Sunday, July 8, 2007

जरसाहेबको कुकुर

मीनबहादुर विष्ट


बसन्तको पदचाप बज्नु हुदैन कहीँ
हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन
नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ
भालेले समयको सङ्केत पनि दिनु हुदैन ।
चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ
केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन
आरुको बोटमा ताराहरु झुण्डिनु पनि हुँदैन
आकाशमा बादल उड्नु हुँदैन कहिल्यै
बादल ओढेर जूनले बादलकै कोठाभित्र निदाउनु पनि हुँदैन
कोखिलामा चिचिलाहरु च्यापेर आमाहरुले कतै निस्कनु हुँदैन कहिल्यै
ज्यावल बोकेर किसानहरु फाँटतिर लाग्नु पनि हुँदैन
फाँटमा जौका टुँडाहरु लहलहाउनु पनि हुँदैन
बगैँचामा रङ्ग-बिरङ्गका फूलहरु पनि फुल्नु हुँदैन
तोतेबोली बाल्दै ससाना केटाकेटीहरुले पृथ्वीजस्तो गोल भकुण्डो
उफार्दै, गुडाउँदै मैदानतिर कुद्नु पनि हुँदैन
गौँथलीले बर्षातका निम्ति गुँड बनाउनु पनि हुँदैन
हूँदैन, सूर्य उदाउनु पनि हुँदैन, सूर्य अस्ताउनु पनि हुँदैन
चौबीसै प्रहर अपराधीले झैँ शङ्काले कान ठाडा पार्दै
बाह्रै मास घृणाको तीखो नजरले चारैतिर हेर्दै
हरसमय फोहोर र भद्दा आवाजले गाली गर्दै सबैलाई
हरवस्तु काँचै चपाउँला वा निलुँलाझैं गरी
भोको अजिङ्गरले झैं
थुतुनो फट्फटाउँदै
र तरबारजस्ता तीखा दाँतहरु चम्काउँदै
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ ।
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको थुतुनोजस्तो थुतुनो लिएर
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको मिजास जस्तो मिजास गरेर
मानौं जरसाहेबको अर्को रुपझैं
संसारका प्रत्येक कुरुप, फोहोर र
भद्दा कुकुरहरुको सम्मानमा
पुच्छरले सलामी चढाउँदै
मानिसको सुन्दर इलाकाभित्र
घरी धुरीमा चढेर, घरी पर्खालमाथि बसेर
आतङ्क र अराजकताको साइरनजस्तो
भद्दा आवाजमा भुकिरहन्छ
र जरसाहेब
त्यस नमीठो, रुखो र असभ्य आवाजलाई
यस प्रयोगको सबभन्दा मीठो सङ्गीत ठान्दै
खित्का मारेर हाँस्नुहुन्छ
उस्तै नमीठो, रुखो र असभ्य आवाजमा ।

No comments: