दिल साहनी
आज भोलि
म सोच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?
जुठेको हातमा देश छ भनुँ
मुग्लान पसेको मान्छे
चिठी पत्र लेख्दैन
मर्दा जीउँदो थाहा छैन
हर्केको हातमा देश छ भनुँ
अर्कैको बन्दुक बोकेको छ
अर्कैको सीमा सुरक्षा गर्न
जीवन आफ्नो होमेको छ
पुतलीको हातमा देश छ भनुँ
बम्बाइमा बेचिएकी विचरी
उड्ने पखेटा चुँडिएका छन्
सपनाका मुना भाँचिएका छन्
हलोको हातमा देश भनुँ
जोत्दै गरेको जमीन उसको आफ्नो होइन
ज्यामीको हातमा देश छ भनुँ
ओत बसुँ भने
एउटा टाउको लुकाउने छाप्रो छैन उसको
विद्यार्थीको हातमा देश छ भनुँ
ऊ आफैं घेराउमा छ
पत्रकारको हातमा देश छैन
उसको बोलीलाई गोलीले घाइते पारेको छ
कविको हातमा देश छैन
उसको कविताको फूलबारीमा
भावनाको फूल स्वतन्त्र फुल्न पाउँदैन
कलाकारको हातमा देश छैन
उसका डुडला काटिएका छन्
गायकको हातमा देश छैन
उसको गलामा अकुंश लाइएको छ
बुद्धिजीवीको हातमा देश छैन
उसको स्वर दबिएको छ
जन नेताको हातमा देश छैन
ऊ आफैं निर्वासित छ
प्रतिबन्धित छ
बन्दी छ
नागरिकता किन्ने बेच्नेको हातमा पनि देश छैन
उसको निम्ति नागरिकता
फल्दो फुल्दो व्यापार बाहेक अरु केही होइन
त्यसको हातमा पनि जरुर देश छैन
जसको धन पैसा विदेशी बैंकको खातामा जम्मा भएको छ
त्यसको हातमा पनि देश जरुर छैन
जसको मूल जरा विदेशको माटोमा गाडिएको छ
जो देशको हो
उसको हातमा देश छैन
जो देशको होइन
उसको हातमा देश छ
आजभोलि
म सोच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?
No comments:
Post a Comment