Thursday, October 4, 2007

जङ्ग बहादुर र समय-५


रोशन सुवेदी
-
-
जङ्गबहादुर बन्नेको जोड
जङ्गबहादुर अनुहार ओडनेको आतुरता
फैलिरहेछ निरन्तर ।

जनताको लागि
जङ्गबहादुर कोमल नौनी हुन्छन्
फूल बन्छन्
मनमा फुल्न खोज्छन्
र जङ्गबहादुरहरू
भ्रमको सगरमाथा ठड्याएर
सियो बनेर पस्छन्
अनि- अजङ्ग हात्ती भएर निस्कन्छन्

जङ्गबहादुर
जन्मन्छन्
र फैलिन्छन् यत्रतत्र
समयको लठ्ठी टेकेर
हाम्रै अन्धो सहमती लिएर

युगौदेखि मुखुण्डो भिरेर
जङ्गबहादुरहरू
हामीलाई हेरेर हाँसिरहेछन्
मान्छेहरूलाई तर्साइरहेछन्
जङ्गबहादुरका छायाले पछ्याईरहेछ
निरन्तर जीवनभरी
जूका टाँसिएझैँ
जीवनका आगनहरूमा ।

जङ्गबहादुर बन्नेको जोड
जङ्गबहादुर अनुहार ओडनेको आतुरता
फैलिरहेछ निरन्तर ।
-
रचना समय - २०५८
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४

No comments: