Monday, November 26, 2007

जङ्गबहादुर र समय-६


रोशन सुवेदी

जङ्गबहादुरका रुप अनेक छन्
कोही बन्दुक बोकेर
हिड्छन्
कोही कुर्सीमा ढस्स बसेर
कुर्लिन्छन्

तँ ठूलो कि म ?
म ठूलो कि तँ ?
जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्
सिङ्ग जुधाएर
टाउको जुधाएर
श्क्तिको खेल देखाई रहेछन् ।

जङ्गबहादुरहरूको शक्ति लडाइमा
घाइते भएका छन् जीवनहरू
टुहुरो भएका छन् लालाबालाहरू
बिधवा भएका छन् रहरहरू
अपाङ्ग भएका छन् भविष्यहरू

कस्का लागि बगिरहेछ रगत ?
जङ्गबहादुरहरू
जनताको बली चढाएर
नेपालीको रगत चुहाएर
कस्का लागि खनिरहेछन्- बाटो ?

थाहा छैन कहिलेसम्म
हामी जङ्गबहादुरका गुलाम भइरहन्छौ ?
कठपुतली भएर नाचिरहन्छौ ?
रगत बगाइरहन्छौ ?


रचना समय २०५८
कोटेश्वर, काठमाण्डू
सम्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४
email:subedi.roshan@gmail.com

Saturday, November 24, 2007

झुठो आश्वासन

बी जे बान्तवा

सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनु नै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राको नाटक खेलेउ??

ठुलोदुम्मा-९
भोजपुर, कोशी, नेपाल

दरबारकी सुसारे


भोजराज न्यौपाने

हो, यहीं नेर हो
पहिलो पटक म लुटिएको ।

दरबारका विशाल पर्खालभित्र
कुनै सुसारेले भित्र्याउँदै गर्दा
उसले मेरो नितम्ब छोयो ।
बूढी सुसारेहरुकै अघि
मेरो चोलीको तुना खोल्यो
त्यतिबेला
उनीहरु खित्खीताउँदै बाहिर निस्के
म उसको पञ्जामा परें ।

दरबार भनेको दरबारै हो
त्यहाँ देउता बस्छन् भन्नु हुन्थ्यो बा ।
सुनचाँदीका गहनामा
झकिझकाउ देख्न चाहानुहुन्थ्यो आमा ।
त्यसैले मलाई डोर्‍यायो यो नरकभित्र ।
यी, यहींनेर थियो मेरो पलङ
यहींनेर थियो मेरो ड्रेसिङ टेबल
खुल्ला ढोका
खुल्ला कोरिडरको एउटा कुनामा
म खेलौनाजस्तै बनेकी थिएँ उसका लागि ।
ऊ हरेक दिन आउँथ्यो
र मसंग मन लागी गर्थ्यो ।

एकदिन मेरो पेटमा गर्भ आयो
पेट बोकेको खुसीमा
दरबारका सवै चाकरले बधाई दिए
त्यसैदिन बूढी सुसारे र मलाई
वाहिर पठायो
र गर्भ तुहाउन लगायो ।
पछि, धेरै पछि थाहा पाएँ
त्यतिबेलै झिकिएछ मेरो पाठेघर
त्यतिबेलै गतिहीन भएछ मेरो जीवन ।

हो, यही खोपी हो
मैंले पहिलो पटक गर्भ बोकेको
र, यही खोपी हो
मेरो जीवन खोसिएको
तिमी अहिले देशको महाराज छौ
म तिम्री रखैल सुसारे
तिमीनै हौ मलाई लुट्ने स्वामी
भन किन लट्यौ मलाई
किन तुहायौ मेरो गर्भ ?
किन फाल्यौ मेरो पाठेघर ?
भन त महाराज
तिमीले जवाफ दिनु पर्दैन ?

प्रेम राग

केदार सुनुवार “सँङ्केत”

यो सृष्टि सिर्जना
यो गीत गुन्जनमा
तिम्रै मात्र राग अनि
नवरसले भरिएको छ
खै यो बखत कुन अंगबाट
रस भरौं कवितामा ?
म निरस भएको छु यसबखत
तैपनि रोजेको छु तिमीलाई ।
मेरो कवितामा तिमी
सौर्न्दर्य पराग भएर
पनिर भै मन फटाएर गयौ ।
सुनामीको छालझैं
क्षत-विक्षत बनाएर
मनको मन्द गतीलाई
तहसनहस बनाइदियौ
नहुनु थियो हाम्रो भेट
भेटिन गयो
यही त होला जीवनचक्र चल्ने क्रम
जहाँ तिम्रो र मेरो मन
छिया छिया भएर
दोभानमा परिणत भयो ।
खैं: कुन शब्द शिखाले
परिचुम्बन गरौं तिम्रो अधरलाई
खै: कस्तो स्पर्शले
काउकुती लगाऊ तिम्रो अंग अंगलाई
किनकि म यस बखत
भग्नावशेष भएको छु
तर, तिमी भने मेरो यादविना
पुष्पहार डसनामा फुल्दैछ्यौ रे!
म भने किन किन
तिम्रो सपनाको खोजीमा
रित्तो खाटमा कोल्टे फेर्दै छु ।

हार्नको लागी युद्ध


बसन्त मोहन अधिकारी

हप्ताभरी थकानको उतकर्ष
सुर्यको ताप
तातो हावाको राप
विदा अभिषाप ।
लम्कन्छ उ
शहर तिर
छिर्छ महल तिर
उक्लन्छ होटल तिर
लगाउंदै नजर
बिर्सीएर घरपरिवार
तम्सन्छ उ
युद्ध गर्न
विना हतियार र रणकौशल विना ।
तैपनि,
युद्ध गर्दैछ
थाहा छैन उसलाई
उ हार्दै छ
सुरविर बनिरहेछ
क्षणिक मुस्कान छर्दै ओठमा ।
युद्ध त जित्न लड्नु पर्थ्यो
जो पुर्खाहरुले लडे
बिना अर्थ
उ जोशमा उर्फन्छ
झम्टन्छ
एक नारी माथि
उनि चुपचाप सहिरहन्छिन्
उनलाई थाहा छ
बिजय उनैको हो ।
केवल एक छिन
चुपचाप सहिदिदा
के भो र ?
निमेष भरमै उ
थाक्ने छ
शिथिल शिथिल हुनेछ
हार्ने छ
आपनो बाटो लाग्ने छ
लाजले
घिनले
पश्चतापले
त्यति नभए
खल्ति रितिएर ।
उ हार्दै छ जीवनबाटै,
रोग भित्राएर
पैसा रित्याएर
परिवार रुवाएर
परिवर्तनशिल जविन नचिन्दा
अन्तत रोइरहेछ
जिर्ण र क्षिण बनेर
यो युद्ध चलिरहेछ
मलेशिया र खाडी क्षेत्र तिर ।

यू ए इ

केहि तिता केहि मिठा


तिलक थापा

केहि तिता केहि मिठा
बितायौं हामीले पलहरु...
अनौठो थियो साइनो हाम्रो
थिएन कुनै छलहरु...

मैले गरे मायाका कुरा
तिम्ले पनि गर्यौ...
सजाँउदै सुन्दर सपनाहरु
कैयो नदि संगै तर्यौ...

थाहै नपाइ हामि बिच,
ठुलो आधि चल्यो...
फुल्नै नपाई हाम्रो माया,
ओइली भुइमा झर्यो...

मुटु जोडने दैव पनि
हामी बीच तगारो भयो...
दुइ आत्माको मिलन बिच
टक्क उभि छुटाइ दियो...

Tuesday, November 20, 2007

मेरो बालापन

बी जे बान्तवा

ती हिमश्रृङखलाले दिएका उज्याला किरणहरु
भुल्नै नसक्ने मेरा बालककालका दिनहरु
मेघका गर्जाइँसंगै बितेका ति मेरा गोठालेदिनहरु
बादलका घुम्टोभित्र रमेका प्रितहरु
सानोसंसारको एक कुनामा हिंजो नितान्त म हराउथे
जती पिर ब्यथा भये पनि आफै म रमाउथे
खोलानालाको सुस्केरा सँगै आँफै म गीत गुनगुनाउथे
गाँउघर को मेलापात जाँदा स्वर्णिम आनन्द म पाउँथे
चाडबाड देउशी भैलो रमाइला थिए दिनहरु
अब कहिले पाउने बितेका ति दिनहरु
बालापन रहेछ हाम्रो मिठो सुबाशलिने
बगैचाको फुलसरी छिनमै बितिजाने।

ठुलोदुम्मा-९
भोजपुर, कोशी, नेपाल

इच्छा

सुलभ दाहाल

म विदेश जान्न
यहीँ बस्छु
आफ्नै देशमा बस्छु
मैले मेरो जन्मको
मूल्य तिर्नुछ यो देशलाइ
यो देशको माटोलाइ
म यही, जन्मेँ हुर्के
अब यही चोला त्याग्नेछु
म विदेश जादैँ जान्न
वरु म यहीँ भोकै मर्छु
भोकमरी सहेर पनि
यहीँ बाँच्छु
वरु म दुखमा रमाउछुँ
तर यो देश छाड्दीन
यहाँ महङ्गी,भ्रष्टाचार छ
म अनभिज्ञ छैन
सबै जानकार छन
नातावाद,कृपावाद व्याप्त छ
फेरी पनि यहीँ बस्छ, यहीँ बाँच्छु
म विदेश कहिल्यै जान्न
मलाइ ती डलरकोलोभमा
देशलाइ भुल्नु छैन
त्यसैले म यहीँ बाँच्छु
धेरै सास्ती र थोरै हाँसो खपेर।

सुरुङ्गा-५, झापा,नेपाल

चेलीलाई सम्झेर


इश्वर चाम्लिङ्ग

गोदावरीलाई मखमलीलाई र सम्झे सयपत्रीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

बर्षौ बित्यो सम्झनामै तिहार मनाएको
धेरै भयो खुशि ल्याउने भाका बढाएको
फूल रानीलाई स्यानी बैनीलाई र सम्झे सेलरोटीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

यसबेला त गला भरी माला हुनुपर्ने मेरो
धेउसीरे र भैलेनीले स्वर सुक्नु पर्ने मेरो
दीपावलीलाई मेरो भागी मालालाई र सम्झे टिकालाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

२०६४ सालको तिहारमा, बेलायत

गजल


वषन्तमोहन अधिकारी

धेरै भयो अल्झिराको गाठो रहेछ ।
सिमाना र साध बिच आठो रहेछ ।

घर भित्र मेलमिलाप हुन छाडेछ
रण्डी बाजी जस्तै चाल नाठो रहेछ ।

समाज भित्र गन्हाएर हल्ला चलेछ
गर्भ भित्र त्यो नाठोको पाठो रहेछ ।

चिसो चुल्हो रोग भोक बच्चा रोएछ
घरनै लुट्यो त्यो नाठो बाठो रहेछ ।

सकुनीको पासा भित्र यहाँ पारेछ
संसारमा नभएको टाठो रहेछ ।

दुख्यो मुटु बाँच्न अव गार्हो भएछ
कपिलवस्तु रौतहटको लाठो रहेछ ।

यस्तै गरिन्छ यहां

तुलसी सुनार

दमाइले सिलाएका कपडा लगायर
मन्दिर भित्र पस्ने हरु
त्यहि मन्दिरमा
दमाइलाई पस्न दिदैनन् यहां
ढुङ्गालाई देउता मान्दै
मुर्ति पुजा गर्ने हरु
त्यहि मुर्ति बनाउने हातहरुलाई
मुर्ति छुन दिदैनन् यहां

सुनारले बनाएका गहना लगायर
झकमक्क भई हिड्ने हरु
त्यहि सुनार ले छोएमा
सुनपानी छर्कि चोखिन खोज्छन् यहां

कामीले बनाएका भाडाहरु सजायर
घरको सौन्दर्य बढाउन खोज्नेहरु
त्यहि भाडोमा उसैलाई
पानी दिन मान्दैनन् यहां

यो कस्तो बिडम्बना
जस्ले श्रम गर्छ पसिना बगाउछ
त्यहि मान्छे पछाडी परिरहेछ यहां
जस्ले श्रमको सोषण गर्छ
त्यहि मान्छे अगाडी बढीरहेछ यहां

त्यसैले

श्रम गर्ने र पसिना बगाउनेहरुको
श्रमको मुल्यांकन गरिनु पर्छ यहां
एक मुठी चामल र पिठो होइन
पेटभरी खान र बस्न पाउनु पर्छ यहां ।

रझेना ४ पुष्पनगर बांके नेपाल

Monday, November 19, 2007

आगो बल्दैछ

स्वर्गीय विमल गुरुङ्ग

केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरै खाइसकेपछि खाना ।

आगो बल्दैछ
पात पतिंगरहरु जल्दैछन्
काठहरु बल्दैछन्
खसेलाहरु जल्दैछन्
आगो बल्दैछ ।

रहर छ
आगो ताप्ने मलाई पनि
यो हुस्सु परेको रातमा ।

आगो बल्दैछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
हामीलाइ
बाटोमा
राम्ररी हिंड्न नदिने
काँडाहरु जल्दैछन्
कोइला हुँदैछन्
खरानी हुँदैछन्
आगो बल्दैछ ।

कहीं जाँदा पनि
हामीलाई शान्ति छैन
कोठा जाँदा पनि शान्ति छैन
कौसीमा
सडक, रिक्सा, साइकल, मोटर
मान्छेहरु र
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
सिमेन्टका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
केही गर्दा पनि शान्ति छैन
कतै जाँदा पनि शान्ति छैन
हुस्सु-हुस्सु छ चारैतिर
ठण्डा-ठण्डा छ चारै-चारैतिर ।

हुन सक्छ
यसैले केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरे खाइसकेपछि खाना ।

आगो बल्दैछ
साइकलको पुरानो टायर जल्दैछ
खुब मजाले
हवार-हवार्ती जल्दैछ
साइकलको
डेट-अफ ट्युबहरु जल्दैछन्
छेस्का छेस्कीहरु बल्दैछन्
मकैका खोयाहरु जल्दैछन्
प्लास्टिकहरु बल्दैछन्
ढुङ्गाहरु काला हुदैछन्
माटोहरु डड्दैछन्
वातावरण तापमय हुदैछन्
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदै छन्
हुस्सु भयभित हुदैछ
आगो बल्दैछ ! !
२०४६-९-२०

ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ -बस दुर्घटनामा
कृति कविता संग्रह 'आगो बल्दैछ'

Thursday, November 15, 2007

एक पुस्तक र एक लेखक


सबिना सिन्धु

सारा धक फुकाएर
आफैंलाई उप्काएर
कागज भित्र कोरिन्छ
अक्षरका ती लामहरुमा ।

र् तर्क र वितर्कको संज्ञा लगाई
शब्द र परिभाषहरुबाट
झोल झैं ऊ छानिन्छ
मस्तिष्कका रङ्गनि जालीहरुमा ।

वाक्यांशका लहरहरु भित्र
अक्षरका मूल्यहरुमा
प्रत्येक पल्ट ऊ फेरिन्छ
हेर्राई र दृष्टिको मोलमा ।

भिन्न प्रकाशमा
भिन्न मुहारका
आँखाका अनौठा र्स्पर्शहरु पश्च्यात्
सुरक्षित साथ सेफ र र्याकमा सजिन्छ ऊ ।


- 'परिवर्तन' कविता सङ्ग्रह - २०५९ बाट

Tuesday, November 13, 2007

मदर टेरेसा


तिलक थापा

कठै मेरी आमा
कति असल थिईन उनि.....

भन्नु हुन्थ्यो
घमण्ड नगर,...
सवैलाई निश्छल
माया गर,...
सुःखमा नहास, ...
दुखमा नरोउ...
समस्यहरु संग नभाग...
मौज र मस्तीमा
मात्र नरम...
आहा, मेरी आमा
समाजकी गुरुआमा
थिईन उनि...

भन्नुहुन्थ्यो
दिन दुखीको सेवा गर,...
शत्रुलाई मित्र बनाउ, ...
मित्रलाई मनमा बसाउ, ...
रिस र घृणा त्याग...
असाहृयलाई माया गर...
आहा, मेरी आमा
कति ज्ञानी थिईन उनि...

भन्नुहुन्थ्यो
बटुवाको निम्ती
पाटी पौंवा बनाउ...
त्यसैको छेउमा
एउटा कुवा खनाउ...
थकित यात्रीका लागी
चौंतारी बनाउ...
आहा, मेरी आमा कति असल
थिई उनको विचार..

भन्नुहुन्थ्यो
अनपढलाई शिक्षा दैउ...,
अन्धोलाई संगै डोरयाउ...
अनाथलाई आश्रम दैउ, ...
बृद लाई आश्रअ दैउ...
आहा, मेरी आमा
कति महान थिईन उनी...

भन्नुहुन्थ्यो
पापीलाई धर्म सिकाउ, ...
बैमानीलाई गुन सिकाउ, ...
जिद्घीलाई जितन दैउ,
घमण्डीलाई आचरण सिकाउ, ...
आहा, मेरी आमा
कति असल थिईन
मेरी आमा....

भन्नुहुन्थ्यो
शुद्घ मनले पुजा गर,..
कसै माथी पाप नसोच, ..
देउतालाई प्रशन्न बनाउ, भन्दै,
कुनै पशुको बलि नचढाउ..
सक्छौ भने देउताको नाउमा
एक जोडी भाले पोथी
परेवा छोड्देउ..
आहा, मेरी आमा
कति धर्मि थिईन उनी..

मदर तेरेसा का नामले
चिनीन्थिईन उनि..
तिमो र मेरो मात्र हैन
ससार कै आमा थिईन उनि..
लाखौ आमाहरुका आमा..
मदर तेरेसा थिईन उनी..

Saturday, November 10, 2007

लक्ष्‍मी प्रसाद देवकोटा र आवश्‍यकता



बसन्‍त मोहन अधिकारी

निराशाको बादल भित्र
आशै आशाको झिल्‍को
सँगाल्‍दै पीडा व्‍यथा
श्राप लक्ष्‍मीको
यात्रा साहित्‍यको
महाकवि तिमी नै हौ यो
साहित्यिक युगको ।
अब्‍यक्‍त छ देन
समर्पण र सङ्कल्‍प
दया माया प्रेम र विश्‍वासमा
काम र कर्तब्य
पीडै पीडाबाट
सुन्‍दर उपहारहरू
पढिरहेछौ
हामी अनेक साहित्‍य र शब्‍द ।
पुत्र वियोग
बाडेर बस्त्र
छोडेर कालरात्रीको अस्‍त्र
धर्म हो मानवता
अभावै अभावमा
किकर्तब्‍यताको मन्‍त्र ।
त्‍यागी सुख सयल
भएर मयलै मयल
उठायौ राष्‍ट्र र राष्ट्रियता
साहित्‍यकार भै
देशभक्‍तीको पृथक यन्‍त्र ।
आज बिडम्‍बना,
अविच्छिन्न आसौच बार्दै छ राष्‍ट्र ।
गुहारदै छ कालापानी र सुस्‍ता ।
घट्यो वीर गोर्खालीको प्रतिष्‍ठा ।
गर्दैछ कपील बस्‍तु यता र उता ।
बुद्धको देशमा अशान्ति जतातता ।
छोपीदैछ यर्थाथता ।
चोरीए गहनाहरू !
लुटीए बस्‍त्रहरू !
आए हत्‍या र आतङ्कहरू !
बढेर लोभी पापीहरू ।
हाहाकार , चित्‍कार, ऐया, ऐया
जल्‍दैछन् जनताहरू
पर्खिरहेछन् कापी र कलमहरू ।
हे लक्ष्‍मी प्रसाद देवकोटा !
आँउ तिमी नेपाली भै यता
खोज्‍दैछिन् तिम्री माता !
खड्कीरहेछ तिम्रो आवश्‍यकता ।
खड्कीरहेछ तिम्रो आवश्‍यकता ।

यू ए इ

Friday, November 9, 2007

घाँसको नृत्य


टंक वनेम

लहलहाउदो घाँस
हल्लि रहेछ
कहिले यत्ता
कहिले उत्ता
जसरि बहन्छ हावाको गति
मानौं-
निलो आकास
प्राकृतिको नाटक हेरिरहेछ
किट पतङ्गहरु
स्वर मिलाई रहेछन्
झयाउँकिरि पखेट्टा रेटिरहेछ
घाँसे मैदानको
घाँसे नृत्यमा
पाईतलाहरु छमछमाउदै
सजिव जीवनको
चलायमान हुन्छ
मृगशावकहरु उफ्रीन्छन
चराहरु चिर्रबिराउछन्
खोलाले अलाप्छ
बेलाको रति राग निरन्तर ।
पहेला पातहरु ढोग चढाउछन्
सिरुका शिरमा सिरबन्दी
हावासंग नाँच्न थाल्छ
सिरुबारी
मुक दर्शक बनेर रुखहरु
बोधीसत्वमा रम्छ
घाँसे मैदान
अलौकिक जीवनको
सन्देश बाँड्दै घाँसहरु ।
तर-
प्राण भर्ने हावा संग
नाँच्न नसकेर पिडा बोध
उज्यालो र्छर्ने घाम संग
हाँस्न नसकेर
स्वतन्त्र हुनुको सिकायत
हामी मान्छेहरु
बाँच्नुको पुल छिनालेर
यात्रा निमार्ण गरि रहेछौं विध्वंसको
सगरमाथा झैं उभाएर
मानवहरु बीचमा युद्ध
घाँसे मैदानका घाँसहरु झैं
कहिले फरफराउँछ शान्ति
र ओभाउछ आङमा न्यानो घाम
चिर्रबिराउने हुन कहिले
मनको पखेरामा चराहरु
घाँसे मैदानमा
घाँस हुदो हो त्यतिखेर
र नाँच्दो हो पखेट्टा फटफटाउदै
जसरी
घाँसको नृत्य हेरेर
मन रमाई रहेछ
भुर्रभुर्र उड्ने चरी जस्तो
घाँसहरुले थाम्न सक्दैन झैं
नुहेर डालीडालीमा ।

गीत

केशर के राई


मेरो जिन्दगी भन्नु नै तिमी हौ माग सारा दिनेछु
आँसु होस् या पीडा देऊ जनम-जनम तिमी मै समर्पित हुनेछु

पाखा-पखेरा सजाउने सुनगाभा र लालीगुराँस तिमी
हताश मेरो तनमा बहार दिने संगितका सरगम हौ तिमी
म त यात्री तिमी लक्ष्य देवी-देउराली भाक्नेछु
आँसु होस् या पीडा देऊ जनम-जनम तिमी मै समर्पित हुनेछु

चन्द्र-सूर्य झै खुलेका हिमाल झै हाँसिदिने तिमी हौ
प्रत्येक शब्द-शब्दमा स्वाद भरिदिने रस्वान तिमी नै हौ
म त धर्ती तिमी आकाश हरेक क्षण नियालीरहनेछु
आँसु होस् या पीडा देऊ जनम-जनम तिमी मै समर्पित हुनेछु

पाथेका-४, खोटाङ
हालः- काठमाडौ
kesharthulung@yahoo.com

Monday, November 5, 2007

झुक्यायो

रुन्चे रिमाल

झुक्यायो ! झुक्यायो ! झु.....क्यायो
चुनाव देखि भागेका
विना भोटका सांसदले झुक्यायो
जनता झुक्यायो
लौन झुक्यायो
आहा झुक्यायो
पहाडीलाई झुक्यायो
मधेसीलाई झुक्यायो
हिमालीलाई झुक्यायो
सोझा साझा नेपाली सबैलाई उल्लु बनायो
हो बनायो
आच्या बनायो
का बनायो
ह ! बनायो
अरे बनायो
यस्तै यस्तै सबै बनायो
नेपाली सबैलाई उल्लु बनायो
टिके सांसदले झुक्यायो
विषेष अधिवेशनको नामले हसायो
माओवादीको रहरले फसायो
एमालेको गणतन्त्रले झुक्यायो
कांग्रेस त गणतन्त्र बादी नै हैन त्यसैले त झुक्यायो
संविधान सभा का हो का हो जनमत पो ल्यायो
विना जनमत संग्रहको संविधान सभाले झुक्यायो ।
नियम कानुन केही छैन देशलाई फसायो
लौन झुक्यायो
आहा झुक्यायो
पहाडीलाई झुक्यायो
मधेसीलाई झुक्यायो
हिमालीलाई झुक्यायो
नेपालीलाई झुक्यायो

runaman_lagkchha@yahoo.com

जिन्दगी


दिलिप योन्जन

उज्यालो र कोलाहलमा बिलाउन
सधै सधै म आसाको त्यान्द्रो लिएर
अभाबको समाधन खोज्दा खोज्दै
मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म
बाटो दोबाटो अनि गल्ली हुदै
वारि छितिजबाट पारि छितिजसम्म
भड्किरहन्छु.............दौडिरहन्छु........
आवश्यकताको गहिरो धरातलमा
अतालिदै कहालिदै खोजि हिड्छु
त्यही भिडहरुको बीचमा
गन्तब्यको थकाइपछि फर्किन्छु
खाली हात लामो सुस्केरा बोकेर
पोल्टोभरि झुटो बिश्वास दिएर
बर्षौ बर्षसम्म धैर्यतामा बाचिन
कल्पना भरि खुसीयाली समेटेर
खाली पेट पटुका कस्डै हासिन
जवानी फिर्ता मागेर रोइन
सम्पति र मोजमस्ति मागिन
नौलो आसा र उमग बोकेकी हुन्छिन्
आँखाभरि आसु झारेर खुशी दिन हास्छिन
मुटुभरि पीडा लुकायर भाबनमा बाच्छिन
मैले एक मुठि खुसी दिन सकिन
फुल्छन् मनका कुनामा रुन्चे खुसिहरु
न मैले दिन सकेन उनले अधिकार मागिन्
अभाबको खाडलमा होमिएको जिन्दगी !


D. F. MEXICO

विचार मञ्च

नेपाली साहित्यले व्यवसायीक हुनु आवश्यक छ कि छैन ? साथै साइवर ब्लगमा नेपाली साहित्यको प्रवेशलाई कुन रुपले हेर्नु हुन्छ ? तपाइको आफ्नो विचार तल कमेण्ट बक्समा सम्प्रेषण गर्न सक्नुहुनेछ

गजल


तिलक थापा

किन होला आज भोली मन त्यसै बोली दिन्छ
बन्द थियो मनको ढोका उनकै यादले खोली दिन्छ ...

भुली सके भन्थे जसलाई यादले फेरी उसैलाई खोज्यो
सुन सान यो मन भरि अतित फेरी बल्झी दियो
बाझै थियो मनको बारी उनको याद फेरी पलायो ...

पत्थर मन संझन्थे आफैलाई उनको यादमा नौनी हुन्छु
रुन्न अब भन्दा भन्दै उनलाई संझी एक्लै रुन्छु
गर्दिन अब संझना भन्थे हरपल उसकै यादमा डुब्छु

हाल - हंगकंग
अगस्ट २००५

विचरा म जीवन !

विरही शर्मा

विचरा
म नाती !
चञ्चलता के हो ?
सिक्तै थिएँ
सिक्नै पाइँन

विचरा
म छोरा !
रौनकता के हो ?
जान्दै थिएँ
जान्नै पाइँन

विचरा
म प्रेमी !
सपना के हो ?
देख्दै थिएँ
देख्नै पाइँन

विचरा
म श्रीमान् !
स्वतन्त्रता के हो ?
महसुस गर्दै थिएँ
गर्नै पाइँन

विचरा
म बाबु !
दायित्व के हो ?
घोत्लिदै थिएँ
बुझ्नै पाइँन

विचरा
म बाजे !
संसार के हो ?
तौलदै थिएँ
तौलनै पाइँन

विचरा
म लास !
जीवन के हो ?
सोच्दै थिएँ
सोच्नै पाइँन

२२ फागुन, २०६३
सहयोगीनगर, कोटेश्वर

गजल



बसन्‍त मोहन अधिकारी



म सक्दिन यो भर्न यो जीवन के हो ? के हो ?
मृतु संग छ सर्न यो जीवन के हो ? के हो ?

फूल काँडा देख्‍ने नजर फरक हुदै गो
आँउछ आशु पर्न यो जीवन के हो ? के हो ?

कहिले हाँसो कहीले आशु मेल अनौठो
यसमा पर्छ चर्न यो जीवन के हो ? के हो ?

जन्‍म र मृतु बिचको यो कस्‍तो यात्रै यात्रा
आफैलाई छ हर्न यो जीवन के हो ? के हो ?

आशै आशमा यो उसैको पर्खाइ रहेछ
भोली त पर्छ मर्न यो जीवन के हो ? के हो ?

यू ए इ