Sunday, July 22, 2007

बिसे नगर्चीको बयान


श्रवण मुकारुङ

मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।

मै त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई ?
यो बिसेलाई दिशा लाग्यो मालिक !
म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै म बिसे उफ्रनुपर्ने ? थुइक्क बिसे... ।
म बौलाएँ मालिक !
म बौलाएँ ।

मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्दिनँ
मालिक ! म बौलाएँ ।

मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ !

मालिक !
हजुरको तरबारले टाउको काट्छ कि फूल
भ्रममा परेँ म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अर्ढाई सय वर्षेखि म तपाईंसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।

हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुला

मालिक !
मान्छे बोलाएपछि आपैँFmसित पनि निहु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका
रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनको मुलुक विशाल ठानेँ हुँला

मालिक !
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

No comments: