मातृका पोखरेल
अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ/अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलाई झम्टँदै आयो
मेरो भगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।
जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तक्र्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।
त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै-थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरुद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कंदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडे ।
No comments:
Post a Comment