Tuesday, July 31, 2007

शहीद-कविता


स्वप्निल स्मृति


सम्पादक महोदयले
कवितालाई पटक-पटक सम्भोग गर्‍यो
र देशको संबिधान पुस्तिका पल्टाएर
हठात् झस्कियो-
उ विल्कुल बलात्कारी झैं देखिन्थ्यो ।

अखबारको अदालतमा
अक्षरहरुलाई
न्याय गर्न चाहेन
फाँसी दियो
कवितालाई
बेपत्ता पार्‍यो एकाएक ।

सम्पादक महोदयले
अखबारको मुखपृष्ठमै
राजकुमारीको नांगो नितम्ब छाप्यो
विष्णु अवतारको प्रार्थना छाप्यो
असुरिक्षत शहरमा
साताको राशीफल छाप्यो
कामुक शहरमा सिनेमाहरुको अश्लिल नामावली
दरबारमा आयोजित रात्रीभोजको सूचना
अनि भगवत् महायज्ञको निमन्त्रणा
समाचारमा राजा छाप्यो ।

अखबारमा
कविता नागरिक भएर बाँच्न सकेन ।

कवितामा
मेटिएको सिमाना
मारिएको शहीदको सपना
बेचिएको नदीको पोल
र लेण्डुप दोर्जेहरुको हुलिया खुलाइएको थियो
कविताले
मेरो इतिहास र मेरो विर्यको रंग
भनौं न थेप्चो नाक, चिम्सो आँखा र रातो वर्ण
अर्थात म हुनुको पहिचान 'एक्स्पोज' गरेको थियो
र त
सम्पादक महोदयले
कविताको जघन्य हत्या गर्‍यो
एउटा कविको एउटा कविता
यसरी इतिहासमा शहीद भएर गयो ।

फक्ताङ्लुङ् लिम्बुवान

कुमार लिङ्देल


बोली ननिस्कने आमाको काखको
बच्चा झैं
वल्टिपल्टि गर्दै
शदियौं देखि
फक्ताङ्लुङ्को काखमा खेलिरहेछ
एउटा पुरानो देश-लिम्बुवान

आवाज विहिन आमा
त्यो निर्जिव पहाड फक्ताङ्लुङ् उर्फ कुम्भकर्ण
बोलीको अभावमा
आँशुमिश्रित माया
आँखाबाट पोखाएर
नुहाइरहेछ एकमात्र सन्तान लिम्बूवानलाई
तमोर र काबेली भएर

आफ्नै अगाडि......
लिम्बूवानलाई पिटिएको नीलो डामहरुको
साक्षी बक्न
न्यायपुर्ण अदालत बन्ने आशामा
प्रत्येक हिउँदको चिसो तुफान सहदै
दृढतापूर्वक उभिरहेछ फक्ताङ्लुङ्ल
लिम्बूवानको एकमात्र चश्मदिद गवाह बनेर ।

(फक्ताङलुङ- कुम्भकर्ण हिमाल, लिम्बूभाषामा नाम)

Monday, July 30, 2007

हाम्रो कविता


केदार श्रेष्ठ
नीला, निर्मल
आकाशको काखमा
उज्यालो आँखा लिएर
शीतल हावालाई अगालो हाल्दै
आकाशैसङ्ग पाखुरी मिलाउँदै
निर्धक्क कावा खाइरहेका
पंक्षी देख्दा
आँखाले
असन्तुष्टिका धर्साहरु
आखाभरी छताछुल्ल पार्छ
सधै ट्वाल्ल परिरहने
आँखाहरु
न्यानो काखको निम्ति
छाम-छाम-छुम-छुम गर्न थाल्छ
ढुङ्गा-मुढा बाहेक
अरु नभेटिएपछि
मन चसक्क.....चस्किन्छ
मुटु दुख्छ, मन रुन्छ
आखाले आँसु खसाल्छ
अनि
थाक्रो खोसिएको
काक्राका त्यान्द्रासङ्ग उभिन पुग्छ ।

भर्खर धर्तीमा
बसाइसरेका
कपासे चल्लाहरु
अवोध चीं चीं सङ्गै
आमाको मुखमा
निर्दोष आँखा खसाल्दा
आमाले कुनै कस नराखी
ढपक्क ढाक्दा
एकाएक मुखहरु "आमा" भनेर
चिच्याउन खोज्छ
मुखमा पीन ठोकिएको पाएपछि
यथार्थमा झर्छ ।

हो, हामीलाई
संसारमा उतारेको माटो
तोतेबोलीबाट स्वर झिकाउदै
ताते गराउदै, हुर्काएको भूमी
हामी माथि, दुध सिंचाई गरेको
यो भूमीलाई
हामीले कहिल्यै निर्धक्क भएर
अङ्गालो हाल्न पाएनौ"
अहँ यो आफ्नै माटोलाई
"मेरी आमा"
"मेरो देश" भनेर
कहिल्यै भन्न पाएनौ
न हामीलाई,
धरतीले, माटोले
"मेरो बाबा"
"मेरो नानी" भन्दै
गाला सुमसुमाउन पायो
हाम्रो पाइतालाको आधारलाई
वर्षौदेखि
एउटैले पेवा बनायो ।

यहाँ परिवर्तनले
राको नदन्काएको पनि होइन
राकोले चिसो मूढा नसल्काएपछि
राकोकै अघि मूढाहरु मौलाएपछि
परिवर्तनले
परिवर्तन ल्याउन सकेन
उज्यालो ल्याएपनि
घामले न्यानो र्छन सकेन
चिसोले थलिएका ढडहरुमा
कष्ट घटाउदै घटाएन
अहँ घामले
'विहान' ल्याउदै ल्याएन ।
शिशीर चिर्दै
वसन्तले नि पालो पाएको हो
तर वसन्तले
न 'सुन्दर फूल' फूलाउन सक्यो
न प्रगतिको फड्को मार्ने
'पुल' बनाउन सक्यो
न रक्तपिपासु लामखुट्टेबाट बच्ने
'झुल' बुन्न सक्यो
वसन्त आफै खोक्रिएर आयो
धनुष्टङ्कारले कुप्रिएर आयो
अह वसन्तले
वगैंचा सजाउदै सजाएन
सुगन्ध र्छर्दै छरेन ।

तैपनि
नया बाटोका निम्ति
नीला आकाशका निम्ति
गलेका छैनन्
हातहरु
थाकेका छैनन्
आखाहरु
रोकेका छैनन्
पाइलाहरु
यी त झन् झन्
जिउदा भएका छन्
झन् झन्
फूर्तिला भएका छन्
देख्न छाडेका छैनन्
सपना
नौलो संसारको
मरेका छैनन्
आशा
यो त झन् जागृत भएका छन्
यही त हो
हामीले बाचेको यथार्थता
अनि यही त हो
युगले अङ्गालेको 'हाम्रो कविता' ।
------------------
धादिङ्ग

सङ्क्रमण


चंकी श्रेष्ठ


मैले फेरि देखेँ
तिनीहरूका आँखामा
कुहिरोको बतासजस्तो कुरूपता
जहाँ एक्काइसौँ सताब्दीको
महान् षड्यन्त्रको घना जंगल फैलिन्छ
पानीजस्तो निर्मल गीत र फूलजस्तो मुलायम संगीतबीच
किन तालमेल छैन ?
त्यहाँ पशु र पारिजातको संवेदना तुलिन्छ ।
देख्छु- सन्त र निलकण्ठको पाखण्डमा
सामेल छन् हाम्रै मानिस
जो चढिरहेछन्
मिथ्या राजनीतिको बाइपंखी घोडा
जसमा महाराजको बिलासी रूपरङ देखिन्छ
जसका सफा लुगाभित्र छ
परपीडक सनातन धर्मको पोखरी
जहाँबाट निस्केको गोहीले
वियोगजस्तो दुःखी अनुहारमाथि
आँसु चुहाउँछ
त्यहीँबाट जारी हुन्छ दमनको अध्यादेश
हत्याराहरूका नाममा
त्यहीँबाट पुरस्कारको सिफारिशपत्र लेखिन्छ ।
सफा आकाशमा बिजुली चम्केजस्तो
समयको यो मोडमा
बारम्बार म आफैसँग सोधिरहेछु
यो देशमा शासक र चटकेमा
को बढी हाँस्यकलाकार छ ?
व्यवस्था र कुहिएको कागतीमा कुन बढी अमिलो छ ?
देख्छु, सत्ताको बिलासी गद्दामा
आन्दोलनको झण्डाको रङ धमिलो छ ।
सोध्छु- लोकतन्त्रको बगैँचामा
सप्रिएका महाराजहरूको संगीत र बलात्कारीको
सदाचारी भाषणमा कति अन्तर छ ?
औतारी नेताको किताब र
देशद्रोहीको राष्ट्रिय गीतमा कुन बढी परपीडक छ ?
सुरक्षा संयन्त्र र सुँगुरतन्त्रमा
कहाँ बढी सुशासन छ ?
देख्छु, द्रौपदीको यौवनमाथि कृष्णका आँखामा दुःशासन छ ।
देख्छु, पुना विश्वकर्मा र कान्छी मिजारका आँखामा आँधी
जसको आवेगमा हत्याराको दुस्साहस तुहिन्छ
देख्छु, अस्मिता र्घर्ती र झुमा किरातीको उत्तेजनामा ज्वालामुखी
जसको सामु बन्दुक स्वयं नुहिन्छ
देख्छु, देख्छु र देख्छु
अर्ढाई करोड मानिसका आँखा-आँखामा प्रचण्ड ज्वाला
जसको रापमा सपनाको इन्द्रेनी देखिन्छ
जसले भन्छ, आगामी इतिहासमा यही कुरा लेखिन्छ
कि तिनका आँखाका ज्वालाले भष्म भएथे
इश्वर, औतारी र महाराजहरू ।

Sunday, July 29, 2007

लिम्बुवान

लक्ष्मी सुन्दर निंङलेखु


म एउटा लिम्बुको छोरो
लिम्बुवान प्रदेशको असल सिपाही
यो राष्ट्रको बफादार नागरिक
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

बुझ्नेले अर्कै के के बुझ्लान
पर तन्त्र, वर तन्त्र जे जे बुझे पनि
मलाई मेरो आमाले बोल्ने भाषा चाहिएकोछ
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

ईतिहासमा हराएका विभूतिहरू
अबका ईतिहासमा सजिनु पर्छ
हामीलाई काङसोरेको गाथा चाहिएकोछ
त्यसैले साथि,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
-------------------
शंखमुल, काठमाण्डौ

नागरिक

मातृका पोखरेल


ऊ हाम्रै शहरमा बस्छ
यतै वरिपरि बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।

Saturday, July 28, 2007

मेरो मुटु अट्ठ्याउने तिम्रो याद र यौटा प्रश्न


परिहास सुब्बा


यसपाली मन्दिर जाँदा,
द्यौता सित
तिमीलाई मागिन मैले।

लाग्दछ,
कि त मेरो मुटुको प्रत्येक सेलहरु तिम्रै मायाले निर्मित छन्
होईन भने किन अट्ठीन्छ र मलाई अप्ठ्यारो हुन्छ ?
जब म तिमीलाई सम्झन्छु ।
र , सावित छ
म चाँढै नै मुटु सम्बन्धी रोगी बन्दैछु यसै कारण ।

थाहा छ,
थाहै छैन बाट रिर्सच गर्छु
कति सम्म माया गर्र्छौ र चाहान्छौ मलाई
लख् काट्छु , कति सम्म घृणा गर्र्छौ वा चाहादैनौ बाट
वश बीचमा पर्खाल छ
चाहानु र नचाहनु को अस्तित्व बोध गराउनलाई
तिम्रो निष्कर्श नै
मेरो रिर्सच को रिजल्ट पनि हो

त्यसैले
यसपाली मन्दिर जाँदा द्यौता सित
तिमीलाई मागिन मैले ।

र अर्को कुरा,
तिम्रो मायाको अंश भित्र
सधैं सत्य युग बाँचेको हुन्छु म
र पाप कहिल्यै चिताउँदिन ।
तर मेरो मुटु संग तिम्रो के नाता छ?

र यसरी
मेरो मुटु अट्ठीन्छ र अप्ठ्यारो हुन्छ मलाई
जब म तिमीलाई संझिन्छु ।।

जराको स्वर


राम विनय


जमिनमुनि गहिरोसित
जरा नगडेको
रूखको जरा
आकाशतिर फर्केर
उदास आ"खाले हेर्छ ।
हुरीबतासले
हल्लाउँदैमा हल्लिने
जरासमेत उखेलिने
गहिरो आस्था र विश्वासमा नजमेको
कस्तो रूखको जरा भइएछ -
बोलीवचन र व्यवहारको ठेगान नभएको
छेपारे स्वभावको गतिछाडा र मतिभ्रष्ट
झुक्क्याउन खप्पिस
हुरीको एउटै झम्टाइमा लडेको रूख
आफू त लड्यो, लड्यो
बाटामा हिँड्ने यात्रुलाई समेत ठहरै पार्‍यो,
सराप परेको रूखको
कस्तो धरापमा परिएछ -
हेर्दा बडेमानको देखिने
तर भित्र विचारको गुदी सुकिसकेको
झुत्रिएर मक्किएको
दृष्टिविहीन पिपलपाते रूखको
कस्तो जरा हुन पुगिएछ -
धिक्कार छ आफैँलाई भन्दै
स्वर निकाल्दै चिच्याइरहे झै लाग्छ
सडकछेउमा लडेको रूखको जरा
आकाशतिर हेरेर
जमिनमुनि गहिरोसित
जरा नगडेको रूखको जरा
चारैतिर गुन्जिएजस्तो लाग्छ
जराको स्वर ।

महानगर

धुस्वां सायमि


एउटा
सहर
महानगरका हरेक मानिस
कहिल्यै
सीधा र सही तरिकाले बाँच्दैनन् ।

उनीहरू आफू
आफ्नै र अरू कसैको
संकेत-निर्देशनमा
सदा
हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।

यसरी
कहिलेकाहीँ
सीधा बाटोमा हिँडेर सही बोल्दछन्
उनीहरू
डराएर/हड्बडाएर
त्यस बाटोलाई छोड्दछन्र
कोही मानिस
जो सीधा बाटोलाई
सही बाटो मानेर हिंड्दछन्
यस्ता मानिसहरू जीवनमा मार
र हार खान्छन्
हरेक
सहर
महानगरको जीवन
वक्रपथमा हिंड्छ
यही वक्रपथ हो ?
सहरको जिन्दगीको चक्रपथ ।
उनीहरू
सदा-सदा
वृत्त परिधिमा नै घुमेर
बाँच्दछन्
उनीहरूलाई
जीवनमा कहिल्यै
केन्द्रविन्दु प्राप्त हुँदैनन् ।

हरेक
सहर
महानगरको बाटो
गलत यात्रामा खुलेको हुन्छ ।

Friday, July 27, 2007

समयबिम्ब

विवश पोखरेल


धुमिल वातावरणसँगै
निर्निमेष अन्योलिएका आँखालाई
फराकिलो सडक बनाएर
अनवरत हिंडिरहेछ समय
विना अवरोध र विना पूर्णविराम
समयको स्पष्ट पद्चाप छामिरहेछु
जीवनका उकाली ओरालीसँगै
सुस्त थकिरहेछ समयम थकित समयमा !
कर्कश प्रतिध्वनि र शोकसङ्गीत सुनिरहेछु
विपनाको सेताम्मे कुहिरोमा
सपनाका सुन्दर राजकुमार हराएजस्तै
अनायास हिंडदाहिंडदै हराइरहेछ समय
म समयका विलीन गीतहरु पछ्याइरहेछु
ट्राफिकहरु हो! रोक !
सवारीनियमको उल्लङ्घन गरिरहेछ
समय !प्रवेशनिषेधको रातो साइनबोर्ड
माथिअनियमित यात्रा थालिरहेछ समय

नहारेको मान्छे

विप्लव प्रतीक


मैदानमा म एक्लै छु
र झयाल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू ।
मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्
मलाई गर्व छ
मैदानमा म एक्लै छु ।
रुन्छु म, मलाई पनि दुःख छ
चोट, प्रहार अनि विचारको दुःख
तर गौरव छ मलाई, मैदानमा म एक्लै छु ।
आँधीसँग सामना गर्ने कुनै युवक
प्रहारसँग सामना गर्ने कुनै युवती भेट्ने रहर छ
आँसुका थोपालाई मोतीका रूपमा सजाएर
रत्नजडित किस्तीमा पेस गर्ने रहर छ ।
तर, मैदानमा म ए क्लै छु
जून एक्ली, सूर्य एक्लो, पृथ्वी एक्ली
मैदानमा म एक्लै छु ।
-----------------------
नयाँसडक, ८ अक्टोबर १९८६

Wednesday, July 25, 2007

जून



अनमोल मणि


त्यो जून
तिमीले हेर्दा तिमीजस्तो हुन्छ
एक्लो एकान्ते
बादल जस्तै उड्छ सम्झना
र पानी जस्तै दर्किछ पीडा
तिमी भित्र पनि म भित्र पनि,
उस्तै छ आकाश
तिम्रै मन जस्तो-चौडा
तिम्रै अनुहार जस्तो चम्किन्छन् हररात ताराहरू
र लजाउँछन् एक अर्कासँग
त्यसैले त्यो जून
तिमीले हेर्दा मजस्तै हुन्छ
र मैले हेर्दा तिमीजस्तै हुन्छ
बैँशको गल्छेँडामा उभिएर सोचिरहेछन्
कुमारीहरू
साँच्चै त्यो जून
प्रेमीजस्तो हुन्छ कि प्रेमिका जस्तो ?

नयाँ घाउ नै लेख्नू

पुर्णविराम


बाढी र खडेरीको कुरा लेख्नू
त्यहाँबाट सावधानीपूर्वक
मलाई स्वतन्त्र भएपछि प्राप्त हुने
मेरो साँझ खेर नजाने गरेर ।
लेख्नू धमिलो देखिए धमिलो लेख्नू
हलक्क बढिसकेको काढाले
कोतरिरहेको भए कोतरेकै वयान लेख्नू
केही फरक पर्दैन
मलाई घाउ हुने आशंका हटाएर
मेरो लागि नयाँ घाउ नै लेख्नू ।
जंगली फूलले घुम ओढेको भए
नढाँटीकनै ओढाउने मानिसको नाम लेख्नू
पुरानो टेबुलमा
दिउँसो लगाएको कपडा फुकालेर
मनपर्ने खामभित्रबाट
आफूले थन्काएको आँखा फुकालेर
म पढूँला तिम्रो चिठ्ठी
बिना झूल बितेको रातलाई बिर्सिएर ।
सावधानीपूर्वक लेख्नू
खलंगाले खोजेको भए पहार
बाटो बनाउँदा बनाउँदै
कसैको चुरा फुटेको भए
आशंका हटाएर लेख्नू मलाई घाउ हुने
बाटो बनाउँदा मरेको
त्यो महान् मान्छेको नाम
निःसंकोच लेख्नू
मेरो लागि नयाँ घाउ नै लेख्नू
सावधानीपूर्वक लेख्नू
हज्जारौँ आँखारू तरेर मलाई प्राप्त हुन्छ चिठ्ठी ।

Tuesday, July 24, 2007

जीवन / पार्वती / लक्ष्मीपूजा


सुलोचना मानन्धर धिताल

जीवन

जीवन हरेक दिन
नयाँ भएर उदाउँछ
पुरानो भएर अस्ताउँछ
सूर्य सँगसँगै ।


पार्वती

म पार्वती
सत्य पति पाउने पूजामा
समर्पित उमेरले
आज
प्रसादको रूपमा
शिव प्राप्त गरेकी छु !


लक्ष्मीपूजा

सयौँपटक आफ्नै छेउबाट
आफ्नै नजिक र अगाडिबाट
वारपार गरेको अवसरलाई
भकुन्डो ठानी खेलेकी थिएँ
आज म त्यसैको
पूजा गर्दै छु- लक्ष्मी पूजा ।

क्याक्टस, उँट, मरुभूमि र म


प्रकाशकृष्ण "बाक्सिला"


शान्त वातावरण बीच एकान्त मरुभूमि
अर्थात
एकान्त मरुभूमिको शान्त वातावरण
अनि जीवनको अस्तित्वको खोजी !
केको लागि
प्रश्न छ तातो हावाको !
म अनुत्तरित छु
म भित्रको रिक्तता वा
मेरो चेतनाभित्रको शून्यता
जुर्मुराउने जमर्को गर्छ
अलिकति वालुवाको धुलो उडेर
केही परसम्म जान्छ
एउटा काढेदार वनस्पतिमा
ठक्कर खान्छ
र जमीनमा र्झछ
क्याक्टस....।
अहो ! क्याक्टस पनि जीवन हो
यो पनि बाँचिरहेछ
हरित भएर वृद्धिरत !
रङ्गीविरङ्गी भएर फुलिरहेछ
अनि आफ्नो रक्षार्थ काढे हतियार उठाएर
मरुभूमिको तीक्ष्ण झोक्काहरुको सामना गरिरहेछ
धैर्यतापूर्वक र वीरतापूर्वक ।
के त्यसो भए मेरो खोज
यही क्याक्टस हो त?
अह कदापि हुन सक्दैन
किन म सुवासित सुन्दर र
रेशमी कोमल पुष्प भीड छोडेर
क्षुद्र क्याक्टस खोजुंला...।
मलाई क्याक्टस त पटक्कै मन पर्दैन ।
नत्र म किन आएँ यस महा उष्णभूमिमा ?
अचानक....
एक हुल उँटहरु धिमा गतिमा आउँछन्
प्रचण्ड सूयको रापलाई चुनौति दिदै
रत्तिभर पर्वाह छैन ताप र तृष्णाको
अहो ! उँट ....!
उँट पनि त झन् चलायमान जिन्दगी हो
मरुभूमिका कष्टहरुलाई सहर्ष स्विकार्नु
बिना पानी.....
रगत पाक्ने गर्मीलाई आँखाले खाँदै हिड्नु
उसको नियति......।
त्यसो भए के म उँटलाई खोज्दैछु ?
अहँ , यो हुन सक्तैन
यो हुनै सक्तैन
किनभने म वसन्तको हरियाली बीच रमाउने
जल संसारमा विचरण गर्ने
सेतो हिमराशिमा जीवन बाँच्ने
सारा प्राणी जगत छोडेर
त्यही भद्दा उँट रोजुला ?
मलाई उँटको जिन्दगी ठयाम्मै मन पर्दैन ।
तर अनायासै म यथार्थमा ओर्लन्छु
म आफ्नै ओछ्यानमा छु
म आफ्नै वर्तमानमा छु
म आफ्नै संसारमा छु
त्यसैले झन् आफुलाई आफैमाथि दया लागेर आउँछ
मलाई आफ्नै परिचयको प्रश्नले टोक्न थाल्छ
म झन् झन् सत्यको नजीक पुग्छु
उफ...म त मरुभूमिमा हल्लिरहेको
क्याक्टस रहेछु
म त बालुवाको थुप्रोमा दौडिरहेको
उँट रहेछु
म त सिङ्गो मरुभूमि रहेछु
फेरि ममताहरु टुसाउँछन् मेरो अन्तरमा
गलत सोचहरुलाई सच्याउँदा सच्याउँदै
अप्रत्यासित शब्दहरु निस्कन्छन् मेरो मुखबाट्
मेरो प्यारो मजस्तै क्याक्टस.....
मेरो प्यारो मजस्तै उँट.....
मेरो प्यारो मजस्तै मरुभूमि

Monday, July 23, 2007

कविका प्रियतम हरफहरू


मन्जुल

कविका प्रियतम हरफहरू
प्रकृति
र प्रेम
जो बाच्छन्
मानिसहरूसंग
अनुभूतिले
कविका प्रियतम हरफहरू... ...

मान्छे खोजीको नियात्रा


शिव प्रकाश

मान्छे - मान्छे देखिने
मान्छेको यो संसारमा
मान्छे नै नभेटेपछि
मान्छे खोजीको यात्रामा हिडेको छु
मान्छे खोजीको मेरो यात्रामा
मान्छे खोज्दै जाँदा
अचानक केही घडीयाल गोहीहरु भेटिए
रक्ताम्य दहमा आहल खेलेर
उग्राइहरेका साह्रै घिनलाग्दा ती गोहीहरु
सन्तप्त समवेत स्वरहरुमा
मान्छेका समवेदना गाउदै
आँशु चुहाएर भनिरेका थिए ?
हामी मान्छे हौ, असल मान्छे हौं ।

यात्राको फड्को मार्दै जाँदा
कङ्कालको जङ्ल रोप्ने
हुँडार र ब्वाँसाहरु
समाधिस्थ मुद्रामा चिहानहरुमाथि
मलिन भावमा शान्तिको कामना गरिरहेका भेटिए
मान्छे चिथोरेर थाकेका ती हुँडार र ब्वाँसाहरु
शोक गाउदै भनिरहेका थिए ?
हामी मान्छे हौ, असल मान्छे हौं ।

यात्राको बाटो काट्दै जाँदा
हाडमासुका पर्खालले ठडिएका
खुनपसिनाका रङ्गहरुले पोतिएका
छालाका पर्दाहरुले सजिएका
डरलाग्दा दरवारभित्र
एकहूल हिस्रक बाघहरु भेटिए
निरपेक्ष सन्यासी वस्त्रमा
अहिंसाको अभियनमा
मावनताको गीत गाउदै
ती बाघहरु भनिरेका थिए ?
हामी मान्छे हौ, असल मान्छे हौं ।

नियात्राको साँघु तर्दै जाँदा
निर्जन वस्तीका बीचबीचमा
सुकेका ठाडा नाङ्गा रुखहरुमा
सन्तसाधू भेषमा केही गिद्धहरु भेटिए,
भरखर वध गरिएको मान्छेको आलो मासुले नपुगेर
सिनो लुछेर अघाएका ती गिद्धहरु
निराहार ब्रत बसेजस्तो ध्यानमग्न मुद्रामा
निष्ठा र धर्मका वाणी ओकल्दै भनिरहेका थिए ?
हामी मान्छे हौं, असल मान्छे हौं ।

यात्राको नेटो काट्दै जाँदा
गाउँवस्ती फाँडेर
पोथ्रापोथ्रामा लुकेर बसेका
चोरचाण्डाल स्यालहरु
देवस्थलका पाटीपौवामा पलेटी कसेर बसेका भेटिए
जिउँदा प्राणले नअधाएर
चिहान उधिन्ने चण्ड ती स्यालहरु
सदाचारका शङ्ख फुक्दै भनिरेका थिए ?
हामी मान्छे हौं, असल मान्छे हौं ।

बुद्ध मान्छे हुन् भन्ने सुनेको थिए
तिनै मान्छे बुद्ध खोज्दै जाँदा
मान्छे खोजीको यात्रामा भेटिएका
गोहीहरु, हुँडार र ब्वाँसाहरु
बाघहरु, गिद्ध र स्यालहरु मान्छे हुन् भने
मान्छे के हुन् ?
अहिले म आफैंलाई सोधिरेछु
आफैंभित्र म अहिले एउटा मान्छे खोजिरहेछु
मभित्र मान्छे छ कि छैन ?
म आफैं दुबिधामा परिरहेछु !

----------
हरैंचा - मोरङ / हाल - बोष्टन / अमेरिका ।जूलाई २३, २००७ ।

Sunday, July 22, 2007

बिसे नगर्चीको बयान


श्रवण मुकारुङ

मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।

मै त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई ?
यो बिसेलाई दिशा लाग्यो मालिक !
म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै म बिसे उफ्रनुपर्ने ? थुइक्क बिसे... ।
म बौलाएँ मालिक !
म बौलाएँ ।

मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्दिनँ
मालिक ! म बौलाएँ ।

मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ !

मालिक !
हजुरको तरबारले टाउको काट्छ कि फूल
भ्रममा परेँ म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अर्ढाई सय वर्षेखि म तपाईंसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।

हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुला

मालिक !
मान्छे बोलाएपछि आपैँFmसित पनि निहु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका
रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनको मुलुक विशाल ठानेँ हुँला

मालिक !
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

शब्दकोष


विमल निभा


हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणको लागि
तपाईँ संसदलाई संसद् भन्नोस्
अथवा सुपर मार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका
मनीषीलाई मनीषि भन्नोस्
अथवा गड्यौँला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला
साहुकारलाई साहुकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा वीर्यपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झण्डालाई झण्डा भन्नोस्
अथवा मखुण्डो
सिंहदरबारलाई सिंहदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भननोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा वधस्थल
कुनै फरक पर्नेछैन
चलाखी, महल, सिद्धान्त
जननायक, साइकल, लामखुट्टे
बहुमत, घुस, घाँस
ढुङ्गा, कर्फ्यू, फूल
पहलमान, वंशावली, रात
बारुद, लाइसेन्स, जय नेपाल
समीकरण, गमला, गीत
मन, कमरेड, दमकल
पासपोर्ट, मानिस, हिमाल
पार्टी, श्रीपेच, खेल
दलबदल, आलोचना, पैसा
अभियान, बल, समाजवाद
अमेरिका, भकारी, अविश्वास
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन
म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरुले अर्थ हराएकाछन्

रिमोट कन्ट्रोलर


स्नेह सायमी


उसलाई
रिमोट चलाउने बानी
परिसकेको छ
इशारामा नचाउने
इच्छामा कुदाउने
रहर बसिसकेको छ
कनै गोप्य ठाउँबाट आदेशहरु
काममा अनुवाद गराउने
अभ्यस्त भइसकेको छ
तिमी हामीजस्तै
पारदर्शी बाँच्न सक्दैन
स्पष्ट बोल्न सक्दैन
फुटपाथमा झोला बोकेर
हिँड्न सक्दैन
षड्यन्त्र रोप्छ
षड्यन्त्र फलाउँछ
षड्यन्त्र पिउँछ
षड्यन्त्र ओकल्छ
ऊ आफू मान्छे हुन सक्दैन
मान्छेप्रति भर गर्न पनि सक्दैन
ऊ दासहरु पाल्छ
रोबोटहरु हुर्काउँछ
र आदेशहरु रिमोट गर्छ
अँध्यारोमा बस्छ
उज्यालोमा डराउँछ
सबैतिर अँध्यारो छाउने
प्रयत्न गरिरहन्छ
ऊ जो रिमोट चलाउछ ।

Friday, July 20, 2007

राजकुमारी

स्वप्निल आचार्य


एकाको देशमा, दूर आकाशमा, राजकुमारी थिइ,
मुख लुकाएर अलिकति लजाउँथी अलिअलि मुस्काउँथी ।
घुम्तो उघार्दा उसको मुहार देखेँ
हेरेको हेर्‍यै भएँ ।

कल्पनाको देशमा उ बस्दथी
माया र खुशीलाई सधैं फिजाँउथी
नरोकी, भावमा डुबी, सपनमा रमाउँथी ।
आँखा खोलेर सत्यतालाई खोजेँ
त्यतिकै सुन्दर पाएँ ।

आगमनमा उसको अमृत बर्सिन्थ्यो
पान्चजन्यपनि स्वर मिलाउँथ्यो
देवगण आइदिन्थे फुलपाती बर्षउन ।
अनि सिंहासनमा बसेर मुस्काइदिन्थी
संसार जितिदिन्थी ।

पिलो


छविरमण सिलवाल


राच्छेसी प्रवृत्ति
टुङ्गिएको छैन,
शरीरमा उम्रने पिलो
राम्रोसंग निचोरिएको छैन ,
कहिले कहाँ आउँछ ,
कहिले कहाँ ।
सधै दुःखै दुःख
डाक्टर राम्रो
नपरेर हो कि ?
पिलो
कहिले लुतो भएर
चिलाउँछ ,
कहिले पिलो भएर
दुखाउँछ ,
आफ्नो जात जनाएर
तपाइं हामीलाई
सधै-सधै
तर्साइरहेछ ?
ए !
सावधान ,
केही गर्छु भन्नेहरु
पहिले पिलोको
औषधि गर ।
नारायणहिटीको
पट्टाङ्गीनीमा
मडारिरहेको
पिलोले
हामी सवैलाई
पटक-पटक
दुखाइरहेछ
पिलोको
औषधि जरै उखेलेर
फल्नु हो ।
आऊ सवै
मिलेर
पहिले पिलो
निचोरौ
अनि ,
अरु थोक गरौं ।
त्यसपछि
लुतो त
साउने संक्रान्तिमा
फ्यालौंला ।
गिद्धे आँखा
लगाएर राच्छेसी
प्रवृतिको पिलोलाई
जरैदेखि
उखेलेर फालौं
र ,
शान्तिको श्वास फेरौं

आमा

छक्कु उदासी


आमा ! अपुताली जोगाउन हो की ?
कुरौते समाजको मुखमा बुजो लाउन
आमा ! नारीत्व ढान्न हो की ?
आफनो कोमलता सन्तानमा बिसाउन

आफु जीबन र मरणको दोसाधमा पनि
दश महिना कोखीमा राखेर जन्मायौ
आफु संधै भोक भोकै बसेर भए पनि
अतमभरी दश धारा दुध चुसाएर बचायौ

मायाकी खानी आमा ! आफु दुख सहेर
अपार माया दिएर, मलाई हुर्कायौ
दायाकी धनी आमा ! आफु संधै रोएर
सितल अनुहारले हांसेर, मलाइ फकायौ

आफु अन्याय र अत्याचारको समना गरेर
न्यानो काखमा, मायालु हातले सुमसुमायौ
सन्तानको सुन्दर भबिश्यको कामना गरेर
सबैलाई खुसी बाडेर, आफ्नो दुःख लुकायौ

संसार भरिको एउटी आमा !
मेरी मोहतारी आमा !
मेरी जननी आमा !
निश्छल, निश्पक्षकी देबी आमा !

त्यसैले आमा ! मलाई
कहिलै तिरेरै नसक्ने ऋण लगायौ
सांच्चै आमा मलाई
सातौ जन्मलाई पुग्ने माया बिछायौ

--------
जापान

Thursday, July 19, 2007

हामी गधाहरु भारी बोकिरहेछौं


जगत नवोदित


समयको प्रत्येक पलसंग
विश्वासको हाम्रो वलियो धरहरा मक्किदैछ
निर्धो वस्तिमा
सन्त्रासको आगो सल्किदैछ
कसरी शान्त भएर बस्न सक्नु हामी
जव एकताको सगरमाथा नै भत्किदैछ

गएका वर्षरु हामीले
खेतवारीभरी अशान्ती रोप्यौं

ढुकुटी भरी शोक भित्रायौ
हाम्रो वगैचामा
केवल आसुका दानाहरु फले
फूलवारीमा पनि उसैगरि
आसुका थुंगाहरु फूले
हामीले हास्न खोजेको निरिह हासो
हास्नै नपाई हराएर गयो
शक्तिको इलाका वाजी मार्न
सक्नेहरुले साधु गाईहरुलाई घोडा वनाए
आफू जस्तै मान्छेको हत्या गरेर
आफूलाई विजयी ठहरयाए

केही अधर्मी हत्याराहरु
सज्जनताको छाला ओढेर
खुल्ला छातीमा अदालतको न्यायधिस बसेका छन्

उफ,
खसिको टाउको राखेर
कुकुरको मासु बेच्नेहरु
व्यापार दुर्गन्धीत वनिरहेछ
अगाडी निगुरमुन्टी झुकेर
पछाडी कोखमा छुरा रोप्नेहरु
मानवता दङदङ्ती गनाईरहेछ
वियरको चुस्की धोकेर
पानी पिएको रिपोट लेख्नेहरु
जताततै अनियमितता वगिरहेछ
खोला धमिल्याएर
माछा मार्न अवसर छोप्नेहरु
सडकमा राजनीति नाङगीरहेछ

भावीजीले लेखिदिएको
भाग्य सम्झेर हामी गधाहरु
पुस्तौ पुस्ता हिड्यौं
खाली खुट्टा यो वगर
रिणको भारी बोकेर हिड्यौ
पीरको भारी बोकेर हिड्यौं
दुख गरे सुख मिल्छ भनेर हिड्यौं
तर
निर्घात समयले कुल्चिएर
हिडिरह्यो हाम्रो सपना
पिडा ओढेर निदाएका हामीलाई
पिडा थपेर हिडिरह्यो समय
हुदा हुदा एक हरफ सास फेर्ने
अधिकारमा समेत
हामीलाई हस्तक्षेप गर्यो यो समय

समयको रङ फेर्न
के मात्र गरेनौ यो माटोमा ?
कहिले कालो कोठामा
हत्कडि संग संघर्ष गर्यौं
कहिले घरवार त्यागेर
निर्वासित जंगली भयौ
वलिदानीको के कुरा गर्नु ?
जीवन र्समर्पण गरेर शहिद भयौं
कहां गयो हाम्रो रगतको मूल्य ?
कहा हरायो हाम्रो पसिनाको मान्यता ?
के हिसाव किताप छ हाम्रो जीन्दगीको ?

यो माटोमा
यसरी भारी संगै जन्मेर भारी संगै मर्नु छ
हामी गधाहरु
सतिले श्राप गरेको यो देशमा
च्यातेर धुजा धुजा गलतर् इतिहासका पानाहरु
लेख्ने अठोट छ नयां इतिहास
हामी सदियौ देखिका गधाहरु
यतिवेला भारी संगै आन्दोलनमा छौ ।



जोतारे धाईबा
-
-
म...
तिमी,
यो बीचमा
पहाडी इलाकाको
लचिलो झोलुङ्गे पुलझैं
अथवा राजमार्गको भेलग्रस्त फेदीमा
एउटा तुइनसमान
अ ल्झिएको छ
र ।

र चाहिन्छ
मलाई
तिमीलाई,
नत्र हिँड्दाहिँड्दै
एउटा र अर्को फड्को बीच
हराउछ न्युटन चाल
भाग्छ सम्बन्धको प्वाँख
ज्यानमा जराहरू कुल्चिएर ।

समातिराख्नु है
बसालिराख्नु र लाई
कम्मरको आयतनमा
पहिरनको इज्जतजस्तै गरेर
कतै महाराजको भारी सालिक
उड्यो होला मिनेटमै,
भूतपूर्व नायकको प्रतिष्ठामा
हजार नागरिकको करेन्ट छुट्यो होला
र यसरी नै त भरिन्छ
समयको आँखामा टर्च
भरिँदै गइरहन्छ... ...।

म...
तिमी,
यो बीचमा अब
र राखेर पूर्ण लम्बाई भेटौँ
छुटफुट गोरेटोमा
र का रेखाहरू
बाँकी वाणचिन्हमा
जीवनको लहर खेलिरहन्छन् ।


----------
उदयपुर, सगरमाथा ।

म कसरी तिम्रा गीत गाउं ?


केदार श्रेष्ठ


जुन गीतले
न निमुखाका आंखालाई
सान्त्वना दिन्छ
न भोकसंग जुध्ने
पेटको पीडा बुझ्छ
जसका संगीतले
मानिसका अंग अंगमा
रक्तसञ्चार नै गर्दैन
जसका लय, स्वर
जनभाकासंग मेलै खादैन
जुन शब्दले
जीवन सिकाउंदै सिकाउदैन
जीवनदेखि टाढा खेदाउंछ
अनि निराशाका बीज र्छदछ
हो, जुन गीतले
जीवनमाथि हस्तक्षेप गर्छ
र नेल ठोक्दछ
स्वतन्त्रताको अपहरण गर्छ
र हत्कडी भिराउंछ
अनि मलाई,
यही गीत गा’भन्दैमा
म कसरी गाऊ ?
त्यही संगीतसंग मीत ला’भन्दैमा
म किन लाऊ ?
म त जीवनका
गीत गाउने मान्छे
मेची र महाकालीले
संगीत भर्ने मान्छे
पीडाका क्रन्दन र
आक्रोसका ज्वालाले
रियाज गर्ने मान्छे
म कसरी ति म्रा गीत गाउन सक्छ
अह म ती गीत गाउन सक्दिन
म त भोकाएकाहरुका
गीत गाउने मान्छे
आजादीको गीत गाउने मान्छे
विद्रोहको गीत गाउने मान्छे ।

-------
चैनपुर ७,धादिङ्ग

चित्रकार

सरोज धिताल


कोही भन्थे
ऊ चित्रकार हो
अरु भन्थे
बुद्धकै अवतार हो ।

उही दुई आँखा हो आँफुसँग त
तिनैलाई सके सम्म च्यात्दै,
घाँटी तन्काउँदै
हातमा भएको सानो ठुटो
सिसाकलम खेलाउँदै
हेरिरहें, पर्खिरहें
ऊ आउने बाटो नियाल्दै।

ऊ आयो,
साँच्चै आयो
विस्तारै विस्तारै
भुवा जस्तो हल्का पाइला चाल्दै
अर्ध मुस्कानको जादू
त्यो कोठा भरी फ्याल्दै

टक्क अडियो ऊ सेतो पाटी अघिल्तिर
र फनक्क फर्केर बनायो गोलाकार एउटा कालो धब्बा
त्यो निक्खर सेतोमा।

अनी
चेला हुन खोजेका हामीतिर फर्केर भन्यो
“देख्यौ कालो?
देखिन्छ यो सहजै सेतो पाटीमा”
एकछिन् अडिएर फेरी
पोतेर कालो सिंगो पाटीभरी
उसले भन्यो-
“तर हेर! देखिन्न कालो धब्बा
कालै पृष्ठभूमीमा”।

खास खुस गर्न थाले
एकाध चेलाहरू एकापसमा
टाउको हल्लाउँदै कोही
“हो त नी” भन्न थाले
घुर्न थाले अरू कोही
टेबुलमा मुण्टो जोतेर ।

कालाम्मे भएको त्यो पाटीमा
सेतो धब्बा बनायो अनि उसले
र चेला हुन खोजेका
सबैलाई बोलायो-
“देख्यौ हैन सेतो?
स्पष्ट देखिन्छ यो कालोमा”!

अनी उसै गरी
पोतेर सिंगो पाटिलाई फेरी सेतोले
उहि मधुर स्वरले भन्यो-
“हेर! देखिन्न सेतो सेतोमा”।

चुपचाप चुपचाप सुनेझैं गरिरहे सब
कोही बोलेन
कोही घुरेन।

निकै बेर पछी
बिस्तारै सुनियो उसकै आवाज-
“तिमी
सुन्दरता भएर पोखिन चाहन्छौ
ब्रह्माण्डको पाटीमा?
कि सुन्दर भएर देखिन चाहन्छौ
असुन्दर संसारमा?”

शिष्यहरु
एक एक गर्दै
चुपचाप चुपचाप
कोठाबाट बाहिरिए।

कोही भन्थे
ऊ चित्रकार हो
अरू भन्थे
बुद्धकै अवतार हो

एक्लै भयो ऊ
त्यो कोठा भित्र
अपलक उभिईरह्यो अर्धमुदित नेत्र लिएर
उदासी थियो कि थिएन
कुन्नी त्यो मुहारमा

मुस्कुराईरह्यो
आधा थियो उसको मुस्कान् तर
ऊ मुस्कुराईरह्यो ।


१० जुन ०७ सेण्ट क्याथरिन्स

Tuesday, July 17, 2007

हृदयको बालक


तुलसी दिवस


समयको गोरो अनुहारमा
रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरु सजिन्छन्
मेरा थाकेका इन्द्रियहरु
आफूलाई हराउँछन् -
हराएको तेज खोजेर;
तर मेरो हृदयमा सुँकसुँकाउँदै
निदाएको बालक बिम्झन्छ-
एक्लो एकलकाँटे सिरेटोले छोएर ।
बगरको ढुङ्गा झैँ
चिसो भुइँमा नाङ्गै
आफूलाई लडाएको पाएर एक्लै
उसको हात-खुट्टा अनुहार
अङ्ग-प्रत्यङ्ग बोल्छ-
म चिसो हिउँ भइसकेँ
म नीलो यूँ भइसकेँ
मलाई मुटुको मकलमा सेकाएको हातले
मायाको चिल्लो लाइदेऊ !
कलङ्कको कालो टीका मेट् न
टुकुचाको पुलमा अफालिएको बालकको झैँ
मेरो पनि नाभि काटिएको छैन,
कसैको पनि म हुन सक्छु
ए, स्वर्ग जानबाट बञ्चित अपुता हो !
म ति म्रै छोरा हु - बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङनामा बेरेर
मेरो निराशाको सर्दी हुर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ !
जानी-नजानी सकी-नसकी
अनायासै उसको आवाज फुट् छ - "मा !"
आँसु अनि अरस्तू भएर बोल्छ-
मानिस सामाजिक प्राणी हो
मलाई समाज चाहिन्छ ।
आत्मामा आकाश-वाणी हुन्छ -
हृदयको अँध्यारो मेट् न
हृदयकै उज्यालो चाहिन्छ ।

Monday, July 16, 2007

इतर समय


सरुभक्त


मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु

उन्मीलित ताराहरुको देश
च्याउ फुलेका ब्रहृमाण्ड वीथीभरि
किरणस्नान गर्दै

कुन जम्बालहरुमा चिप्लन्छन्
मेरा पयरका विश्वासहरु -
म अन्धकूप अन्तरिक्ष पोखरीमा
माछामार्न हिडेको छैन

आह ! गिद्धहरुको दाहसंस्कार
अन्तरिक्ष अकाल धर्तीभरि
म सप्रसङ्ग षड्ऋतुहरुमा
आयामहरुको टोष्ट खाँदैछु

विगब्याङ्ग
विगब्याङ्ग
सुपरनोमा विस्फोटनका हल्लाहरु
कन्ट्रोल- सिद्धान्तहरुको लाममा
म कतै तानिएको छु

ब्लेकहोल - कृष्ण विवराकृत मनहरु
आफ्नै गुरुत्वपीडित छन्
यर्सथ सापेक्षिततामा नरभक्षी बाघ आतङ्कहरु
आफ्नै आतङ्कले उत्सवित छन्

इतर समय
अन्तरिक्षमा मनहरु हराएका छन्
अझैपनि म प्रेमका कविता खोज्न अभिशप्त छु

हिमाल, पहाड र तराइ


चन्द्र गुरुंग


असंख्य तेन्जिङ्ग र हिलेरीहरुका आक्रमणले
घायल बनेका हिमालहरु
हर क्षण
झार्छन् हिउँको चिसो आँसु ।

कुनै आर्मी आफीसरको आदेश बमोजिम
सजिएर हरियो कम्बैट ड्रेसमा
र पर्खिदै अर्को आदेश
चुपचाप उभिन्छन् सिपाही पहाडहरु ।

बाढीको तेजधार ब्लेडले
सम्पूर्ण कपाल खौरिएको तराइ
बस्छ मौन मौन
जाडो याममा गरिबीको आगो ताप्दै ।

-------------
गोर्खा, हाल काठमाण्डौ

Sunday, July 15, 2007

शून्य अवतरण


राजन मुकारुङ


रात र दिन
या अँध्यारो र उज्यालो
जोसँग रुने र हाँस्ने हविगत सकिएको छ ।
ट्वाल्ट्वाल्ति पर-परसम्म
बजारमा
सुदूर भविष्यहरु पनि बेचिन्छन्
अस्वस्थ भाग्यका अगेनाहरु भुर्भुराउँछन्
जसमाथि-
म र तिमी हुनुको दूरी काटिन्छ ।
हजामघरमा हामी केशहरु उखेल्छौ
र मदमत्त या टिल्ल आँखाहरु बाल्छौं
क्षत-विक्षत !
अगेनाकै डीलबाट जुलुसको शुरुवात हुन्छ
जसको आकारलाई-
हामी फाल्नेहरुले नै छाप्न सक्तैनौ ।
कुनैपनि बेला आस्थाका पर्खालहरु भत्कन सक्छन्
र कमजोर काँचमा कठोर चट्टान हानिएर
हाम्रा विश्वासहरु फुट् न सक्छन्
हामी राग,द्वेष र क्लान्तताले चूर चूर हुन्छौ
जसको अस्तित्वमाथि-
न प्रेमको अर्थ हुन्छ
न त मयाँकै मन हुन्छ ।
आखिर के गुमाएनौ हामीले -
सबका सब-
जिन्दगी बाँचेका जसहरु गुमायौं
फगत अब-
तीतो भोग्नु छ हामी

लोरिमालाई चिठ्ठी


सबिना सिन्धु


प्रेमी शहरको न्यानो आलिङ्गनमा
नि थ्रुक्क भिजाएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।

मेरी लोरिमा !
आगो बाँचेर पानी निल्ने
समयका निर्लिप्त ओठहरुसँगै
छातीमा क्षितिज अटाएर
अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।
महल ठड्याएर बेचिरहेकी छ्यौ
मध्यदिनका सपनाहरुलाई

टेबुलभरी पसारिएका अनियन्त्रित
आँखाहरु बीच
सागर छिचोलेर परेलाहरुबाट
बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।
हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा
नबुझिने इतिहास कोरिरहेकी छ्यौ
अँध्येरी रातमा ।

सपनाहरु कमजोर हुन्छन् लोरिमा !
भावनाका फूलहरु, फूल होइनन्
सपनाका बघैंचाहरु , महल होइनन् ।
स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।
उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।

असरल्ल फिँजाएर तन्नेरी छालहरु
केबल गुन्गुनाइरहेकी छ्यौ
प्रेमका सुमधुर गीत

कतै नबज्रियोस् पहाड तिमी माथि
नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी
नभत्कियोस् तिम्रो सपनाको ताजमहल
र चोट नलागोस्,
लम्कन चाहाने गोडाहरुमा ।

Saturday, July 14, 2007

मेरो परिधीमा तिमी


जंगब चौहान

घाम लाग्दा
तिमीलाई नै सम्झिरहेँ
बादल लाग्दा
तिमीलाई नै सम्झिरहेँ
उजेली र अँधेरी रातहरुमा
सन्नाटा ओढेरै भएपनि
केवल तिमीलाई नै सम्झिरहेँ

सपना मीठो हुन्छ
तिमी त्यो भन्दा मीठो लाग्यौ
बाँसुरी सुरिलो हुन्छ
तिमी त्यो भन्दा सुरिलो बन्यौ
मेरो हृदय माझमा
मेरो मन मस्तिष्कमा
तिमी सधैँ फुलिरहृयौ
लेकाली गुराँस भएर
बसाइ रहृयौ मेरो परिधिमा तिमी
बेली-चमेली बनेर

जुलुस सडक भएर हिँड्दा
त्यहाँ तिमी नै देखिन्थ्यौ
नेताको भाषण, कविको कविता
गायकको स्वरलहरी
संङ्गीतकारको औँला
जताततै
तिमी नै प्रतिबिम्बित भइरहृयौ
तिम्रै सम्झनामा डुबेर
म निरन्तर बजिरहेँ
निरन्तर ठोक्किरहेँ
निरन्तर जुधिरहेँ

यातनाको पोखरीभित्र
डुबेरै भएपनि
जीवन-दीयोको सलेदो
सल्किदै गए पनि
मलाई मेरै धर्तीको माया लाग्यो
मलाई मेरै संसार र्स्वर्ग लाग्यो
मलाई तिम्रै आगमनको प्रतिक्षा
प्रिय लाग्यो

मेरो हृदय माझमा
मेरो मन मस्तिष्कमा
तिमी सधैँ फुलिरहृयौ
लेकाली गुराँस भएर
बसाइरहृयौ मेरो परिधिमा तिमी
बेली चमेली बने

म अम्बर हुं


अम्बर गुरुङ

म अम्बर हुं तिमी धरती,
लाख चाहे पनि हाम्रो,
मिलन कहिले नहोला ।

देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम,
आवेगले म झुक्दा तिमी उठेकी एकदम,
तर न त छ त्यो क्षितिज
न त त्यो मधुमय सङ्गम ।

युगयुगको तृष्णा हाम्रो कहिले न तृप्त होला,
युगयुगकै व्यथा हाम्रो धड्कन चिरिरहला,
खाक पारेर पनि ज्वाला जलिरहला ।

Thursday, July 12, 2007

हिंसाको बुद्ध


हाङयुग अज्ञात


बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक
कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रियता
दिज्यू !
पहेँलो जमराले किन मेरो मन तानिरहेको ?

घुस्न किन नसकेको म ?
तिनीहरूको मानसपटलमा
भीड छिचोलेर मञ्चसम्म
निशुल्क सडक नाटकमा,
दिज्यू !
बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक ।

यो छातीले पहाडको सिरानी लगाएर
हेरिरहेछु समुद्रको पन्ना
बाँधिएको मनमा
बन्चरोले ठूगूँ लागिरहेछ घुच्चुक ।

ममाथि शासन गर्ने को श ?
त्यो,
त्यो जसको बुद्धि बाहिर डुल्न गएको छ ?
याँ-म
रगतले बगूँ लागिरहेको देश ।
दिज्यू !
बिम्बित अक्षर यस्तो धङधङ्गी ता
मेरो पागलपन पनि
बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक ।

जुनी काट्नु - एउटा बाजी


पारिजात


धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।

कालो वादल छायो


ध्रुव थापा


हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,

साथी संगी इष्ट मित्र सवै टाडा भए
आफैले लाएको घाउ झनै गाडा भए,
जाति धर्म वर्णभेदले सबै टाडा भए ।
आफनै देशमा विश्वासको
कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।

हाट वजार मेलापात माया साटन छाडे
जात जातको खुरापातमा ज्यानै काटन थाले ।
खै कस्तो दिन दशा यो देशमा आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,

हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।

----
क्यालिफोर्निया अमेरिका

Wednesday, July 11, 2007

माटाको माया

बाल चन्द्र पोख्रेल


सेवा गरौं आत्मैदेखि सम्म गम्म बसौं
हृदयको तुंवालोलाई भित्रैबाट फालौं ।

स्वच्छ रहे दिल हाम्रो राष्ट्र पनि जाग्छ
भावनालाई कुण्ठित पारे कस्को के लाग्छ ।

मुखले मात्र बोल्ने बानी सर्त्कर्ममा छैन्
आत्मै देखि नलागेमा बिकास हुने हैन ।

धन सम्पति आर्जन गर्न परिश्रम गरौं
समयको केहि अंश समाजलाई धरौं ।

चोरी ठगी भावनाले केही क्षण बन्छ
यै रितले चल्दै गए राष्ट्र कहिले उठछ ।

मिठो बोल्ने चिल्लो घस्ने यै बानीले गर्दा
नबुझेर जनताले अलमलमा पर्दा ।

कर्मयोगी किसानलाई छैन सुख चैन
टाठा बाठा चतुरेले स्वाहा पारे धन ।

बाटा घाटा पाटी पौवा जिर्ण हुदै गए
सुकिला र चस्मा लाउने लखपति भए ।

हरियाली पर्वतले भरिएको देश
बिलिन भयो जताततै हाम्रो भाषा भेष ।

वीरता र स्वतन्त्रताको हाम्रो इतिहास
कालो धन्दा तस्करीले देशै खनिराछ ।

शहर बजार ढाकिसक्यो मुग्लान सँस्कृतिले
दुःख मान्दै रोएकी छन् हाम्री प्रकृतिले ।

यै रितले चल्दै गए भोलि कस्तो बन्ला
राष्ट्र प्रति माया गर्ने आत्मा कसो भन्ला ।

गाउँ घरका गोरेटोले सराप गर्दै गा' छ
विकास र निर्माणका काम ठप्प भा' छ ।

वीर पुर्खाका गाथा हाम्रा विलिन हुदै गए
कुचक्रका जालमाथि जनता फस्ने भए ।

सुधार र निर्माणका काम गर्नु पर्ने
आत्मैदेखि यो माटोको माया गर्नु पर्ने ।

एकैछिन मौका पाउँदा सारा राष्ट्र हाँक्ने
तलमाथि हिड्नु पर्दा ओडार गुफा पस्ने ।

काम गर्नु कता कता गफै मिठो गर्ने
आँफु तल खसे पनि खुट्टो माथि पार्ने ।

समयले सबैलाई घच्घच्याउदै रा' छ
परिर्वतनको सागरले प्रीति लाउँदै गा' छ ।

हुन्न के रे यो राष्ट्रको उँभो गति-मति
संघारको अवस्थामा डुब्छन् कति-कति ।

जीवनमा खेल्नु पर्ने खेल बिसे र्पछि
अन्धकारको भुमरीमा फस्छौं हामी कति ।

तिरस्कार र भोक तिर्खा बढ्दै गए पछि
नासिने छ भासिने छ मानवको मति ।

----
ब्या.न.पा. २ तनहूँ
---
यू. ए. ई.
दुवई
bcpokhrel@yahoo.com

मेरो देश


दामोदर नेपाल


बुद्धको उदगमस्थल
शिवजीको क्रिडास्थल
महषिर्हरुका तपोभूमि
देवकोटाको सुन्दर, शान्त, विशाल
व्यक्ति व्यक्तिका अलग अलग विश्लेषण
कथनमा एकरुपता, व्यवहारमा भिन्नता
यही हो अहिलेको मेरो देश नेपाल।


रथको पहिचान सारथीमा
देशको पहिचान देश चलाउने नागरिकमा
यहां त सबैको आंखामा छारो हालिएको छ,
राष्ट्र्रुपी शरीरका मक्काएका अंगहरु
टाइं फाइं गर्छन् आफ्नै स्वार्थका लागि
तिनै मक्काएका अनगिन्ती अंगहरुका भारी बोकी
गन्तव्यमा पुग्ने धुनमा दौडिरहेको,


स्वार्थ प्रेरित अवयवहरुका
निकृष्ट कार्य व्यहोर्न बाध्य
पुराना आंगिक सारथीद्वारा गर्तमा धकेलिएकोर्
गर्तबाट छुटकारा पाउने आशामा चियाईरहे जस्तो
जीवनको अन्तिम घडीमा
अक्सिजन खोजिरहे जस्तो
आफ्नै आमाको पिटाइले रुंदा रुंदै थाकेको
बालकले उनकै दूध खोजे जस्तो
रोगी अंगहरुलाई हटाउन नसकेर
पच्चिस सय वर्षअघिको
शान्तिको सपनाबाट व्युंझन नसकी
आफ्नै आंगिक अन्तर्द्वन्दबाट
मुक्ति पाउन असमर्थ भई
रोइरहेको


सायद आफ्नै शरीरको अकर्मन्यता
बुझेर तड्पिरहेको
अनि, तिनै अकर्मन्य भागहरुमा प्रवाहित
दुषित रगतलाई हटाएर
स्वच्छ रगत फेर्ने चाहनामा
आफ्नै स्वस्थ रक्त समूहको
खोजिमा दृष्टि दौडाइरहेको,
दुर्बल र प्रयोगहीन अंगहरुलाई हर्टाई
गन्तव्यमा पुर्याउन सक्ने
सबल र सक्षम अंगहरुको
प्रत्यारोपण गर्न सक्षम
चिकित्सकलाई पर्खिरहेको देश
मेरो देश ।

-----
यू.ए.इ

चन्द्रकला


जैकी मोजाहु


मनै त हो
ट्रक रोक्कियो,
देब्रे छेउ त्रिशुली
पहाड कोत्रेर
बनाइएका २-३ संख्याका
झोपरपट्ट
खीर पस्कँदै....
अहा क्या मीठो ....
मैले खीरलाई भन्या हैन
पुक्क गुलाबी गाला
रसिलो/हँसिलो/निर्दोष/खाइलाग्दो
अदभूत मुस्कान
एक प्लेट ?........
थाहा छैन/कसरी जुधे नयनहरू
भो.....,
थप्ने कि....?
भो पर्दैन- ..... बरु कति नि-
१० रूपैयाँ ।
तिम्रो नाम....?
भन्नु पर्या छैन ।
भन्दा खेरि...?
भन्नु पर्या छैन ।
मतलब ?
भनें त -भन्नु पर्या छैन
किन नि ?
तिम्ट्रक डाइबरहरूको के भरोसा
झूठा/निष्ठुरी/फटाहा/धोकेबाज
त्यसो नभन ।
माया लाउँछौ ?
.... अझै थप्ने कि ?
माया लाउँछौ भने ।
फेरि जुध्छन् आँखाहरू
...भो भो यस्तै ठीक्क छ ।
नैपथ्यबाट आवाज....चन्द्रकला !!!
जान्छे ।
बाई ! म फेरि आउँछु ।
ट्रक गुड्छ ......

-------------
-
-----------------
रा
-
----------------------
लो
-
----------------------------तिर

....चन्द्रकला !!!
....चन्द्रकला !!!
....चन्द्रकला !!!
....चन्द्रकला !!!
ट्रकले भित्ता ठोक्छ ।

------
-
----------ल्
-
--------------र्या
-
------------------
-
---------------------गुर्
-
--------------------------लु
-
-------------------------------
------------------------------------....
-
त्रिशुलीको बगरमा घाइते ट्रक डाइबर....
क्रन्दन/छटपटाइ/उकुसमुकुस/उत्तेजना
........चन्द्रकला !!!
........चन्द्रकला !!!
........चन्द्रकला !!!
मलमपट्टी गर्दैछिन् चन्द्रकला ।

-------------
३० नबम्भर, २००५
शारजाह, युएइ

एउटा योद्धाको खोजी !


शिव प्रकाश

म एउटा प्रतिद्वन्दी योद्धाको खोजीमा छु
मेरो खोजीको त्यो योद्धा
म भन्दा ठूलो होस्
बलियो होस्
बहादुर होस्
शक्तिशाली होस्
सहासिलो होस् ।
--
बुद्धिमा होस्
विवेकमा होस्
विद्वत्तामा होस्
आस्थामा होस्
आचारमा होस्
विचारमा होस्
सत्यमा होस्
निष्ठामा होस्
धर्ममा होस्
कर्तव्यमा होस्
गराइमा होस्
बोलाइमा होस्
प्रेममा होस्
भावनामा होस्
अनि विश्वासमा होस् ।
--
युद्धको नियम अनुसार युद्ध लडोस्
युद्ध प्रतिशोधका लागि नगरेर
परिवर्तनका लागि गरोस्
हार्नु र जित्नु त छदैं छ युद्धमा
हार्नुलाई हिनता नमानोस् जित्नुलाई
जगजगी नठानोस्
म यस्तै विवेकवीर सत्यसाहसी
विद्वत्त बलियो प्रतिद्वन्दी योद्धाको खोजीमा छु,
म एउटा निशस्त्र युद्धको स्वागतमा छु ।
--
युद्ध लड्नु नै छ भने निर्धासँग के लड्नु
त्यो त्यसै कमजोर छ,
सिंहका सामू स्याल जस्तो !
युद्ध लड्नु नै छ भने सानासँग के लड्नु
त्यो त्यसै सेपिएको छ,
बटबृक्षको ओसमा परेको विरुवा जस्तो !
जित्नु नै छ भने ठूलैलाई जितौं
जित्दा जीतको मजा होस्
जित्नु नै छ भने बलियैलाई जितौं
हार्दा पनि हारको लज्जा नहोस्
जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं
जुन योद्धासँग हारे पनि केही जितियोस्
अनि त्यो योद्धासँग हारे पनि केही सिकियोस् ।
----------------
हाल: बोष्टन/अमेरिका ।(हरैंचा/मोरङ)

Tuesday, July 10, 2007

हातहरु


टंक सम्वाहाम्फे


हातहरु
हामी उर्ठाईरहेकाछौ धेरै पहिले देखि
किनभने हामीलाई
हाम्रो हात चाहिएको छ
हाम्रो आवाज चाहिएको छ
हाम्रो स्वतन्त्रता चाहिएको छ
जो हिजो सम्म वन्दि थिए ती हातहरु
आज हामी उचाली रहेछौ तिनै हातहरु माथि धेरै माथि
अव फस्दैनन् हातहरु कसैको जालमा
अव ढल्दैनन् हातहरु कसैको हतियारले
अव झुक्दैनन् हातहरु कसैको दवावले
अव फुट्दैनन् हातहरु कसैको लोभ र लालचले
अव लुक्दैनन् हातहरु कसैको डर र धम्किले
किनभने हातमा हात वाधिएर अजेय शक्ति वनेकाछन् हातहरु
हातमा हात थपिएर एउटै सागर वनेकाछन् हातहरु
हातमा हात जोडिएर एउटै साथ वनेकाछन् हातहरु

हातहरु
गाउ वस्ति शहरवाट उठेकाछन्
हरेक तह ताप्कावाट जुटेकाछन्
देशको अङ्ग अङ्गवाट ब्युझेकाछन्
हिमाल पहाड तर्राईवाट जागेकाछन्
यिनै हातहरु जुनवेला हातहरु कै दवावमा
सुतेका थिए उठ्नुवाट
फुटेका थिए जुट्नुवाट
झुकेका थिए उभ्नुवाट
लुकेका थिए देखिनुवाट
अव यी हातहरु कहिल्यै त्यसरी
सुत्नु हुदैन / फुट्नु हुदैन
लुक्नु हुदैन / झुक्नु हुदैन
वरु सधै सधैका लागि हातहरु
उठ्नु पर्छ / जुट्नु पर्छ
गाउ वस्ति शहरवाट
हरेक तह र ताप्कावाट
देशको हरेक अङ्ग अङ्गवाट
वहुल विचार उठ्नु पर्छ
वहुल जाति धर्म संस्कृति र भाषा उठ्नु पर्छ
समावेशी र संघियताको पक्षमा जुट्नु पर्छ
किनकी तिनै वहुल हातहरुको संरचनाले वनेको छ यो देश

हातहरु
आज अस्तित्वको युद्ध मोर्चामा छन्
आफ्नो नश्लको अभियानमा छन्
जहा वर्षौ देखि नदेखिएका हातहरु देखिने क्रममा छन्
नसुनिएका आवाजहरु नेपथ्यवाट सडकमा उत्रेका छन्
सायद विर्से होलान हिजोका ती दमनकारी हातहरुले
कि समयचक्र घुम्छ भनेर
र सोचेका थिए होलान्
घडीको काटा रोके पछि समय रोकिन्छ भनेर
तर समयले हातहरुका विरुद्ध हातहरु उर्ठाई दिए पछि
ढलेकाछन् आफैलाई देव सम्झनेहरु
गलेकाछन् क्रुर आदेश दिने मस्तिष्कहरु
डढेकाछन् दमन गर्ने विचारहरु
हारेकाछन् वन्दुक पक्रने खुनी हातहरु
किनभने हातहरुले स्वतन्त्रता र स्वधिनताको लर्डाईमा
बडारी दिएकाछन् ती हातहरुलाई
आफ्नो र्सवभौमको लागि
यसरी जुटेर उठेकाछन् हातहरु

हातहरु
हतियार हुन् अत्याधुनिक हतियारलाई कुल्चि दिने
इतिहास हुन देशलाई देश वनाई दिने
हरेक देशमा हातहरु उठेकाछन् यसरी नै परिवर्तनको लागि
त्यसैले यो देशमा पनि हातहरु
एकाएक जुटेकाछन् फुटेकाहरु
एकाएक उठेकाछन् सुतेकाहरु
किनभने सवैलाई विश्वास छ
हातहरुले देशको मुहार फेर्छ भनेर
हातहरुले देशको पुन निर्माण गर्छ भनेर
तर्सथ हाम्रा हातहरु हाम्रा लागि
लक्ष्य हुन् / आस्था हुन्
प्राप्ति हुन् / गन्तव्य हुन्
यथार्थमा र्सवस्व हुन् हातहरु
हातहरु संग सदैव साथ हुन्छ
साथहरु संग सदैव हात हुन्छ
अव कसैले जोरी नखोजे हुन्छ हातहरु संग
किनभने उठिसकेकाछन् हातहरु तिनीहरुलाई परास्त गर्न
गाउ वस्ति शहर वाट
हरेक तह र ताप्कावाट
देशको हरेक अङ्ग अङ्गवाट
अव छेक्न नखोजे हुन्छ कसैले
स्वतन्त्रता चाहान्छन् हातहरु

आमाको सपना

गोपाल प्रसाद रिमाल


आमा, त्यो आउँछ र
"हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो र्छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।"
हो र आमा -
"हो, तिमी जन्मँदा ति म्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
ति म्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
ति म्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ ति म्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ !"
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
"हो, त्यो आउँछ,
त्यो बिहानको सूर्य झैँ उज्यालो र्छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।"
"तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !

पाठक प्रतिक्रिया

नेपाली साहित्यको विकासमा पाइला बढाएकोमा बधाई कविता कुसुम । सफलताको शुभाकामना छ । मलाई यसको अस्तित्व भएको थाहा थिएन । तर कतैबाट निम्तो पाएँ । यसलाई स्वीकार गरेर कविता कुसुमको निम्तो स्वीकार गरी मैले पनि कविता पठाएको थिए । प्रकाशित भएछ । कविता कुसुमको प्रस्तुति प्रभावकारी छ, पेजको लेआउट पनि राम्रो देखिन्छ । पक्कै पनि यसले साहित्यको सेवामा प्रभावकारी कदम बढाइरहने छ । म पनि लगातार यसलाई रचना पठाइरहने प्रण गर्दछ । तपाईहरुको प्रयासलाई साधुवाद ।मेरो सल्लाह के छ भने यसमा प्रकाशित रचनाहरु करिब त्रैमासिक रुपमा संकलन गरेर किताबको रुपमा प्रकाशित होवोस् । यसले अझ साहित्यको सबृद्धिका बाटो बनाउने छ । किनकि धेरै सानो संख्यामा मात्र मानिसको पहुच इण्टरनेटमा छ हालसम्म नेपालमा । धन्यवाद ।

शुभेच्छुक
रोशन सुवेदी
कोटेश्वर, काठमाण्डौं
मोबाइलः९८४१२९१७७४
------------------------------------------------------------------------------
Thank you for your information. I got it.
kishor pahadi
------------------------------------------------------------------------------
Dear all with Kavitakusum,
Keep it up..thanks
Raju Tuladhar
------------------------------------------------------------------------------
Thanks for the link to a new blog full of beautiful peoms.I must declare-A great work! At this point of time, when the poems are written a lot and by a lot, but read the least- the need of a blog likeyours with a variety of beautiful poems was must.You people in HK, being away from homeland-doing this job is really great.I also hope to send my poems gradually in the days to come.I wish all the best.
Regards,
Chandra Gurung from Ktm Nepal
------------------------------------------------------------------------------
Dear,
Good news ! keep it continue.
Krishna Bajgai
Brussels, Belgium
-------------------------------------------------------------------------------
प्रिय मित्रहरु,
कविता कुसुम देख्ने बित्तिकै हौसिएर बाटोमा लेखेको एउटा टुक्रा पठाउँदैछु।
सरोज धिताल

शहर, पर्वत र मेरो छिमेकी

सरोज धिताल


ऊ जब गाउँबाट आउँछ
अलिकती पसिनाको गन्ध बोकेर आउँछ
जिउमा अलिकति रातो माटो पोतेर आउँछ
अनी जब मेरो धारामा
आफ्ना हातखुट्टा पखाल्छ
उसले बोकेर ल्याएको
गाउँको रातो माटो
शहरको माटोमा मिस्सिन्छ
र तिर्खाएको भुईं
उसको पसिनामा चिस्सिन्छ ।

पसिना मात्रै ल्याउँदैन ऊ
रातो माटो मात्रै ल्याउँदैन ऊ
फलेदोको ठूटो कहिले ल्याउँछ र भन्छ-
“यो रोप्नु पर्छ यहाँ
हुर्कियो भने राताम्मे हुन्छन् फूलहरू
यो ठाउँमा कस्तो सुहाउँछ!”
कहिले ल्याउँछ पाखनबेतको ठुटो र भन्छ
“रोप्नुस् न यो,
ठुलो ओखती हो हाम्रो
कस्तो कस्तो काम आउँछ”

म रोप्छु
मरुभूमी हुँदै गएको
शहरको थोरै माटोमा पहाडी बिरुवाहरू
के थाह?
ती संगै पलाउँछन् कि कतै
आशाका स-साना टुसाहरू!

तर
ती सब् टुसाउनु अघि नै
मेरो छिमेकी
झ्याल खोलेर हाम् फालुँला झैं कराउँछ
औंला ठड्याउँछ
र मलाई थर्काउँछ-

“पहाड पर्वतका बिरुवा हुन् यी सब
बुझ्नुभो ? यिन्लाई त्यहीं हुन दिनु पर्छ!
ल्याउनु हुन्न शहरमा
उतै फर्काउनु पर्छ!
यो नैसर्गिक अधिकार हो पर्वतको
पहाडका बोट बिरुवाको!!
शहरमा भित्र्याउनु अपराध हो
पापै हो यो!
खबरदार!
रोप्नुभो भने राम्रो हुने छैन
झट्ट उखेलिहाल्नुस् यी सबलाई जो रोपिईसक्यो
नत्र म सहने छैन!”

‘आदर्शवाद’ हो कि केजातिको को खोल
ऊ अलिकती ओढ्छ
म अलिकती ओढ्छु
मलाई पापी भन्छ ऊ
उस्लाई म पाखण्डी भन्छु

म भित्र पाखण्डी थियो कि पापी कुन्नी,
भयभित भएर उसको गर्जन् देखी
हुर्किन खोजेको त्यो फलेदो उखेल्छ
पाखन्बेत उखेल्छ,
लालुपाते र लाली गुँरासको बोट उखेल्छ
उखेल्दा उखेल्दै बिचरा सयपत्री समेत उखेल्छ ।

बारीबाट उखेलिएका
यी बोटहरू
शहरबाट फर्किन्छन् कि फर्किन्नन्
पहाडमा कुन्नी!
तर
उजाड उजाड हुन्छ
हरियो हुन हुन खोजेको
शहरको सानो टुक्रा जमिन् पनी
निरस निरस हुन्छ
पहाडको पसिनाले भिजेको
त्यो सानो बारी पनी ।

मेरो छिमेकी
न खुशी देखिन्छ, न बेखुशी
कहिले चम्किचम्की हात हल्लाउँदै
अचम्मका विदेशीसँग हिंडेको देख्छु
कहिले बडेमान्को टल्किने गाड़ीमा
ढल्केको देख्छु
उसैलाई फेरी
जुलुसको अघी अघी
नारा लगाउँदै भिडेको देख्छु ।

म भने
त्यो निरस भएको
सानो टुक्रा जमिन हेर्दै
छाम्छु आँफैलाई
मुटुको धड़कन् गन्दै
मान्छे हुनुको तातो
कती बाँकी छ भन्दै ।


(फ्र्यान्क्फर्ट विमानस्थल, २५ जुन, ०७)

तिम्रो यादमा


धुव थापा


क्यालिफोर्निया
हरपल हरक्षण तिम्रै यादमा
म बाच्ने कोशिस गरिरहेछु
न चाहदा नचाहादै पनि
तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु
कस्लाई पोखाउ यो मनको बह
सिमसार झै भएको छ गह ।
तिमी देखि टाडा रहेर
हास्न त्यसै कहा सकिदो रहेछ र ।
यो स्वार्थी संसारको कोलाहलमा
एक्लै बाच्न कहा सकिदो रहेछर
तिम्रो मायालु स्पर्सको खोजीमा
म त पागल सरह भएको छु
किन होला- अचेल म त
पानी बिनाको माछा भएकोछु
चेसको गोटी जस्तै कति नचाउ यो मनलाई
बलिको बोका जस्तै कति चढाउ यो मनलाई
कति गरौ सम्झौता आफनै भाग्यसित
कति गरौ आशा यो स्वार्थी संसारसित
अव त बिस्वास उठिसक्यो
कस्लाई विस्वास गरौ ?

अतीत र वर्तमान

नीरा शर्मा


म सानो छँदा
चुल्हाहरूमा आगो बलेर
कसौँडीहरूमा भात पाक्दथ्यो
ममतामयी आमाको काखमा
नि द्राले स्वप्निल रात माग्थ्यो,
कुलोहरूमा पानी बग्दा
खेतहरूमा धान झुल्थे
धानसँगै मन झुल्दा
गुराँससँग म फुल्थे
म सानो छँदा
चुल्हाहरूमा आगो बलेर
कसौँडीहरूमा भात पाक्दथ्यो ।
तर आज
ठूलो भइसकेछु म
अतीत भएछ मेरो बालापन
आज भोलि त
आगो नबलेका चुल्हाहरूमा
बम र बारुद पुत्पुताउँछन्
भात पाकेका कसौडीहरू हैन
प्रेसर कुकरमा बम पाक्छन्
अपनत्वमा खडेरी पर्दा
मनभरि धाँजा फाट्छन्
कहाँ फुल्नु मन
कसरी झुल्नु धान
के देख्नु खै सपना पनि
यहाँ त आजभोलि
सपना झुल्दैनन् आखाहरूमा
गुराँस फुल्दैनन् पाखाहरूमा
कुण्ठित छन् स्वतन्त्रताका भाकाहरू
रित्ता छन् ममताका काखहरू
म सानो छँदा
चुल्हाहरूमा आगो बलेर
कसौँडीहरूमा भात पाक्दथ्यो ।
त्यसैले त,
पाइलाभरि बिझाउने काडा अनि
आखामा घृणाको जालो भरिँदा
दाज्यू भाइको मारकाटपछि
बिस्कुन जस्तै लास छरिँदा
मनहरू मुग्लान पसेका छन्
सुनौलो अतीत ओझेल परेको छ
ओसिला मनहरूमा लेउ लागेको छ ।
म सानो छँदा
चुल्हाहरूमा आगो बलेर
कसौँडीहरूमा भात पाक्दथ्यो ।

Monday, July 9, 2007

प्यारो प्यारो मेरो लोभ


मोहन कोइराला


छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो-
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु,
प्यार गर्द छु,
सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ
म कति रिसाएको छु ।
जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरु गरेथ्यो
तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको
ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार
आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहान्छु,
मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेको ।

Sunday, July 8, 2007

आजको कविता


रोशन सुवेदी

जङ्गबहादुर र समय-२

एउटा जङ्गबहादुरको मुत्यु हुन नपाई
अर्को जङ्ग बहादुरको जन्मन्छन्
थाहा छैन् जङ्गबहादुरहरूको आगमन
कहिलेसम्म भईरहन्छ -

इतिहासका कोर्राहरूको डाम
अझै छातीमा मेटिएका छैनन्
जीवनमा लागेका चोटहरू
अझै आलोनै छन्-
आँशु र रगतले लतपत्

जङ्गबहादुरका आकृतिहरू
भुत बनेर
फैलिहरेछन्-तर्साइरहेछन्
समयका ढाडमा
कति जङ्गबहादुरहरू
अवतरण भइरहेछन्
आफूलाई राजा घोषणा गरिरहेछन्
समयका घोडा चढेर

समयका
सुकिला ढाडहरूले
कति कोर्रा खानुपर्ने हो
कति नील-डाम सहनुपर्ने हो
थाहा छैन बर्तमानको क्यालेण्डर
रगतले लतपतिएको छ
अविश्वास र षडयन्त्रले किचिएको छ
मेटिएका छन् -समयका घडीपलाहरू ।
-
रचना - २०५८ साल
साब्ला, तेह्रथुम, हालः कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४४६०१९४३ बास, ४४७०९३३ कार्यालय

जब घर फर्किएँ


विवश वस्ती


जब घर फर्किएँ
उज्यालियो सेता र सपाट आँगन
छेउमै फुलिरहेको एकदशक पुरानो अज्ञात फूलले
गर्‍यो हार्दिक स्वागत
चम्किन नसकेका घरका नाङ्गो भित्ताहरूलेर्
गर्न थाले अङ्कमाल
अभिवादन गर्न उभियो
मेरो सामुन्ने
एउटा सुव्यवस्थित ढोका
जब घर फर्किएँ
एक शब्द बाँकी नराखी
सुनाउन थाल्यो जीर्ण छानाले
आफ्नो पीडा
हरेक वर्षजाडोका क्रूर स्पर्शले कक्रिएको जस्केलो
सम्वेदनाहीन देखियो
र, निदाउन थाले चुपचाप
अलिकति विपद्य्रामा उभियो नजिकैको पर्खाल
जहाँ बसेर
वसन्तभरि चराहरू गाएँथे
आफ्नै वेदना/आफ्नै गीत
जब घर फर्किएँ
आँखाहरूमा
उभियो एउटा तस्वीर
जो भित्ताका माउसुलीझैं टोलाइरहेको थियो
अवाक
जसलाई हेरेर
धेरै वर्षपहिले
एउटा चम्किलो बाटो कोरेका थिए आफन्तहरूले
जहाँबाट
सहजै पुग्न सकिन्थ्यो
हाम्रो आँसु निख्रिने ठाएँ
जब घर फर्किएँ
हाँसिरहेका थिए मन्दमुस्कानमा
खेतहरू
आँगनहरू
जो चढिसकेका छन् तमसुकका पानाहरूमा
निश्चित भाखा बोकेर
जब घर फर्किएँ
धेरै वर्षपहिलेको दृश्य उभियो मेरो सामुन्ने
मानिसहरू
बिर्सेर आफ्ना मनमुटाव
सँगै मिलेर बस्थे जङ्गलमा
ओडारहरूमा
घर
के हो घर भनेको -
बन्छ यो कसरी -
थिएन उनीहरूको स्मरणमा
जब घर फर्किएँ
एकपटक आफैलाई सोधें गहिरिएर
ओडार छाडेर मान्छे
घरसम्म आए
घर छाडेर मान्छे
अन्त कतै जान सकेको छैन आजसम्म
जबदेखि बन्न थाले घर'
लडिरहेछन्
त्यही समयदेखि घर नहुनेहरू
घरको निम्ति
घर हुनेहरू पनि लडिरहेछन्
घरको सुरक्षाका निम्ति

सालिक


नकुल सिलवाल


गरौं त गरौं
आत्महत्या नै गरौं -
आनन्द हुन्छ तिमीलाई भने
किन बाँचिरहौं त र्व्यर्थ !
झट्ट समाचार सुन्दा
आर्श्चर्य लाग्ला !
त्यसपछि बिस्तारै ' -
जसरी नयाँ कुलोमा
पानी प्रवाहित हुन्छ- प्रथमपटक ।
आफूलाई समाप्त गरेपछि मैले
तिमीसँग कति दौंतरीहरू
भोजमा सामेल हुनेछन् -
मलाई राम्ररी चिन्ने र जान्नेहरू
अरू कति हषिर्त हुनेछन् -
होइन भने, चिउँडोसम्म
संघर्ष र दुःखको दलदलमा
भास्सिएको छु
र छ छट्पटी,
कुनै न्याउली चरीले नगाएको पीडा
पत्र पत्र सुरक्षित छ ।
यति हुँदाहुँदै पनि
म बाँचिरहेछु
गाँसमा, नि द्रामा, सपनामा
वा आत्मीय वार्तालापमा
जहाँकहीं म
रेट्टीएर, चेप्टिएर पनि
हाँसिरहेछु दिल खुलाएर
र यो तिमीलाई खपिनसक्नु हुन्छ
डाह, इर्ष्या फैलिन्छ विषझैं भने
ल भैगो मरिनै दिउँला म,
आखिर मर्नु जति गाह्रो छ
त्यत्तिकै सजिलो पनि त छ ।
म मरेर पनि
पीडा र अशान्ति पचाएर
हाँसिनै रहें एकटंकार
र तिमीलाई त्यतिखेर पनि
सन्देह लाग्यो
मेरो मृत्यु भएकै छैन जस्तो लाग्यो
र मेरो इमानमा अनन्त अनुत्तरित प्रश्न
उठाइरह्यौ भने'
त्यो भन्दा ठूलो अपराध
अरू हुने छैन- ति म्रो,
र म तिमीलाई क्षमा दिने छैन
तिमीलाई लगातार सजायँ दिइरहन
म आत्महत्या गर्ने छैन
म मर्ने छैन
तर तिमीले भने आत्महत्या नै गरेर
मरेको हुनेछौ ।
दुर्गन्धित, दिकमिकलाग्दो हिलोमा
फुलेर पनि फूलले
गन्धको विरुद्धमा वास्ना फैलाएजस्तै
मचाहिं हाँसिरहने छु निर्धक्क
सासनाहरूको माझमा
सदैव ।

सपना-१


स्वप्निल स्मृति


संसारमा सबैभन्दा सुन्दर सपना हुन्छ
र सपना देख्ने आँखाहरु
सबैभन्दा भाग्यमानी हुन्छन्
भिंडहरु छिचोलेर दादागिरी भिंडहरु
सपनाकै पछि... पछि... दगुरिरहेछन्
स्टेसनबाट राजमार्ग गुड्छ
एयरपोर्टबाट अन्तरिक्ष उड्छ
र बन्दरगाहबाट हिंड्छ समुन्द्र
उहिं सपनाकै पिच्छामा ।
हामीसंग छन् केही बागी सपनाहरु
जो इतिहासले लखेटी-लखेटी हत्या गर्न खोज्छ मूल सडकमा
भाग्छ सपना कर्साईंहरुका आँखाहरुबाट फुत्किएर
शताब्दीहरु टेकेर हिंड्दा
कति भूमिगत इतिहासको गर्तमा
मिथक बनेर उभिएका छन्-शिरिजंगाका पाइलाहरु
हामी पनि त
आधा त शहीद भएर मरिसकेछौं,
हामी उम्किएर बडो अचम्म यहाँ आइपुग्यौं
हामीसंग थियो-केवल सपनाको साँघु
-केवल फुत्किरहेको ढुक्ढुकीको संगीत
यो यात्रामा हामीले भोगेको नांगो सत्य-
सपना देख्नु
जिउँदो हुँ भन्ने जिकिर मात्र हो
सपना मरुभूमिदेखि बेबिलोनसम्म टाँगिएको
रंगीन धागो मात्र हो मृगतृष्णाको ।
सपना
सुन्दर फूलहरुमाथि नाच्ने ऋतु-नायिका
इष्र्या नै इष्र्याको आग्रहसम्मतमा टिप्न खोज्दा
कालो क्षितिज छिचोलेर टाढा...टाढा... उड्ने
झन् सुन्दर पुतली मात्र हो ।
के त्यसोभए अब हामी सपना देख्न छाडौं -

आफ्नै चश्मा


श्याम रिमाल


हेराइ हराएर
अल्मलिइरहेको म
कसले खोस्यो मेरो दृष्टि
कसले फे-यो मेरै सामुको सृष्टि हँ -
चश्मा फुकाल्छु -
नयन छ,दृष्टि छैन
पदार्थ छ,चेतना छैन
कसले लगाइदियो आँखामा पट्टी
कसले हालिदियो पर्दा नानीमा एकाएक -
शिवप्रसादले त दिए कै हो
मीठा र सुन्दर दुइ आँखा
चेतकुमारीको सपना यसैले देख्थ्यो अपलक
आँखामा छारो हालेर
घुमाइरहेछ मलाई कसले-
जीवन-ललाट छोपेर
मेरो स्वप्नज्योति खोस्दैछ को -
मेरो स्वाभिमान
मेरो विवेक
मेरो अन्तरात्मा
आँखा पसलमा बिक्री भैसकेछ-चश्मा खरीदसँगै ।
डा.रुइत ।.
म मेरो पावरयुक्त चश्मासँग
आफ्नै जीवन साटिइरहेको
अझै टुलुटुलु हेरिरहन सक्दिनँ ।

आजकल मलाई


अभि सुवेदी


लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अर्न्तर्तरङ्ग बुझन
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु
अरूका मनका भारीले थिचेर
आजकल मलाई मेरो अस्मिताभन्दा
अरू कसैको जीवन बाँचेजस्तो लाग्न थालेको छ
भन्छन्
धेरै जनाले तिमीमाथि आँखा लगाएका छन् भने
तिमी अपरिचित आँखाहरूका बाढीमा बगेका हुन्छौ
भन्छन्
सबैका मनहरू लिएर हिंड्छौ भने
तिमी समयका पुराना बस्ती खोजेर
तिनीहरूलाई बिसाउने ठाउँ हेरिरहेका हुन्छौं
इतिहास यसरी नै बनिएको हो भन्छन्
मनहरूका बाढीमा कसैलाई धकेलिदिएर
कसैले चम्किला आँखाले सीधा हेरेर
एउटा पीडा देखियो भने
कहीं केही बलियो रचना भत्किन्छ
कोही दुःखले मनभित्रको खण्डहर देखाएर उठ्यो भने
त्रि्रो मनभरि नै भैंचालो जान्छ
लाग्छ त्यसैले
मान्छेको समय कुइरोजस्तै
सबैको मन छोएर उडेको हुन्छ
कहिलेकहीं लाग्छ
हिजोको जस्तो बिहानीर्
दर्जनौं कुखुराहरू बासे पनि खुल्दैन
लाग्छ हिजोको जस्तो साँझ
हजार चराहरूले झुम्मिएर सहगान गरे पनि
आकाशभरि आरेखित हुँदैन
त्यसैले हिजोआज
आफ्नै स-साना बिहानीहरू
अक्षरमा कोरेर
कागजको मैदानभरि छरिदिन्छु
साँझहरू समातेर
कविताका क्षितिजभरि टाँगिदिन्छु
जिन्दगी भनेको
पहाडमाथि चढिसकेर
कठै फेदीमा सम्झनाहरू छोडिए भन्ने
एउटा लामो सुस्केरा मात्र रहेछ !
शहरमा पसेको यति धेरै भयो
यहाँ अनेकौं समय
पुराना घर र गल्लीहरू
अनि देवालय र गुम्बाहरूका खण्डहरमा
लडेर घाइतेजस्तै छट्पटाएको देखेको छु
अनि
मन र चाहनाहरूका पनि
खण्डहर हुँदारहेछन्
जहाँ मान्छे
आफ्नै शहीद दिवस एकल गायन गरेर मनाउँदोरहेछ
एक्लै उद्घोषण गर्दोरहेछ
अनि हतियारहरूमा
त्यस कथालाई लुकाउँदो रहेछ
यहाँ हिजोआज
यात्राहरूका गन्तव्य छैनन्
कोही बिपनाको बाटो गरेर
घोर सपनाभित्र पस्छ
कोही काँधमा उज्यालो बोकेर
अँध्यारो खोज्दै हिंड्छ
सपनाहरू भत्किन्छन्
बिपनाहरू क्षतविक्षत हुन्छन्
छेवैबाट उडेका गोलीको आवाजमा
एउटा किशोर आफूले घरमा छोडेको सङ्गीत सुन्छ
झुट खेल्नेहरूका अभिनय
साँचो खेल भएका छन्
तिनलाई हेरेर
म आफैं भीड किनारामा
मन नपराए पनि
बा ! बा ! गर्दै ताली बजाएर उभिएको हुन्छु
समयको कानमा
मेरी ताली सुनिंदैन
मेरो र्समर्थन र विरोधले
कुनै पनि खेलको हारजीत हुँदैन
आफ्ना सबै कथा कोरेर
एउटा रङ्गमञ्चमा उभ्याउँछु
कथा खोजेर आउनेलाई पर्खेर
कपडामा तन्त्र आलिङ्गनमा बाँधिएका
आकाश भैरवका नाच फैलाएर कसैलाई पर्खिएर बस्छु
संस्कृति भनेको
कहिले लाग्छ
मेरै सपनाको खेती हो कि
आफूले देखेको समयमा
केही बनाउने चाहनाले
आफैंले टाँगेको सानो आकाश हो कि -
संस्कृति
म हिजोआज
अघि नै छोडेका कुनाकानी
अहिले हिंडेका यी गोरेटाहरू
सबैलाई एउटै कुनै आकार दिन खोजिरहेको हुन्छु
मलाई आजकल
अरूको मनका खण्डहरबाट
केही रचना उठाउने चाहनाले पिरोल्छ
हिजोआज म
आफ्नो आकाश अरूलाई दिएर
कहीं केही बनियोस् भन्ने चाहनाले पिरोलिएको छु
तर लाग्छ
दौडभित्र कहीं चौतारी छन्
कहीं आफ्नै यात्रामा
अरूका आँखाहरूसँगै कुद्छन्
मलाई आजकल
कहीं चढ्दा
उचाइले पिरोल्दैन
झर्दा फेदीको चिन्ताले छुँदैन
आजकल मलाई
थकित आकाशले र्स्पर्श गर्दा
कहीं जानै पर्ने चिन्ताको उज्यालोले पनि लखेट्दैन
आजकल मलाई !

जरसाहेबको कुकुर

मीनबहादुर विष्ट


बसन्तको पदचाप बज्नु हुदैन कहीँ
हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन
नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ
भालेले समयको सङ्केत पनि दिनु हुदैन ।
चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ
केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन
आरुको बोटमा ताराहरु झुण्डिनु पनि हुँदैन
आकाशमा बादल उड्नु हुँदैन कहिल्यै
बादल ओढेर जूनले बादलकै कोठाभित्र निदाउनु पनि हुँदैन
कोखिलामा चिचिलाहरु च्यापेर आमाहरुले कतै निस्कनु हुँदैन कहिल्यै
ज्यावल बोकेर किसानहरु फाँटतिर लाग्नु पनि हुँदैन
फाँटमा जौका टुँडाहरु लहलहाउनु पनि हुँदैन
बगैँचामा रङ्ग-बिरङ्गका फूलहरु पनि फुल्नु हुँदैन
तोतेबोली बाल्दै ससाना केटाकेटीहरुले पृथ्वीजस्तो गोल भकुण्डो
उफार्दै, गुडाउँदै मैदानतिर कुद्नु पनि हुँदैन
गौँथलीले बर्षातका निम्ति गुँड बनाउनु पनि हुँदैन
हूँदैन, सूर्य उदाउनु पनि हुँदैन, सूर्य अस्ताउनु पनि हुँदैन
चौबीसै प्रहर अपराधीले झैँ शङ्काले कान ठाडा पार्दै
बाह्रै मास घृणाको तीखो नजरले चारैतिर हेर्दै
हरसमय फोहोर र भद्दा आवाजले गाली गर्दै सबैलाई
हरवस्तु काँचै चपाउँला वा निलुँलाझैं गरी
भोको अजिङ्गरले झैं
थुतुनो फट्फटाउँदै
र तरबारजस्ता तीखा दाँतहरु चम्काउँदै
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ ।
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको थुतुनोजस्तो थुतुनो लिएर
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको मिजास जस्तो मिजास गरेर
मानौं जरसाहेबको अर्को रुपझैं
संसारका प्रत्येक कुरुप, फोहोर र
भद्दा कुकुरहरुको सम्मानमा
पुच्छरले सलामी चढाउँदै
मानिसको सुन्दर इलाकाभित्र
घरी धुरीमा चढेर, घरी पर्खालमाथि बसेर
आतङ्क र अराजकताको साइरनजस्तो
भद्दा आवाजमा भुकिरहन्छ
र जरसाहेब
त्यस नमीठो, रुखो र असभ्य आवाजलाई
यस प्रयोगको सबभन्दा मीठो सङ्गीत ठान्दै
खित्का मारेर हाँस्नुहुन्छ
उस्तै नमीठो, रुखो र असभ्य आवाजमा ।

इच्छा


बालकृष्ण सम


इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

"यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको"
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।

बज्ला मन्दिरमा 'तथास्तु' जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।

नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।

युद्धलाई रोक्न सकेका छैनौ


उषा शेरचन


चेतना शून्य समयका
-प्रत्येक आयामहरु
अहम्को खोल ओढेर
-स्वविवेक हराएर
छेपारो जस्तै रङ्ग बदलिरहेका छन्
आ-आफ्नै डम्फू बजाइरहेका छन्
आँखामा पट्टी बाँधेर अन्धोको
-अभिनय गरिरहेको बेला
बजारमा खुकुरी र बन्दुकको
-व्यापार फस्टाइरहेको बेला
हाम्रो कलम र कुचीको अर्थ हराएको छ
हाम्रो कलम र कुचीको मर्म हराएको छ
बलीको बोको भएर
रक्तरञ्जित क्रान्तिमा होमिनु परेका
-निर्दोष रगतले
हाम्रो क्यानभास लतपतिएको छ
हाम्रो कापीको पाना रंगीएको छ
बुद्धको देशमा रगत उम्लनु भन्दा बढि
-विडम्बना हरु के हुन सक्छ -
बुद्धको देशमा शान्ति हराउनु भन्दा बढि
-दुर्माग्यपूर्ण कुरा अरु के हुन सक्छ -
युद्ध कति घिनलाग्दो र वीभत्स हुन्छ भनेर
युद्ध कति कहालीलाग्दो र पीडादायी हुन्छ भनेर
युद्ध कति उजाडलाग्लो र त्रासदीपूर्ण हुन्छ भनेर
-जान्दा जान्दै पनि हामीले
-अस्वीकार गर्न सकैका छैनौँ
-बहिष्कार गर्न जानैका छैनौँ
हमी आफैँ अन्यौल ग्रस्त
-भविष्यको दोसाँधमा उभिएर
हामी आफैँ कर्तव्यलाई
-वर्तमानको झोलामा राखेर
अगाडी बढ्न सकेका छैनौँ
युद्धलाई रौक्न सकेका छैनौँ

काम्यो लुगलुग त्यो


भीमनिधि तिवारी


मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर 'स्यूः स्यूः' गरी
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

बन्दुक


विजय सुब्बा


मलाई यौटा बन्दुक देऊ
मलाई अहिले भोक छैन
मान्छेको मृत्युमा किञ्चित् शोक छैन
मलाई मात्र घृणा छ
मान्छेको मौनताप्रति
शिर काटेर झरिसक्ता पनि
मान्छे आवरणमा
सहिदहरुका सपना घिचिरहेका
मान्छेको संवेदनाहीनताप्रति
त्यसैले मलाई बन्दुक देऊ
म मान्छेलाई गोली ठोक्छु
बाँच्नु-नबाँच्नुकार्
अर्थहीन नपुंसकहरुका
असामयिक नै सही मृत्युको
हुन्छ म बरु जिम्मेवारी बोक्छु
पानी मान्छेलाई मरीमरी बोक्नुभन्दा
बरु काँध रित्तिएकै जाती हुन्छ
बिख नभएको र्सप र
इख नभएको मान्छेमा के फरक छ र !
यी लास मान्छेहरुभन्दा त यौटा
बन्दुक नै कता हो कता माथि हुन्छ ।

सिमलको नाङ्गो हाँगा


विमला तुम्खेवा


धेरै बर्षअगाडि
हाम्रो प्रेम साटिएको फलैँचा
त्यसरी नै ठिङ्ग उभिएको थियो
बाटो छेउमा लहरै
उभिएको सिमलको रुखमा
चैत -
त्सरी नै नांगीएको थियो
म थिएँ,
मेरा रहरहरु थिए
केवल तिमी थिएनौ
अब,
एक्लै रोएको
मादलको ताल हुन सक्छ
यो फलैँचा...
यो बाटो...
रआत्मीय लाग्ने
हावाको स्पर्श
फेरि पनि
मृत्युदण्ड घोषणा हुन सक्छ
कुनै प्रेमी नागरिकलाई

सुदुर गाउँमा रोइरहेकी हुन सक्छे
बुढी आमा-
आफ्नो सन्तानको सम्झनामा...
जसरी
धेरै अघिरोएकी थिएँ म
प्रियतमको नाममा एउटा अप्रितम साँझ
साँच्चै,
सत्र बर्षपछाडि
त्यही फलैँचामा उभिएर
सोचिरहेछु...
देखिरहेछु...
यो फलैँचायो सिमलको रुख
हामीलाई हेदैँ दौडने ती बच्चाहरु
ठूला भैसकेछन्
पहाड भन्दा अग्लो
मात्र म,
प्रेमको नाममा
त्यागको नाममा
एउटा पृथक इतिहास बाँचिरहेछु
देखिएका...
सिमलका नाङ्गा हाँगाहरुजस्तै