाम्रो सपनाको
त्यसकै अन्त्य चाहियो
जसले हत्या गर्यो हाम्रो इतिहासको
त्यसकै अन्त्य चाहियो
जसले दागा धर्यो हाम्रो चेतनामाथि
कसरी ब्युझन्छ मरेको व्यक्ति ?
करोडौँ मानिसको मुटु चोरेर
के तिमी प्रत्यारोयण गर्र्छौ मुटु ?
करोडौँ मानिसको धड्कन झिकेर
के त्यसमा भर्र्छौ धड्कन ?
त्यति सस्तो छैन मुटु
सडकको दायाँबायाँ फुलेको फूलझैं
सजिलै टिप्न सक्दैनौ
त्यति सस्तो छैन धड्कन
खुकुलो माटो खोस्रिएर
बालुवा झिके झैं झिक्न सक्दैनौ
तयार भइसक्यो हरियो बाँसको घारो
मलामी ठीक परिसके
एकोहोरो शंख बजिसक्यो
खोई, लास खोई ?
1 comment:
Mr. Silwan, very good poem, keep it up !
puspa
Post a Comment