चन्द्र गुरुङ
हिजो आज,
हूलका हूल मानिसहरू
म र म जस्ता थुप्रैलाई खोज्दै आइपुग्छन्
र माग्छन् हाम्रा साथ
माग्छन् हाम्रा हात
कि, अब उनीहरूले
नयाँ नेपालको निर्माण गर्दै छन् रे ।
अचेल रेडियोले नयाँ नेपालको हल्ला फुक्छ
र गाउँ-शहरमा हक-अधिकारको कुरा चल्छ ।
यहाँ दिन दिनै
उनीहरू 'उपत्यका बन्द' गराउँछन् ।
हेर्दा हेर्दै बन्दको कालो आवरणभित्र
चेलीहरूको इज्जतमाथि लुटपाट मच्चिन्छ
र चल्छ असंख्य निर्दोष जीवनमाथि मारकाट ।
पल्लो घरमा
छिमेकीहरू पुराना बन्दुक साफ गर्छन्
र यहाँ हाम्रा साथीहरू
सुत्छन् सिरानीमुनि खुकुरी राखेर ।
अचेल पत्रपत्रिकामा नयाँ नेपालको सपना छापिन्छ
र पहाड-मधेशमा समावेशीकरणमाथि बहस चल्छ ।
यहाँ आजभोलि
उनीहरू 'नेपाल बन्द' गराउँछन् ।
हुँदाहुँदै टोलबस्तीमा इमानको मृत्यु हुन्छ
र निर्मम हत्या हुन्छ ढुङ्गामुढाले मानवताको ।
बिहान सवेरै चिया पसलहरूमा
पराइ रगत पिउने योजनाको थालनी हुन्छ
र दिनैभरि साँढे जुध्ने चउरमा
भिड्ने तयारी गर्छन् मानिसहरू ।
अचेल टिभीमा नयाँ नेपाल बारे जटिल गन्थन चल्छ
र देशैभरि राज्य पुनः संरचनाको प्रचार हुन्छ ।
यहाँ अचेल
उनीहरू 'यातायात बन्द' गराउँछन् ।
त्यसपछि धेरै मानिसहरूको दैनिकी
सुनसान सडकमा चक्काजाम हुन्छ
र हिंडिरहेको देश नै तोडफोडमा पर्छ ।
यहाँ,
अस्त्रालयमा गजबको चहल-पहल छ
र हिंड्दै छन् हतियार बोकेर
नयाँ नेपालको खोजीमा मखुण्डोधारीहरू ।
अचेल यो देशमा
म र म जस्ता थुप्रोई मानिसहरू सोच्दै बस्छन्
र चकित हुन्छन्
कि, सायद नयाँ नेपालको निर्माणमा
बनाउनु भन्दा भत्काउनु बढी आवश्यक रहेछ ।
No comments:
Post a Comment