Monday, November 26, 2007

जङ्गबहादुर र समय-६


रोशन सुवेदी

जङ्गबहादुरका रुप अनेक छन्
कोही बन्दुक बोकेर
हिड्छन्
कोही कुर्सीमा ढस्स बसेर
कुर्लिन्छन्

तँ ठूलो कि म ?
म ठूलो कि तँ ?
जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्
सिङ्ग जुधाएर
टाउको जुधाएर
श्क्तिको खेल देखाई रहेछन् ।

जङ्गबहादुरहरूको शक्ति लडाइमा
घाइते भएका छन् जीवनहरू
टुहुरो भएका छन् लालाबालाहरू
बिधवा भएका छन् रहरहरू
अपाङ्ग भएका छन् भविष्यहरू

कस्का लागि बगिरहेछ रगत ?
जङ्गबहादुरहरू
जनताको बली चढाएर
नेपालीको रगत चुहाएर
कस्का लागि खनिरहेछन्- बाटो ?

थाहा छैन कहिलेसम्म
हामी जङ्गबहादुरका गुलाम भइरहन्छौ ?
कठपुतली भएर नाचिरहन्छौ ?
रगत बगाइरहन्छौ ?


रचना समय २०५८
कोटेश्वर, काठमाण्डू
सम्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४
email:subedi.roshan@gmail.com

Saturday, November 24, 2007

झुठो आश्वासन

बी जे बान्तवा

सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनु नै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राको नाटक खेलेउ??

ठुलोदुम्मा-९
भोजपुर, कोशी, नेपाल

दरबारकी सुसारे


भोजराज न्यौपाने

हो, यहीं नेर हो
पहिलो पटक म लुटिएको ।

दरबारका विशाल पर्खालभित्र
कुनै सुसारेले भित्र्याउँदै गर्दा
उसले मेरो नितम्ब छोयो ।
बूढी सुसारेहरुकै अघि
मेरो चोलीको तुना खोल्यो
त्यतिबेला
उनीहरु खित्खीताउँदै बाहिर निस्के
म उसको पञ्जामा परें ।

दरबार भनेको दरबारै हो
त्यहाँ देउता बस्छन् भन्नु हुन्थ्यो बा ।
सुनचाँदीका गहनामा
झकिझकाउ देख्न चाहानुहुन्थ्यो आमा ।
त्यसैले मलाई डोर्‍यायो यो नरकभित्र ।
यी, यहींनेर थियो मेरो पलङ
यहींनेर थियो मेरो ड्रेसिङ टेबल
खुल्ला ढोका
खुल्ला कोरिडरको एउटा कुनामा
म खेलौनाजस्तै बनेकी थिएँ उसका लागि ।
ऊ हरेक दिन आउँथ्यो
र मसंग मन लागी गर्थ्यो ।

एकदिन मेरो पेटमा गर्भ आयो
पेट बोकेको खुसीमा
दरबारका सवै चाकरले बधाई दिए
त्यसैदिन बूढी सुसारे र मलाई
वाहिर पठायो
र गर्भ तुहाउन लगायो ।
पछि, धेरै पछि थाहा पाएँ
त्यतिबेलै झिकिएछ मेरो पाठेघर
त्यतिबेलै गतिहीन भएछ मेरो जीवन ।

हो, यही खोपी हो
मैंले पहिलो पटक गर्भ बोकेको
र, यही खोपी हो
मेरो जीवन खोसिएको
तिमी अहिले देशको महाराज छौ
म तिम्री रखैल सुसारे
तिमीनै हौ मलाई लुट्ने स्वामी
भन किन लट्यौ मलाई
किन तुहायौ मेरो गर्भ ?
किन फाल्यौ मेरो पाठेघर ?
भन त महाराज
तिमीले जवाफ दिनु पर्दैन ?

प्रेम राग

केदार सुनुवार “सँङ्केत”

यो सृष्टि सिर्जना
यो गीत गुन्जनमा
तिम्रै मात्र राग अनि
नवरसले भरिएको छ
खै यो बखत कुन अंगबाट
रस भरौं कवितामा ?
म निरस भएको छु यसबखत
तैपनि रोजेको छु तिमीलाई ।
मेरो कवितामा तिमी
सौर्न्दर्य पराग भएर
पनिर भै मन फटाएर गयौ ।
सुनामीको छालझैं
क्षत-विक्षत बनाएर
मनको मन्द गतीलाई
तहसनहस बनाइदियौ
नहुनु थियो हाम्रो भेट
भेटिन गयो
यही त होला जीवनचक्र चल्ने क्रम
जहाँ तिम्रो र मेरो मन
छिया छिया भएर
दोभानमा परिणत भयो ।
खैं: कुन शब्द शिखाले
परिचुम्बन गरौं तिम्रो अधरलाई
खै: कस्तो स्पर्शले
काउकुती लगाऊ तिम्रो अंग अंगलाई
किनकि म यस बखत
भग्नावशेष भएको छु
तर, तिमी भने मेरो यादविना
पुष्पहार डसनामा फुल्दैछ्यौ रे!
म भने किन किन
तिम्रो सपनाको खोजीमा
रित्तो खाटमा कोल्टे फेर्दै छु ।

हार्नको लागी युद्ध


बसन्त मोहन अधिकारी

हप्ताभरी थकानको उतकर्ष
सुर्यको ताप
तातो हावाको राप
विदा अभिषाप ।
लम्कन्छ उ
शहर तिर
छिर्छ महल तिर
उक्लन्छ होटल तिर
लगाउंदै नजर
बिर्सीएर घरपरिवार
तम्सन्छ उ
युद्ध गर्न
विना हतियार र रणकौशल विना ।
तैपनि,
युद्ध गर्दैछ
थाहा छैन उसलाई
उ हार्दै छ
सुरविर बनिरहेछ
क्षणिक मुस्कान छर्दै ओठमा ।
युद्ध त जित्न लड्नु पर्थ्यो
जो पुर्खाहरुले लडे
बिना अर्थ
उ जोशमा उर्फन्छ
झम्टन्छ
एक नारी माथि
उनि चुपचाप सहिरहन्छिन्
उनलाई थाहा छ
बिजय उनैको हो ।
केवल एक छिन
चुपचाप सहिदिदा
के भो र ?
निमेष भरमै उ
थाक्ने छ
शिथिल शिथिल हुनेछ
हार्ने छ
आपनो बाटो लाग्ने छ
लाजले
घिनले
पश्चतापले
त्यति नभए
खल्ति रितिएर ।
उ हार्दै छ जीवनबाटै,
रोग भित्राएर
पैसा रित्याएर
परिवार रुवाएर
परिवर्तनशिल जविन नचिन्दा
अन्तत रोइरहेछ
जिर्ण र क्षिण बनेर
यो युद्ध चलिरहेछ
मलेशिया र खाडी क्षेत्र तिर ।

यू ए इ

केहि तिता केहि मिठा


तिलक थापा

केहि तिता केहि मिठा
बितायौं हामीले पलहरु...
अनौठो थियो साइनो हाम्रो
थिएन कुनै छलहरु...

मैले गरे मायाका कुरा
तिम्ले पनि गर्यौ...
सजाँउदै सुन्दर सपनाहरु
कैयो नदि संगै तर्यौ...

थाहै नपाइ हामि बिच,
ठुलो आधि चल्यो...
फुल्नै नपाई हाम्रो माया,
ओइली भुइमा झर्यो...

मुटु जोडने दैव पनि
हामी बीच तगारो भयो...
दुइ आत्माको मिलन बिच
टक्क उभि छुटाइ दियो...

Tuesday, November 20, 2007

मेरो बालापन

बी जे बान्तवा

ती हिमश्रृङखलाले दिएका उज्याला किरणहरु
भुल्नै नसक्ने मेरा बालककालका दिनहरु
मेघका गर्जाइँसंगै बितेका ति मेरा गोठालेदिनहरु
बादलका घुम्टोभित्र रमेका प्रितहरु
सानोसंसारको एक कुनामा हिंजो नितान्त म हराउथे
जती पिर ब्यथा भये पनि आफै म रमाउथे
खोलानालाको सुस्केरा सँगै आँफै म गीत गुनगुनाउथे
गाँउघर को मेलापात जाँदा स्वर्णिम आनन्द म पाउँथे
चाडबाड देउशी भैलो रमाइला थिए दिनहरु
अब कहिले पाउने बितेका ति दिनहरु
बालापन रहेछ हाम्रो मिठो सुबाशलिने
बगैचाको फुलसरी छिनमै बितिजाने।

ठुलोदुम्मा-९
भोजपुर, कोशी, नेपाल