Saturday, July 7, 2007

पर्यटक


नवराज सुब्बा


पर्यटक !
आउन त आयौ घरैमा
तर माफ गर अहिले हामी सडकबन्द
चुलोबन्द गर्न ब्यस्त छौं
तर्साउनेसित तर्सेर
त्रस्त छौं अस्तब्यस्त छौं ।

कृपया हामीलाई
दिनभर अघाउञ्जेल जुध्न देउ
रातभर धित मरुञ्जेल भिड्न देउ
सासु बुहारी बाझन देउ
बाबूछोरा लड्न देउभाई भाई भिड्न देउ
सकिएन हराउनु पर्नेलाई हराउन
आफैलाई एकपटक हराउन देउ
पछि गरौंला हिसाबकिताब ।

पर्यटक ! माफ गर
लुम्बिनी जाने बाटो बन्द छ
उड्ने गुड्ने बाटो सबै बन्द छ
मात्र चालु के छ भने
हामी अत्यन्त ब्यस्त छौं
एकअर्काको केश गन्दैछौ
एकअर्काको दाँत झार्दैछौ
एकआपसमा करङ सोझयाउदैछौं
अलि सुहाएन रे
अझै हामी शिशु नै छौ ।

पर्यटक महोदय
स्वागत गर्न सकिएन माफ गर
हामी नेपाली अहिले
बीरतापूर्वक देश बनाउदै छौं ।


-----------

बिराटनगर नेपाल

No comments: