ईश्वर चाम्लीङ्ग
बुनु,
शब्दहरुका अंकुरित मुनाहरु ता-ता ता-ता, तु-तु तु-तु
टेलिफोनमा सुन्छु तिम्रो तोते बोली,
के के भन्यौ तिमीले मलाई
अर्थ लाउँदा-लाउँदै हर रात बित्छ मेरो यहाँ।
तिमी कहिले
खित्का छोडेर हास्छौ
बडो गजबले रोकी-रोकी दोहोरो हास्छौ
त्यो पक्कै खुशि भएर हासेको हौ तिमी
सायद परदेशी बाबाको आवाज चिनेर वा टेलिफोनमा कुनै अनौठो आवाज सुनेर
म तिम्रो खित्काहरु कान देखि मन र मस्तिष्क भरी सुनेर मुस्कुराउदै दिन काट्छु
यहाँ।
तिमी रोईरहेको हुन्छौ कहिले
मलाई खोजेर नै रोयौ कि,
सोध्छु?
तिमी हिड्दै बाहिर मात्र जान खोज्छौ रे
निकै नटि भएको छौ अरे
उनले यसै भनिन फोनमा
म यो परदेशी जिन्दगीलाई सुस्केर्दै
भित्ताको फोटोलाई टोलाँउछु र तिमीलाई सम्झन्छु
समयले तिमीलाई निकै डोरयाईसकेछ
बसेर टुलु-टुलु हेथ्र्यौ
कसैले हेरयो की, मुस्कुर्राई दिन्यौ
आजभोली हिड्दै बाहिर जान नपाए रोईदिन्छौ रे तिमी
सायद घरभित्र बसिराख्न मन पर्दैन होला तिमीलाई
किन कि घर सानो हुन्छ।
सायद बाहिरको संसार देख्न र बुझ्न मनपर्छ होला तिमीलाई
किन कि संसार विशाल हुन्छ।
म तिम्रो रोईरहेको आवाज सुनेर
त्यहाँको दृष्य मन भित्र अवलोकन गर्छु र झन धेरै तिमीलाई सम्झन्छु।
म ति म्रो ता-ता, तु-तु नबुझिने बोलिको अर्थ लाउँदै
तिम्रो भावना बुझ्न खोज्छु र झन धेरै तिमीलाई माया गर्छु।
तिमी निरन्तर मेरो डायरीका पानाहरुमा अनि यि आखाका नानीहरुमा अपडेट
भईरहन्छौ
म यस्तै सम्झनाहरु अपडेट गर्दै दिन, रात, हप्ता, महिना र बर्ष कटाँउछु
केवल भोलीको प्रतिक्षामा
जुन भोली म तिमीलाई यी हातहरुले छुन सकुँ
जुन भोली म तिमीलाइ यी आखा भरी हेर्न पाँऊ
--------------
No comments:
Post a Comment