Wednesday, October 31, 2007

नदी किनारा


देवेन्द्र खेरेस

कुन वगैचा
कुन वनजंगल
र कुन पाखापर्वतबाट बगायो
त्यो असती बाढीले मलाई ।

त्यै बाडीमा बगेर
हाड र छालाहरु खिइएछ
नशाहरु खुम्चिएछ
र बाढीसँगै बगेर
जान नसकेपछि
आधा बाटैमा छेउलागेको
नदि किनारा हुँ म ।

त्यै वगैचामा फल्ने-फुल्ने वैषहरु
त्यै वनजंगलमा डुल्ने-घुम्ने जोसजाँगरहरु
त्यै पाखापर्वतमा हास्ने-खेल्ने रहरहरु
त्यै असती बाढीले गर्दा
भलै-भल
पहिरै-पहिरो
र छाँगाबाट खसेर
फुटेर
चिराचिरा परेको अस्तित्व
टुक्रिएर जोडिन नसकेको
खिइएर चम्किन नसकेको
यतिवेला
हराउनलाई तयार
बिलाउनलाई तयार
र नदिमा पानी भएर
बग्न नसक्नुको पीडा
थप्लाभरि बोकेर
गन्तब्यको खोजिमा हिँडेको यायावर

अब
आफ्नै थानवास खोजेर/रोजेर
जाने सुर चढेकोछ
साच्चै सुर चढेकोछ
कहा कहा जाउजस्तो
के के गरौजस्तो
र कतै बाटो खोजेर
हिँडि हालौजस्तो सुर चढेकोछ
फेरि फेरि तल नझर्नेगरि
फेरि फेरि तल नपर्नेगरि
फेरि फेरि तल किचिएर नमर्नेगरि
उभै उभै जाने सुर चढेकोछ
मैले टेकेको माटो
मैले हिडेको बाटो
मैले हेरेको दृष्य
मैले वाँचेको जीवन
मैले रोजेको विचार
सप्पै सप्पैमा सुर चढेकोछ ।

यै नदिको जघार तर्दै
माथि-माचि पुगेर
हिउ झरिबस्ने
पहाडको मुन्तिर
झुलो चक्मक्मा
दल्सिन् ढुङ्गा ठोसेर
झिल्का उडाउदै
आगो वाल्ने सुरचढेकोछ
पुरानो ठुटाहरु ढालेर
पुरानो झिक्राहरु भाचेर
पुरानो पातहरु टिपेर
पुरानो बोक्राहरु ताछेर
पुरानो जराहरु उखेलेर
र, अझै पनि भएन भने
काचो काठमा आगोवालेर
वर्षौ देखिको जाडो छल्ने सुरचढेकोछ ।

विचारको छेप्याश्रले
कन्चटमा ताकेपछि
पढ्किनलाई तयार
यै किनारमा
यहिनेर हेर्छु
पानीमा सल्बलाउने
माछाहरुको बथानझै
नशा-नशामा वग्ने
तातो रगत
घरि-घरिनै उम्लिने गर्छ ।
र, यै नदिमा
तल र माथि
माथि र तल
र पर-परसम्म
गोतामारेर संसार फैलाउने
सामुन्द्रिक प्राणीझै
म आफ्नो संसार फैलाउन किन सकिन ?
कि म प्राणी हैन ?
कि हैन म प्राणी ?
कि प्राणी मध्यको चेतन्शिल प्राणी हैन म ?

अब
किनारा भएर बस्नुको अर्थ छैन
अब खिइसकेको हाड र छालाहरु
सेकतापगर्दै
हिसाब गर्नुछ
भाचिएको करङ्गहरु गनेर
बिर्सिएको सपनाहरु खोज्दै
फरि अर्को सपना देख्नुछ
खोला
नदि
समुद्र
र, सागर महासागरदेखि
किनारालागेको म
अब सपना देख्नुछ
अर्को - समयको लागि
अर्को - चेतनाको लागि
अर्को - मानिसको लागि ।

हाल - हंगकंग

अभाबको जिन्दगी


दिलिप योन्जन

मिरमिरेमा जब किरण छरिन्छ
भोकको रापले खडेरीले झै पोल्छ
अलास तलास पसिना सरि ब्युझन्छु
दिन भरिको घामले डढेर कक्रे झै
दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु
अभाबले अतालिएको जन्तु जस्तै
रोगले पाकेर गनाए जस्तै
खालि पेट मातेको मान्छे जस्तै
हावा, हुरि, झरी, बादलमा कति डुबे
छट्पटिन्छु रात भर खाली भुईमा
बरदान माग्दा काटेर फालेको भाले जस्तै

D. F. mexico

Tuesday, October 30, 2007

गजल


बसन्‍त मोहन अधिकारी

निष्‍ठुरी भनि नभनि दिनु
मेरो लाश उपहार लिनु ।

बगैंचाको सुंगन्‍ध फुल यो
बन्‍दैछ विवशताले सिनु ।

सकिन मैले जिउँन यहाँ
प्रदेशीको यहि मेरो चिनु ।

म आकश तिमी धर्ति भयौ
अब भो हाम्रो सम्‍बन्‍ध छिनु ।

ईश्‍वरको ईच्‍छा मेरो अन्‍त
तिम्रो बसन्‍त भो लाश बिनु ।

यु ए इ
nepalsguide@yahoo.com

पोस्टमार्टम रिपोर्ट


चन्द्र गुरुङ्ग

यो लास
त्यही मान्छेको हो ।
प्रत्येक तोडफोडमा
जो बोक्दै विदेशी भाला र तलबार
खोज्थ्यो आफ्नोई दाज्यु-भाईका स्वदेशी टाउकाहरु
र हिंड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरु
कुनै निरंकुश शासकलाई अग्रगमनकारी भन्दै
विष्णुको विशुद्घ अवतार मान्दै
दरबाररुपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।

यो लास
त्यही मान्छेको हो ।
'नेपाल बन्द'को मौका छोपेर
जो आफ्नोई देशलाई
सडकहरुमा टायर बनाएर बाल्थ्यो,
र्साईनो गाँस्ने पुलहरु भत्काएर
थुप्रै मितेरी गाउँहरुलाई अलग पाथ्र्यो
र तोडेर टेलिफोनका निर्दोष टावरहरु
फोडेर बिजुलीको शक्तिशाली स्टेशनहरु
सुनसान बनाउँथ्यो असंख्य टोलबस्तीहरु ।

यो लास
त्यही मान्छेको हो ।
जो काटमारहरुमा उत्साहपूर्वक सामेल हुन्थ्यो
र चोरी-डकैतीहरु त
उसको लागि सामान्य दैनिकी बन्थ्यो ।
तर दुर्भाग्यवश
ऊ, मारिएछ यसपालीको हुलदंगामा ।
आज, उसको लासलाई चिरफार गरेर
डाक्टरहरुले तयार पारे एउटा पोस्टमार्टम रिपोर्ट
कि, " उसको मुटुभित्र देशको नक्सा नै थिएन । "

रक्त चन्दन


टंक वनेम

जराहरु मक्किएर
काण्डहरु नफले पछि
त्यहि रुखका पातहरु
त्यहि रुखका डाँठहरु
त्यहि रुखका काठहरु
अर्को शब्दमा-
रगत जस्तै रातो देखिने
बाशनादार रक्त चन्दन
अरनिको राजमार्ग हुँदै
खासा पुग्छ अचेल

साट्छ अराजकताको भाउ ।
त्यहि भाउको रङ्ले
राजतन्त्रको रङ् पोत्छ

उर्माछ गणतन्त्र भूमीमा
क्याकटसका काँडाहरु
घोंच्न थाल्छ
जनताको मुटु कलेजो
रातो रगत र
रक्त चन्दनमा फरक छैना भने
किन हुदैछ ?
रगतको रातो ब्यापार
किन मौलाई रहेछ ?
भ्रष्टाचारको कालो झयाङ ?
किन चुली रहेछ ?
क्रय-विक्रयको माना पाथी ?
प्रशोधन भएर सुटुक्कै
किन दलिन्छ ?
सुकुमारी गालामा
रगत जस्तै रातो
रक्त चन्दन ?

वेष्टमिडल्याण्ड् ।
tankawanem@yahoo.co.uk

नृशंस पर्खालहरू


गीता त्रिपाठी

जिस्कायौ तिमीले
सरसर बतासलाई
जिस्कायौ तिमीले
धपधप आगोलाई

जुरुक्क उठेर बतासले
आगोको कान फुक्यो
बतास- बतासमात्रै रहेन अब
आगो- आगोमात्रै रहेन अब
हुरी र डँढेलोलाई
अब तिमी कतिबेर जिस्काउन सक्छौ ?

जत्ति घेर्नुछ- घेर
जत्ति अग्ल्याउनुछ-अग्ल्याऊ
अब सुरक्षित छैनौ तिमी
गर्लम्म ढल्दैछन्
तिम्रैसामु
तिमीले ठड्याएका
नृशंस पर्खालहरू ।

बैशाख ७, २०६३

Sunday, October 28, 2007

साँकेतिक शब्द कबिता

केदार "सँङ्केत"


साँकेतिक भाषामा
कबिताहरुले दिएको सँकेत
जीबन दर्शन
सधै नयां कुराको आयाम
आवस्सेक समसामयिक निती
भबिस्ये सङ्कल्प
इटाबुने जस्तै
सङ्ररचना गर्छ् रच्छ
*
बिसंगती,आबेगआलोचना
सुच्म द्र्स्ती गौचर
प्रतेक बिसयको
क्लिस्ट भाबनामा सम्बोधन् गर्दै
बिसंगतीको
अकबरे खुर्सानी बाँड्ने
जनता जनार्दनका
अतेन्तै सस्तो
अनि सरस माध्धेम हो यो
* *
शब्दका सोच्छ भाबनामा तैरिएर
शब्दहरुलाई चयन गर्दै
बेबहारिकताको खाँचो औल्याउने
समाज राष्ट्र र बिश्व जगाउने
शुद्द तरको स्वाद शब्द हो यो /
* * *
चौबाटो सडकको
रातो पहेलो र निलो
अटो बत्तिले झै
एक पछि अर्कोलाई बाटो दिदै
सबैलाई गन्तब्यमा पुर्याए जस्तै
समिश्रण शब्द्को
अनुबम हो
साँङ्केतिक सँङ्केतको
शब्द् कबिताहरु !!!
-
kirankabi@hotmail.com

मनको चङ्गा


इश्वर चाम्लिंग

फुलको रङ्ग चोरी यो मनको चङ्गा
उडी छोऊ ताराजुन भन्छ म सँग

आखा भित्र भित्रै हराइ रन्छ मन
गुरास झै रातै रंगाईदिउ की बन
गुरासकै रङ्ग चोरी यो मनको गंगा
बग्दै सागर पुग्छु आजै भन्छ म सँग

चरा झै माथी माथी उडु भन्छ मन
उड्दै हिमाल पारी पनि पुगु भन्छ तन
हिमालकै हिँउ चोरी यो मनको चङ्गा
उडी छोऊ ताराजुन भन्छ म सँग

Tuesday, October 23, 2007

फूल, कविता र म


दुर्गालाल श्रेष्ठ

फूल हेर्दै गर्दा कैले
कस्तो-कस्तो हुन्छ,
कता-कता भित्र मलाई
कविताले छुन्छ !


पातमाथि पात न हो
के छ उसको तन,
त्यसैले नै कसो-कसो
के के हुन्छ मन !


हावा देख्यो कि त काम्यो
कति कमजोर,
तर त्यसको कम्पनले
पर्छ मलाई तोड !


यस्तो किन हुन्छ अरे
मलाई थाहा छैन,
कस्तो हुन्छ त्यो कविता
कैल्यै देख्या हैन !


२०५९ वैशाख ६

औलाहरु चुमेर


बैरागी काँइलाका

औलाहरु चुमेर औला भरि सलाम !
मेरो हजुरलाई आँखाभरी सलाम !

के बिराएँ - नजरले चुमे
ती फूल जो ओठमा फुले ।
के बिराएँ - हत्केलामा थापे
ती केश जो लाजमा झुके !
माने, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे !

औलाहरु चुमेर औलाभरि सलाम !
मेरो हजुरलाई आँखाभरि सलाम !

के बिराएँ - सपनामा आएँ
सपना र विपना पगाले
के बिराएँ - फूलमा गाले
सीमाना र साध नै पगाले !
माने कि मेरो हजुरलाई सपनामा
रातभरि नींद लागेन रे !

मातेको सुरमा इतिहासको रचना


टंक वनेम

अराजकताको कालो ख्याकले
देश तर्शाइ रहेको बेला
ए... देशका नेताहरु हो
ए... देशका पेशागत बुद्धिजीबीहरु हो
ए... लेखक पत्रकारहरु हो
अधिकार प्रतिबन्ध भएको बेला
मौलिक हक निलम्वन भएको बेला
आउ
बरु एकैछिन
बत्तिस पुत्तलिको भट्टपिसलमा
मज्जाले तोङबा तानौं ।


निषेधाज्ञा लागेपछि
सार्बजनिक जीवनको गोरेटोमा
कानुनी गोली खाइने भए पछि
ए... ब्यापारीहरु हो
ए... पर्याटन ब्याबशायीहरु हो
ए... बिद्यार्थीहरु हो
आउ
सुरक्षित ठाउ"को खोजी गरौं
देवताको पालामा सोमरस भनिने
आधुनिक तोङबा तानौं ।


प्रजातन्त्र सन्केको बेला
मन्दिर,मस्जिद, र शिक्षालय
सडक, पाखा पखेराभन्दा
बत्तिस पुतलिको भट्टीपसल नै
धैरै सुरक्षित छ
आउ.....
आधुनिक संस्कृतिको जयजयकार गदै
मरिरहेको मुलुकको नाममा
एउटा शोक उत्सव मनाऔं
हो.....
साच्चिकै बीर गोरखा हौं भने
मातेकै सुरमा- अब एउटा नया
इतिहासको रचना गरौ ।


Monday, October 15, 2007

दसै



विक्रम सुब्बा

एसपल्ट पनि ऊ त
कतैबाट डुल्दै डुल्दै आएको थियो ....
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
जजसका जहान बालबच्चा आफूसँगै थिए
तिनको आँगन सिकुवा र घरभित्रैसम्म
खुशीका तरंगहरु हुल्दै हुल्दै आएको थियो ...
कतैबाट डुल्दै डुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...

भुराभुरीहरुको-
वर्षदिनपछि फेरेको रङ्गीचङ्गी नानामा
चाडको निम्ति जोरजाम गरेको खानामा
असार साउनमा माना लगानी गर्ने
अनि मंसिरको आँगनमा मुरी अन्न भर्ने
अनिकालमा सघाउनेजस्तो भएर
सिङ्गै मंसिर स्वात्तै खाएर पनि नअघाउनेजस्तो भएर
एसपल्ट पनि ऊ त?
कतैबाट डुल्दैडुल्दै आएको थियो ...
कतैबाट झुल्दैझुल्दै आएको थियो ...

नानीहरुले जिस्केर
स-स्याना हातले इसारा गरेर बोलाइदिनाले
बाबुआमाको टाउको टेक्दैटेक्दै आएको थियो ...
डढी सकेको घरघडेरीमा बसेर भए पनि
सुन्दर भविष्यको सपना देख्नेहरुलाई
र्सवस्व लुटिइसकेपछि पनि
पक्षीका भुक्त उडानको गीत लेख्नेहरुलाई
एसपल्ट पनि भेजोले ?
कति धार्नी दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...
व्याउला व्याउली र लाशहरु सिगार्ने बस्त्र
एक्कै ठाउँमा सजाएर बसेको
केटीहरुको सपनाजस्तै रङ्गीन दोकानले पनि
कुन रङ्गको दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...
घोडा छाँदिसकेको वीर योद्धालाई क्रान्तिले जस्तै कालो रात्रीले पनि-
कुन हतियारको दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...
अलिकति धर्तीबाट माटो सापट गरेर
मकै धान उमार्ने टपरीले पनि
कति बोट जमाराको दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...

जुनसुकै डिजाइनको लुगा लगाए पनि
कात्रो नै बेरेको जस्तो देखिने जिउलाई
कुन रङको दसैँले सिगार्नु र ?
खराप मानिसको निम्ति दरबान भएर
किसिमकिसिमका हातहतियारहरु
कालो रात्रीमा ढुक्कै परेड खेल्दै छन्
इतिहासको निम्ति सैनिक बन्न चाहनेले
कुन हतियारको दसैँ छानेर उठाउनु र ?
साथीहरुलाई मलसाँप्राले छिनाएपछि
ज्यान बचाएर ?
छक्क परेका परेवाजस्ता कानहरु छन्
नाथे भर्लाको टपरीमा उम्रिएका जमराहरु
कुन कानमा सिउरिनु र ?
जतातिरबाट सम्झे पनि
कामै नलाग्ने पलाँसको फूलजस्तो भएर यसपल्ट पनि ऊ त ?
कतैबाट फुल्दै फुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...

बच्चाहरुको चिन्ताले खुम्चिएको
छालाको निधारमा-आशीवार्दलाई ओथ्रा बस्न मनाही गरिदिए
मेरो छातीमा तोप पड्काएर हर्कबर्डाई गर्ने
उसको गुरु-योजना च्यातेर छरिदिए
ललाउँदै फकाउँदै भन्न त ऊ
'तिम्रो ओठलाई मुस्कानको उपहार ल्याको छु' भन्थ्यो
तर ओठै बलात्कृत होला भनेर ?
घृणाका थुकहरु ओठैभरि तैनाथ गरिदिए
किनभने, जतातिरबाट सम्झे पनि
कामै नलाग्ने उन्युको फूलजस्तो भएर
एसपल्ट पनि ऊ त
कतैबाट फुल्दै फुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
कतैबाट डुल्दै डुल्दै आएको थियो ...

-
२०४०, मंसिर १८ कीर्तिपुर

नेताहरुलाई

मनरुप नेप्च्युन


आजभोलि
तपाईंहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?
बिचलित जस्तो
देखिने स्वाभिमान
निरीह आकाशमा
उड्न खोज्दैछ ।
तपाईबाट
विदा पाएर हो कि ?
तर
तपाईलाई थाहा छ कि छैन ?
उसको सुनियोजित
आकाशमार्ग चील र
गिद्धहरुको बाटोमा पर्दछ ।
किन कि,
आकाश अहिले
चील र गिद्धहरुको घेरामा छ ।
आजभोलि
तपाईहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?
मानिसको मन, मस्तिष्क त
एकाधिकारवाला कुर्सी हो
जहाँ एउटा मात्र रहन्छ ।
स्वाभिमान या अभिमान ।
स्थापित स्वाभिमान
चर्किन थाल्छ
अभिमानको चापले ।
आजभोलि
तपाईहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?

कविताको सम्झनामा घाउ बल्झेछ

डा. मधुकृष्ण श्रेष्ठ ' माधुर्य'


सौन्दर्य की प्रतिमा !
कविता !
मेरी प्रेयसी !
तिमी त मभित्रै छ्यौ
त्यसैले त खोज्ने गर्दिनँ
कतै शब्दहरूमा

मुटुभित्रै छ्यौ
त्यसैले त देख्दिनँ
कतै छन्दहरूमा
श्वासप्रश्वासमै छ्यौ
त्यसैले त भेट्दिनँ
कतै भावहरूमा

आउन त आयौ
गहिराइहरूमा
आयौ तिमी किन ?
मान्छे झैँ अनायास
स्वार्थ लिएर आयौ ?
भोगाइहरूसँगै
एकान्त समयमा
आफूलाई पस्कन आयौ
कल्पनाको सौन्दर्य बनेर
जीवनको पर्याय बनेर
त्यसैले त माया गर्छु चुम्बन बर्साउछु
रातको तारा गन्दै अङ्कमालमा ममता दर्साउछु

एकैछिन छुट्टीनु पर्दा तिमीसँग आज
मध्याहृनको दिन पनि लाग्न थाल्यो साँझ
सम्झनाको घाउ मुटुमा चसक्क बल्झेछ
सपनीको त्यान्द्रोमा समेत पिरती अल्झेछ

प्रेयसी !
कविता !
मान्छे तिमीजस्तो सुन्दर छैन
खुशी, सुखी वा आनन्दित छैन
मान्छेको जीवनमा सदाबहार वसन्त बाँच्न सक्तैन
चाहेर पनि सुख बाँच्न सक्तैन
सुख त सन्तोषमा बाँच्छ
कल्पनामा बाँच्छ
रहरमा बाँच्छ
सम्झौतामा बाँच्छ

बरु केही अभावहरूका बेलाहरूमा
अन्तिम घडीका मेलाहरूमा
मान्छेको सहारा, दुःख हुन सक्छ
मान्छेको आफ्नो भन्नु पीडा हुन सक्छ
पीडाको मात लागेर ढुनमुनिएको बेला
सङ्कीर्ण ब्रहृमाण्डमा कवि नअटेको बेला
तिम्रो स्वर्गीय पुष्पमार्गमा भौँतारिन देऊ
कोमल मुटुभित्र तिम्रो एउटै सहारा देऊ
म तिम्रो लागि तिमीसँगै बाँच्न चाहन्छु
तिम्रै बोली, मायाप्रीति साँच्न चाहन्छु !

Thursday, October 11, 2007

जङ्गबहादुर र समय-४


रोशन सुवेदी

जङ्गबहादुर
बस्तीमा आगो फ्याकिदिन्छ र
चिसोको उद्घोषण गर्छ
जङ्गबहादुर
हिउँ फ्याकिदिन्छ र
तातोको डंका पिट्छ ।


भोक फ्याँकिदिन्छ र
भात खान अनुरोध गर्छ
छानो भत्काउँछ र
बास बस्न बिन्ति गर्छ


भुस्याहा कुकुर मारेझैँ
मान्छे भकाभकी लाशमा बेरिदा
जङ्गबहादुरहरू कुनै ककटेल पार्टीमा
भावबिहृवल आँशुको अभिनय गर्छ
र संवेदनाका कोरा शब्द उमार्छ


जङ्गबहादुर
निलर्ज्ज दाँत देखाएर
गोहीका आँशु झार्छ
अधिकारका कुरा गर्छ
मानवताका डिङ्ग हाँक्छ
अनि आश्वासनको पोको बोकाएर
आफ्नो बाटो लाग्छ


जङ्गबहादुरलाई मीठो बोल्न आउँछ
जङ्गबहादरुलाई समय खल्ल्तीमा राख्न आउँछ
त्यसैले जङ्गबहादुर एउटा बोल्छ
अनि अर्कै काम गर्छ संधैझैँ ।

-

रचना समय - २०५८ बि.स.
साहित्य डट कम -साहित्यिक वेभ पत्रिका, अगष्ट २००७ मा प्रकाशित
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४

एउटा अर्को घाम


मिजास तेम्वे

शिसीरे जाडो,
क्रमश चिसो साँझको आक्रमण
त्यो युद्दबन्दी जस्लाई समयको
घृणा र भर्सनाले समातेका छन् ।
एउटा सुनसान कक्षमा एक्लोपन् संग निसासिरहेको छ ।
एउटा सानो चट्टाने ठाँऊ पएर पनि
उस्को त्यो बिश्वाशमा जादुमय आकर्षा छ,
एउटा अर्को बिराट आशाको घाम
फेरि एउटा असत्य बिहानी
लाहुरे प्रेमी भएर तल- तल
अझ तल..........
गिरिरहेको छ ।
अनिष्टको पुनराबृती हुनु हुन्न फेरि,
अब जरै देखि उखेल्नु पर्छ
ती बरफ झैं जमेका भित्ताहरुलाई
र...
मौनतालाई
अब तोड्नु पर्छ ती हातहरुलाई
जस्ले तिम्रा हरेक बिहानीहरुको हत्या गरेका छन् ।

Tuesday, October 9, 2007

जीवन


टंक सम्वाहाम्फे

कुल्चन नपाउदै
समाधानका गोरेटाहरु
विनासित्ती
पछ्याएको पछ्याएकै गर्छन्
हुलका हुल समस्याहरुले
कहिले भाग्न खोज्छु
छक्याउन सकिन्छ कि भनेर
कहिले भिड्न खोज्छु
जित्न सकिन्छ कि भनेर
तर सोचे जस्तै
काहा पराजित गर्न सकिंदो रहेछ र समस्यालाई ?
वरु उल्टै हात लागेका
सफलताहरु
अपहरीत गरी दिन्छन्
त्यहि अपहरणकारी समस्याहरुको जमातले
र एकाएक भत्काउन थाल्छन्
मेरा सुरक्षाका पर्खालहरु
मानौ आजभोलि
मेरो जीवन
समस्याको घनाघोर जंगलमा
फसेको छ
किनकी हिड्दा
पाईलै पिच्छे ठाकिन थालेकाछन्
समस्याका ढुङ्गाहरु
र पाईलै पिच्छे विज्न थालेकाछन्
समस्याका काडाहरु
अनि उकाली चढेका
मेरा लक्ष्यहरु
समस्याको वोझले
थिचिएर हो वा
मेरै असफलताले हो ?
माथिबाट तल तल
झरी रहन्छन् वारम्वार
र्झनबाट थाम्न खोज्छु
तर के लाग्दो रहेछ र ?
म एक्लो हुट्टीटिउले
सागर थाम्न खोज्दा
तलबाट झन
व्यवधानको आगो
पोल्न थाले पछि
समस्याकुण्डमा
सपनाहरु
आफ्नै आखा अगाडी
जलाउनु पर्छ भाग्यलाई दोस्दै
मलाई लाग्छ जीवन
यसरी नै वाञ्चित
भएको हुनु पर्छ
अनेकौ उपायहरुवाट
वेजोडले चल्ने समस्याको हुरी
छल्न नसक्दा
गन्तव्यका पुलहरु
भत्कि नै त हाल्छन्
मनमा बिस्मत लिएर के गर्नु ?
आखिर हुने कुरा भै हाल्छ
तै पनि जीउनुको काहाली लाग्दो भीरमा
विकल्पहरु खोज्दै
सफलताका सगरमाथाहरु
चढ्न खोज्नु
हरेक जिन्दगीको इराधा
तर काहा छन् र ?
सोचे जस्तै भने जस्तै सजिला
बाटाहरु / गोरेटाहरु
वरु परिस्थितीको
विषम आधीले
यात्रालाई अनेकौ मोडमा मोडिदिन्छ
अनि असफलताको तुवालोले
नदेखिने गरी छोपीदिन्छ
रोजेका स्पष्ट
बाटाहरु / गोरेटाहरु
र अन्योलमा पर्नु पर्छ कहिले कहि
तर पनि विश्वासको
दरिलो वैशाखी टेकेर
उग्लिरहन्छु निरन्तर निरन्तर
माथि माथि
जीन्दगीको
सैलुङ्गे लेकतिर
पसीना पुछ्दै
हर दिन
हर रात
त्यहि सफलताहरुको खातिर
यी यसरी लडिरहेछु
जीन्दगीको
महायुद्घ
त्यहि सफलताहरुको खातिर

जङ्गबहादुर र समय-१


रोशन सुवेदी


जङ्गबहादुर
र समय
सँगसँगै
वर-पर
लठ्ठीएका छन्
अगिपछि
पछि-अगि
हिड्छन् -लुखुर लुखुर

कहिले समय
जङ्गबहादुर पछारेर
बाटो काट्छ

कहिले जङ्गबहादुर
समय पछारेर
अगाडि बढ्छ

भन्छन् मान्छे हर्रुर्
इतिहासका पानाहरूमा
जङ्गबहादुर मरिसकेको छ
षडयन्त्रको माला चुँडिएर
झरिसकेको छ
समयले किचिसकेको थोत्रो किताब
धुलोले पुरिसकेका ढलौटका खिया परेका आकृतिहरू
अब ऊ छैन्
भ्रम शंका पनि ऊ सँगै मरिसकेका छन्

तर अझै कति मान्छेहरू
देख्यौं भन्छन्-
जङ्गबहादुरहरू हिडिरहेको
जङ्गबहादुरहरू उठिरहेको
जङ्गबहादुरहरू चुरीफुरी गरिरहेको ।
-
साभार - राजधानी दैनिक, २०५८
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय
------------------------------------------------------------------------------------------------------------
नोट - कविता कुसुम व्लगसाइटमा पाठकहरुको लागि जङ्गबहादुर र समय शिर्षक कविता श्रृखंलाबद्ध कवि रोशन सुवेदीका कविताहरू प्रकाशित हुदै आएकाछन् र प्रकाशित हुदै जानेछन - सम्पादक

Monday, October 8, 2007

टिकेहरुलाई टिकाको साईत

रवि रिमाल


ज्योतिस वन्धुहरु
देशमा लोकतन्त्र पनि पुरानो भई सक्यो ।
गणतन्त्रको लहर चलिसक्यो
टिकाको साईत पनि हेर्न छाडिदिनुस्
सदियौ पुरानो परम्परा पनि छाडिदिनोस्
गिरिजा बाबुहरुलाई सोध्नोस् ।
माधव जि हरुसंग राय लिनोस् ।
प्रचण्ड जि हरुसंग समय लिनोस् ।
तब साईत निकाल्नोस् ।

आशिष पनि गणतान्त्रिकरण गर्नोस् ।
ज्योतिस वन्धुहरु
आयु द्रोण सुते .........................।
जयन्ती मंगलाकाली ..................।
पुराना देवि देवता
अनि
राजा महाराजाको बखान बन्द गर्नुस् ।
नया गणतान्त्रिक नेताहरुको जय जय कार गर्नुस् ।
यसमा पनि नया पन थप्नुस् ।
तपाईको पुरानो घडि र पलाको हिसाव किताव
तौर तरिका सब छाड्नुस् ।
सारा विश्व नै तारिख मा जागि सक्यो ।
अब नया नेपाल लाई तिथि र मितिमा फेरी नजाक्नुस् ।
ज्योतिस वन्धुहरु
चाडै साईत निकाल्नोस्

तपाई अलमल्ल मा पर्नु भो रनभुल्लमा पर्नु भो ।
तपाई ढुक्क हुनुहोस् ।
तपाई आफैले आफैलाई गर्व गर्नुस् ।
तपाई नेताको नाडी छाम्न र चिना हेर्न छाडिदिनोस् ।
दौरा सुरुवाल र कोट अनि टोपीको
आवस्यकता छ भनेर भन्न पनि छाडिदिनोस् ।
किनकी सबै विदेशीको प्रवेश भई सकेको छ ।
यो दशैमा टाई र सुट टल्कि सकेको छ ।
तपाईले निकालेको घटस्थापनाको र्साईतमा
प्रचण्डलाई निम्तो पठाउनुस्
फुलपातीको साईतमा
माधव जि लाई निम्तो पठाउनुस्
बाकी रह्यो टिकाको साईत जुनमा
गिरिजालाई नै निम्तो पठाउनुस् ।
ज्योतिस वन्धुहरु

यदि तपाईले यसो गर्नु भएन भने ।
तपाई पनि निर्वासन मा जानु पर्ने हुन्छ ।
होस पुर्याउनुस ज्योतिस वन्धुहरु
जनतालाई जे को भए पनि साइत चाडै चाहिएको छ ।
संविधान सभाको होस वा दशैको टिकाको
अह
तपाई यहा बसेर निकाल्न सक्नुहुन्न
सारा देश वासीलाई थाहा छ ।
मातृभूमि प्यारो हुनेहरुलाई थाहा छ
त्यसैले ज्योतिस वन्धुहरु
छिमेकी ज्योतिस हरु बोलाएर राय सल्लाह लिनुस्
फेरी नडराउनुस् यो अहिले सम्म चलेको रित हो ।
भरखरै छलफल भएको कुरा हो निचोड हो ।
जे गर्नुस चाडै चाडै गर्नुस् ।
हामी सबै टिकेहरुलाई टिकाको साईत चाहिएको छ ।
ज्योतिस वन्धुहरु चाडै निकाल्नुस्

Saturday, October 6, 2007

कालो पट्टी


रंगलाल रिमाल 'विजय'

त्यसवेला दिवा संसारमा
कालो पर्दा लागेको मात्र हुन्थ्यो
चेतनसिल आत्माहरुले हल्का आरामको
महसुस गरिरहेका हुन्थे
तब सलबलाउथे
आत्माहरुको
कण्ठ निचोर्ने पंजाहरु
दृष्टि धुमिल्याउने विशाक्त थोपाहरु ।


ज्यादै अध्यारोले ढाक्थ्यो त्यसबेला
न,कतै अन्धकारको पर्दा च्यातेर
सुनौलो बिहान चियाउन दिईन्थ्यो
न,त आफ्नै पखेरु ताराहरुको
नजर चुम्न
अस्थिरपञ्जरहरु ब्याकुलताको भयावह
सागरमा तैरिरहेका हुन्थे
मांसापेशीको एउटा अंश खोज्न
अस्थिरपञ्जरहरु यातनाको ज्वालामा
दन्किरहेका हुन्थे
आफ्नो गुमेको संसार
चियाउने ज्योती खोज्न
तर
मांसापेशी सगै उसको
संसार चियाउने ज्योती पनि
ङ्खयात्त कुहिएर झरिसकेको छ
औंसा परिसकेको छ ।


एकहुल अद्बैसेंहरुको हत्केलाहरुमा
कालोपट्टीले ज्योतीपुञ्जका
नानीहरुमा कस्सिईने
संस्कृतिको विकास भयो
संस्कृति आफैमा जडता पनि थिएन
तर कालोपट्टहिरु
संस्कृतिमा खरानी घसेर
घुस्न थाले
मांसापेशीका ज्योतीपुञ्जहरुमा
कालापट्टहिरुका कायापलट
साम्राज्यको ज्वार चल्यो
अन्ततः सुन्दर संसारको परिकल्पनामा
उत्रेको जीवात्मारुपी मांसापेशीहरुको
अस्तित्व,
अस्थिरपञ्जरमा परिणत भईछाड्यो
कालोपट्टहिरुको संस्कृति
भयावह भएर प्रदुर्भाव भईछाड्यो ।


अस्थिरपञ्जरहरु व्याकुल सागरको
किनारमा आफ्नो गुमेको
मांसापेशी र ज्योती र्फकने आशामा
आशावान रहिरहे
मुक्त संसारको क्षितिज चियाईरहे
तर असम्भव थियो
एकता विनाको त्यो नजर
आफैमा निर्रथक थियो
उर्जा विहिन थियो ।


त्यसैले त मांसापेशीहरुका
अंश, अंशका झुण्डहरु
व्याकुल सागरको उपल्लो छेउमा
दमन विरुद्धको प्रतिरोधमा
रेफिरी हुन तयार पारिदियो
कालो पट्टीका ताण्डव नृत्यहरुले ।
कालो, निष्पट्ट र भयावह व्याकुल सागर
एकाएक प्रतिरोध सागरमा
परिणत हुदैछ
पल्लो छेउको एकान्त कुनावाट
कालो पट्टीका विरुद्ध आवाजहरु
बुलन्द हुदैछन
होसियार कालोपट्टहिरु
एकदिन तिम्रो पराजय अवश्य छ
एकदिन निर्दोष मुक्त कण्ठ र ज्योतीहरुले
संसारमा नौलो गीत गाउनेछन
सुनौलो किरण र्छर्नेछन् ।


त्यो दिन अवश्य आउनेछ
मुक्त कण्ठले धित मारेर जनमुक्तिका
गीतहरु गुन्जाईरहनेछन्
कविताहरु वाचिरहनेछन्
कथाहरु भट्टयाईरहनेछन्
ज्योतीहरुले आफ्नो तेज
धर्तीभरि छरपट्ट पार्नेछन्
छरपट्ट सुनौला किरण विचमा
मुक्त कण्ठवाट प्रष्फुटित
जनमुक्तिका गीतसंगै
एउटी आमाको आसुमा हासो थपिनेछ
एउटी विधुवाको उदास मुहारमा
निखार आउनेछ
खच्चड झै भारी बोकेर थकित भरियाका
चरचरी फुटेका पैतालामा
मलम लाग्नेछ
जुन दिन कालोपट्टहिरुलाई
सेतो कात्रोमा बेरेर घाटहरुमा जलाईनेछ
त्यो दिन
विश्व र्सवहारा वर्गको विजयत्सवको
दिन हुनेछ
अवश्य हुनेछ ।

दरिद्रहरु

रुसाहाङ्ग चेम्जोङ्ग

कलम रोएको बेला
अनगिन्ती आँशुका थोपाहरु
शागर बनेर उर्लिन्छ
आँखाबाट खसेको मोतीमूल्य
मूल्यवान गेडीहरु
त्यसबेला तिम्रो हाँसोको खित्काले
मेरो मोती मूल्यवान आँशुहरु
छिनमै अमूल्यवान बन्दछ
म दाँया र्फकन्छु बाँया र्फकन्छु
तल माथि चारैतिर हेर्छु
आकाशमा लहरै चाँद थुगाहरु
मेरो दृष्यलोकन गर्छन्
म तिर निहुरेर जिस्काउने गर्छन्
म छक्क पर्दै सोध्छु पालममा
हाक्पारेमा, मून्धुममा
किन जिस्काउछौ मलाई ?
के म तिमीहरुको नाट्य पर्दामा छु ?
के म हाँस्य पाठक हुँ ?
अहँ ! होइन
तिनीहरु मेरो भावना संग जिस्कीन्छन्
मेरो भौतीक दरीद्र देखेर हाँस्छन्
छि ! तिमीहरुको बौद्धिक दरीद्रता देखेर
म पनि हाँस्छु
पेट थिचेर
मुख च्यातेर
राल सिगान भईन्जेल हाँस्छु
जबसम्म तिमीहरुको बौद्धिक दरि द्रता कायम रहनेछ
तब सम्म हाँस्छु
जब सम्म तिमीहरुको भावना परिवर्तन हुदैन
तब सम्म हाँस्छु
जब सम्म तिमीहरुको बिचार तिखारीदैन
तब सम्म म मात्र होईन यहाँ म जस्ता भावनाका महाजनहरु हास्छन्
इ यसरी
हा..! हा... ! .... हा ! .......

Thursday, October 4, 2007

तिमी मात्र किन हाँस्छौ जङ्गबहादुर?


टंक वनेम

इतिहासको गर्भबाट ब्यूझेर
बस्न्याती जुँगामा ताउ लाउँदै
धित मरुन्जेल
फेरि एकपल्ट
जङ्गबहादुरको मृतात्मा हाँस्यो ।


धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा
खिया लागेको छैन रहेछ
तिम्रो घोडाका टापहरु
अझ टड्कारा भएका छन
तिम्रो कुन मन्त्र शक्तिले हो
तलेजु भवानीको मन्दिर वरिपरि
विधवा आइमाइ
वर्तमान सराप्दै हिड्छे
भन्ज्याङ्ग भित्र घरीघरी
सपनाको सौदा गर्न
शासन र सत्ताको तन्ना फेरिन्छ ।


हिउँमा कुल्चेको डोबजस्तो
सपना त सधै सपना मात्र रहन्छ
हाँस्ने पालो त हामी सबैको हो
तर तर
सधै-सधै जङ्गबहादुर
तिमी मात्र किन हाँस्छौ ह ?
तिमी मात्र किन हाँस्छौ ??
-

हाल बेलायत ।

जङ्ग बहादुर र समय-५


रोशन सुवेदी
-
-
जङ्गबहादुर बन्नेको जोड
जङ्गबहादुर अनुहार ओडनेको आतुरता
फैलिरहेछ निरन्तर ।

जनताको लागि
जङ्गबहादुर कोमल नौनी हुन्छन्
फूल बन्छन्
मनमा फुल्न खोज्छन्
र जङ्गबहादुरहरू
भ्रमको सगरमाथा ठड्याएर
सियो बनेर पस्छन्
अनि- अजङ्ग हात्ती भएर निस्कन्छन्

जङ्गबहादुर
जन्मन्छन्
र फैलिन्छन् यत्रतत्र
समयको लठ्ठी टेकेर
हाम्रै अन्धो सहमती लिएर

युगौदेखि मुखुण्डो भिरेर
जङ्गबहादुरहरू
हामीलाई हेरेर हाँसिरहेछन्
मान्छेहरूलाई तर्साइरहेछन्
जङ्गबहादुरका छायाले पछ्याईरहेछ
निरन्तर जीवनभरी
जूका टाँसिएझैँ
जीवनका आगनहरूमा ।

जङ्गबहादुर बन्नेको जोड
जङ्गबहादुर अनुहार ओडनेको आतुरता
फैलिरहेछ निरन्तर ।
-
रचना समय - २०५८
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४

Wednesday, October 3, 2007

अन्तिम रात


किशोर पहाडी


ठोकेर
ड्याम् ड्याम् गोली ठोकेर
मेरा बाबालाई
चितुवाको छाला झैँ टाटेपाटे
लुगा लगाएकाहरूले
गोली ठोकेर मारिदिए-
ड्याम् ड्याम्... ...।

हानेर
ठ्याम् ठ्याम् लाठीले हानेर
मेरी आमालाई
हरियो वर्दी लगाएका दाइदिदीले
पिटीपिटी मारिदिए-
ठ्याम् ठ्याम्... ...।

अब म एक्ली बाँकी छु-
गाई चराउँछु,
बाख्रा चराउँछु,
पाठशाला जान्छु,
कसैको बिगार गर्दिनँ;
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई ।

मलाई नमार्न भनिदिनोस् उनीहरूलाई
म यो देशको भविष्यको कर्णधार,
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई
म आफै आफ्नो आँसुको धार

अब खाल्टा परेका बाटाहरू
मैले सम्याउनु पर्छ,
अब फाट्न थालेका धाँजहरू
मैले सध्याउनु पर्छ
मैले आफ्ना ससाना चलायमान पैतलाहरू उचाली
कठोर पर्वतहरू चढ्नु पर्छ,
मैले आफ्ना ससाना अबोध औँलाहरू घिसारी
देशको नयाँ नक्शा कोर्नुपर्छ

रातको सन्नाटामा
अहिले म कुचुक्क परेर
गोठमा आफ्नी गाईसँगै
थकाई मार्दैछु हजुर
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई ।

चित्र

दामोदर पुडासैनी "किशोर"


चित्रहरुको माझमा उभिएपछि
एकाएक ध्यानमग्न बन्न थालें म
पटापट सत्यका कुराहरु बक्नथाले चित्रहरु

उबडखाबड उम्रियो
स्निग्ध र सपाट फाँट उम्रियो
चित्र नियाल्दैं गएपछि
खुल्न थाले पीडाका ककराहरुबाट
फ्रेमका खिरिला पहाडहरु

चित्र भयो र पो
अमर हुन पायो मायाले
चित्र नभएको दिन
कुनै अभिलेख रहनेछैन मायाको
र, मेटिनेछन् हिसाब किताव र बहिखाताहरु
क्रमशः ब्रम्हाण्डवाट सधैका लागि

प्रिय, तिमी र म
बिदा भयौं भने यो संसारबाट
हाम्रो गाढा मायालाई
बचाइरहनेछ अनन्तसम्म
केबल हाम्रो मायाले चित्रले

चित्र छ र पो शुन्य छ
चित्र छ र पो संसार छ
चित्र नभए कहाँ हुन्थ्यो आकार
चित्र नभए कहाँ खुल्थ्यो जीवनमा
इन्द्रेणीरंग
जिन्दगीलाई नौलो चित्रमा
ढाल्न सक्ने हो भने
सम्झ
सिर्जना गर्न सकिनेछ
एउटा विशाल ब्रहमाण्ड

चित्र नभए
हरेक मान्छेको धड्कनमा
कहाँ बाँच्थिन् र मोनालिसा
कहाँ लेखिन्थ्यो र अमरकथा लैला मजुनको
प्रिय, आखिर बाँचेको छ हाम्रो प्रेम पनि
तिम्रो मेरो चित्रका
अन्तर आकारहरुमा

चित्रहरुका माझमा
क्रमशः लोलाउँन थाल्दोरहेछ मान्छे
र, खुरुखुरु झुल्कन थाल्ने रहेछन्
शाश्वतका घाम र जूनहरु