Saturday, November 24, 2007

दरबारकी सुसारे


भोजराज न्यौपाने

हो, यहीं नेर हो
पहिलो पटक म लुटिएको ।

दरबारका विशाल पर्खालभित्र
कुनै सुसारेले भित्र्याउँदै गर्दा
उसले मेरो नितम्ब छोयो ।
बूढी सुसारेहरुकै अघि
मेरो चोलीको तुना खोल्यो
त्यतिबेला
उनीहरु खित्खीताउँदै बाहिर निस्के
म उसको पञ्जामा परें ।

दरबार भनेको दरबारै हो
त्यहाँ देउता बस्छन् भन्नु हुन्थ्यो बा ।
सुनचाँदीका गहनामा
झकिझकाउ देख्न चाहानुहुन्थ्यो आमा ।
त्यसैले मलाई डोर्‍यायो यो नरकभित्र ।
यी, यहींनेर थियो मेरो पलङ
यहींनेर थियो मेरो ड्रेसिङ टेबल
खुल्ला ढोका
खुल्ला कोरिडरको एउटा कुनामा
म खेलौनाजस्तै बनेकी थिएँ उसका लागि ।
ऊ हरेक दिन आउँथ्यो
र मसंग मन लागी गर्थ्यो ।

एकदिन मेरो पेटमा गर्भ आयो
पेट बोकेको खुसीमा
दरबारका सवै चाकरले बधाई दिए
त्यसैदिन बूढी सुसारे र मलाई
वाहिर पठायो
र गर्भ तुहाउन लगायो ।
पछि, धेरै पछि थाहा पाएँ
त्यतिबेलै झिकिएछ मेरो पाठेघर
त्यतिबेलै गतिहीन भएछ मेरो जीवन ।

हो, यही खोपी हो
मैंले पहिलो पटक गर्भ बोकेको
र, यही खोपी हो
मेरो जीवन खोसिएको
तिमी अहिले देशको महाराज छौ
म तिम्री रखैल सुसारे
तिमीनै हौ मलाई लुट्ने स्वामी
भन किन लट्यौ मलाई
किन तुहायौ मेरो गर्भ ?
किन फाल्यौ मेरो पाठेघर ?
भन त महाराज
तिमीले जवाफ दिनु पर्दैन ?

No comments: