Tuesday, October 30, 2007

नृशंस पर्खालहरू


गीता त्रिपाठी

जिस्कायौ तिमीले
सरसर बतासलाई
जिस्कायौ तिमीले
धपधप आगोलाई

जुरुक्क उठेर बतासले
आगोको कान फुक्यो
बतास- बतासमात्रै रहेन अब
आगो- आगोमात्रै रहेन अब
हुरी र डँढेलोलाई
अब तिमी कतिबेर जिस्काउन सक्छौ ?

जत्ति घेर्नुछ- घेर
जत्ति अग्ल्याउनुछ-अग्ल्याऊ
अब सुरक्षित छैनौ तिमी
गर्लम्म ढल्दैछन्
तिम्रैसामु
तिमीले ठड्याएका
नृशंस पर्खालहरू ।

बैशाख ७, २०६३

No comments: