Thursday, October 11, 2007

जङ्गबहादुर र समय-४


रोशन सुवेदी

जङ्गबहादुर
बस्तीमा आगो फ्याकिदिन्छ र
चिसोको उद्घोषण गर्छ
जङ्गबहादुर
हिउँ फ्याकिदिन्छ र
तातोको डंका पिट्छ ।


भोक फ्याँकिदिन्छ र
भात खान अनुरोध गर्छ
छानो भत्काउँछ र
बास बस्न बिन्ति गर्छ


भुस्याहा कुकुर मारेझैँ
मान्छे भकाभकी लाशमा बेरिदा
जङ्गबहादुरहरू कुनै ककटेल पार्टीमा
भावबिहृवल आँशुको अभिनय गर्छ
र संवेदनाका कोरा शब्द उमार्छ


जङ्गबहादुर
निलर्ज्ज दाँत देखाएर
गोहीका आँशु झार्छ
अधिकारका कुरा गर्छ
मानवताका डिङ्ग हाँक्छ
अनि आश्वासनको पोको बोकाएर
आफ्नो बाटो लाग्छ


जङ्गबहादुरलाई मीठो बोल्न आउँछ
जङ्गबहादरुलाई समय खल्ल्तीमा राख्न आउँछ
त्यसैले जङ्गबहादुर एउटा बोल्छ
अनि अर्कै काम गर्छ संधैझैँ ।

-

रचना समय - २०५८ बि.स.
साहित्य डट कम -साहित्यिक वेभ पत्रिका, अगष्ट २००७ मा प्रकाशित
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४

No comments: