Thursday, August 30, 2007

नयाँ नेपाल


चन्द्र गुरुङ


हिजो आज,
हूलका हूल मानिसहरू
म र म जस्ता थुप्रैलाई खोज्दै आइपुग्छन्
र माग्छन् हाम्रा साथ
माग्छन् हाम्रा हात
कि, अब उनीहरूले
नयाँ नेपालको निर्माण गर्दै छन् रे ।

अचेल रेडियोले नयाँ नेपालको हल्ला फुक्छ
र गाउँ-शहरमा हक-अधिकारको कुरा चल्छ ।
यहाँ दिन दिनै
उनीहरू 'उपत्यका बन्द' गराउँछन् ।
हेर्दा हेर्दै बन्दको कालो आवरणभित्र
चेलीहरूको इज्जतमाथि लुटपाट मच्चिन्छ
र चल्छ असंख्य निर्दोष जीवनमाथि मारकाट ।
पल्लो घरमा
छिमेकीहरू पुराना बन्दुक साफ गर्छन्
र यहाँ हाम्रा साथीहरू
सुत्छन् सिरानीमुनि खुकुरी राखेर ।

अचेल पत्रपत्रिकामा नयाँ नेपालको सपना छापिन्छ
र पहाड-मधेशमा समावेशीकरणमाथि बहस चल्छ ।
यहाँ आजभोलि
उनीहरू 'नेपाल बन्द' गराउँछन् ।
हुँदाहुँदै टोलबस्तीमा इमानको मृत्यु हुन्छ
र निर्मम हत्या हुन्छ ढुङ्गामुढाले मानवताको ।
बिहान सवेरै चिया पसलहरूमा
पराइ रगत पिउने योजनाको थालनी हुन्छ
र दिनैभरि साँढे जुध्ने चउरमा
भिड्ने तयारी गर्छन् मानिसहरू ।

अचेल टिभीमा नयाँ नेपाल बारे जटिल गन्थन चल्छ
र देशैभरि राज्य पुनः संरचनाको प्रचार हुन्छ ।
यहाँ अचेल
उनीहरू 'यातायात बन्द' गराउँछन् ।
त्यसपछि धेरै मानिसहरूको दैनिकी
सुनसान सडकमा चक्काजाम हुन्छ
र हिंडिरहेको देश नै तोडफोडमा पर्छ ।
यहाँ,
अस्त्रालयमा गजबको चहल-पहल छ
र हिंड्दै छन् हतियार बोकेर
नयाँ नेपालको खोजीमा मखुण्डोधारीहरू ।

अचेल यो देशमा
म र म जस्ता थुप्रोई मानिसहरू सोच्दै बस्छन्
र चकित हुन्छन्
कि, सायद नयाँ नेपालको निर्माणमा
बनाउनु भन्दा भत्काउनु बढी आवश्यक रहेछ ।

हैजाले लान नसकेकाहरु

मीन द्वन्द्वी


उता बस्तिमा बाघ पसेर
धमाधम मान्छे खाइरहेको छ
हरेक दिन गाउँबाट कोही न कोही
हराएको खबर आइरहेको छ,
यता आफूलाई जन्मजात
शिकारी ठान्ने केही महानुभावहरू
झिङ्गा मार्ने आफ्नो सिद्धान्तको,
झिङ्गा मार्नु पर्ने कारणको
बखान गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

उता बाघले बस्तिमा पसेर
आतङ्क फैलाइरहेको छ
गाउँभित्र दिनप्रतिदिन
असुरक्षा मौलाइरहको छ
यता आफूलाई उच्च कोटीको
शिकारी ठान्ने केही महानुभावहरू
फिस्टा मार्ने आफ्नो सिद्धान्त र नीति
कता हो कता बहादुरीपूर्ण भएको
दाबी गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

आफ्ना गाउँले इष्ट-मित्रहरूलाई
बाघले मारेको समाचार आउँदा पनि
संगै खाईखेलेका दौंतरीहरूलाई
बेपत्ता पारेको खबर पाउँदा पनि
तिनका आँखामा बेदनाको नाम पनि छैन
मुखमा सहानुभूतिको 'राम राम' पनि छैन
"म बहादुर, तँ चाहिं काँतर" भनेर उनीहरू
आपसमा घाँटी कोराकोर गरिरहेका छन्
एक-अर्काको भूडी फोराफोर गरिरहेका छन्
हैजाले लान नसकेकाहरू !

लक्ष्मी माली



एउटा स्वचालित यन्त्र
'स्वीच अन' हुँदा चल्ने
'स्वीच अफ' हुँदा रोकिने
तर
यति नसोच तिमीले सपनामा पनि
कि
मेरो स्वीच तिम्रै औंलामा छ
होइन भने
'स्वीच अन' गरेर हेर
मेरो आस्था
मेरो विश्वास
म उभिएको धरातल
हल्लाउन सक्ने छैनौ तिमी
मेरो संवेदनशील व्यवहार
जीवनको एउटा सम्झौतामात्र हो
विवशता होइन
धेरै कुराहरु सहेको छु
समय समयमा
तर बुझ तिमी
कक्रिएको माटो भिजाउने
म पानी हुँ
आफ्नै अन्जुलीभरिको ।

नदी उत्सव


रमेश श्रेष्ठ

नदीहरू
स्तनले कविताहरू कोर्छन्
र, हृदयको बाँझो खनेर
क्षितिजले धरती टेकेर निदाएका
गीतहरू सुनाउँछन्
उक्लेर पहाडको निधारमा
पसिनाले जङ्गल भिजेको
कथाहरु लेख्छन्
उदास झुप्राहरूबाट
अभाव पखाल्न उठेका
खेतका हातहरू
चप्प समातेर
दरिलो बनाउने आँट बाँड्छन्
र, गर्भमा हुर्किरहेका
थुप्रै बालक नदीहरूका
ढुकढुकीहरू सुनाउँछन्
सडकभरि दृष्टि बिछ्याएर
इन्द्रेणी सन्तानहरुका शिरमाथि
आकाशको छानो कस्छन्
र, आफ्नो खुम्चिएको
निधारका धर्साहरू उप्काएर
जीवनमा हिँडनुपर्ने
लामा-लामा बाटाहरू देखाउँछन्
मूलहरूका भुलभुले आँखाहरू पुछेर
निरन्तरता र दृढताको
जीवन डोरीहरू बाट्न सिकाउँछन्
कहाँ भेटिएला नदीहरूलाई ?
झरनाको जस्तै लामो कपाल
सागरको जस्तै गहिरो आँखा
हिमालको जस्तै सुन्दर मुस्कान
जहाँ उभिइरहन्छ एउटा
गर्भिणी बिहान
त्यहीँ खोज्नु नदीहरूलाई

Tuesday, August 28, 2007

मेरो गाँउटोल


विश्वास दीप तिगेला

उमेर र परिस्थतीले
मलाई कहाँ पुर्‍याएछ कुन्नि
बुडापाकाहरु भगवान झै लाग्छ
गाँउघरको शोभा इज्वत झै लाग्छ
तर, छिमेकी बाजे बोजु,
छिमेकी वडाबा, वडिआमाले
सधैको लागि मेरो गाँउ
भर्खरै छोडेर जानु भयो रे
त्यसैले आजकल मलाई
मेरो गाँउ बेरमाइलो र उराठ लाग्छ ।

आँगनमा सुकाएको बिस्कुन
अब कस्ले रुङ्छ होला ?
रोइ रहेकी सानी नानीलाई कस्ले फकाउछ होला ?
सधै वडाले टेक्ने लौरी
कता पर्‍यो होला ?

बुडापाकाका अर्तिउपदेश
अब त गाँउघरले बिषिर्न्छ होला
त्यसैले मेरो गाँउटोल
मलाई बेरमाइलो र उराठ लाग्छ ।

------------------------
ब्रुनाइ, २५ मार्च २००५

वीर गोर्खाली


इश्वर चाम्लीङ्ग

हामी वीर गोर्खाली, वीरताको शानले नै विश्व थर्कने
स्वाभिमानी नेपाली, खुकुरीको धारले नै बैरी तर्सने
हाम्रो रगत रातो छ, आगो भन्दा तातो
इतिहासलाई सोधे हुन्छ, कहिले हाम्ले हार्‍या छ
हामी वीर गोर्खाली
स्वाभिमानी नेपाली

जहां जहां अशान्ति छ, शान्ति कायम गर्र्छौ हामी
जहां जहां अन्याय छ, अन्यायीलाई मार्र्छौ हामी
संसार हाम्रो घर हो,
वीर गोर्खाज थर हो
हामी भित्र आगो छ,
हाम्रो रगत तातो छ.
हामी वीर . . . . . .

धेरै लड्यौ सबै जित्यौ, विश्व सामु वीर भयौ
हार्नु भन्दा मर्नु निको जित्यौ सबलाई भि. सि. पायौ
संसारकै वीर,
जहिले उच्च शिर
हामी केहि साना,
शाहसिला वाण
हामी वीर गोर्खाली,
हामी वीर . . . . . .

जुन


दिलिप योन्जन


अन्धकारमा डुबेको अभाबको जिन्दगी
कालो रातमा उज्यालो छर्न झुल्किएकी जून
सुनसान सुनसान सडक बस्ती हुँदै
कोठामा निर्बस्त्र नागिए झै
सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै
दुख सुख सगाल्दै, निसासिदै
समुद्र, मरुभूमी ,हरियाली हुदै
एक क्षितिजबाट अर्को क्षितिज चाहार्दै
एक्लो उजाड जिन्दगी बोकेर
पाखा पखेराहरुमा अल्झिन्दै
अन्धकारमा पिल पिल उज्यालो छर्दै
गाँउ, बस्ति, झरना अनि टाकुरा हुदै
एउटै गतिमा उकाली, ओराली अनि देउराली हुदै
आश्था र भरोसाको दियो झै
हरेक झिस्मिसेबाट निस्किएर उज्यालिदै
क्रमस एउटा गाँउ बाट अर्को बस्ति हुदै
निर्धारित गन्तब्य लिएर सधै
लम्किरहन्छ बिस्तार बिस्तारै

-------------------
बोगोता कोलोम्बिया
hyounjon111@gmail.com
00573173078378

Monday, August 27, 2007

एक दिन एकचोटि आउँछ

गोपालप्रसाद रिमाल


एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ
लाटा-सुधा बोल्नथाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएर इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की-फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्छ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !

देश कसको हातमा छ

दिल साहनी


आज भोलि
म सोच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?
जुठेको हातमा देश छ भनुँ
मुग्लान पसेको मान्छे
चिठी पत्र लेख्दैन
मर्दा जीउँदो थाहा छैन
हर्केको हातमा देश छ भनुँ
अर्कैको बन्दुक बोकेको छ
अर्कैको सीमा सुरक्षा गर्न
जीवन आफ्नो होमेको छ
पुतलीको हातमा देश छ भनुँ
बम्बाइमा बेचिएकी विचरी
उड्ने पखेटा चुँडिएका छन्
सपनाका मुना भाँचिएका छन्
हलोको हातमा देश भनुँ
जोत्दै गरेको जमीन उसको आफ्नो होइन
ज्यामीको हातमा देश छ भनुँ
ओत बसुँ भने
एउटा टाउको लुकाउने छाप्रो छैन उसको
विद्यार्थीको हातमा देश छ भनुँ
ऊ आफैं घेराउमा छ
पत्रकारको हातमा देश छैन
उसको बोलीलाई गोलीले घाइते पारेको छ
कविको हातमा देश छैन
उसको कविताको फूलबारीमा
भावनाको फूल स्वतन्त्र फुल्न पाउँदैन
कलाकारको हातमा देश छैन
उसका डुडला काटिएका छन्
गायकको हातमा देश छैन
उसको गलामा अकुंश लाइएको छ
बुद्धिजीवीको हातमा देश छैन
उसको स्वर दबिएको छ
जन नेताको हातमा देश छैन
ऊ आफैं निर्वासित छ
प्रतिबन्धित छ
बन्दी छ
नागरिकता किन्ने बेच्नेको हातमा पनि देश छैन
उसको निम्ति नागरिकता
फल्दो फुल्दो व्यापार बाहेक अरु केही होइन
त्यसको हातमा पनि जरुर देश छैन
जसको धन पैसा विदेशी बैंकको खातामा जम्मा भएको छ
त्यसको हातमा पनि देश जरुर छैन
जसको मूल जरा विदेशको माटोमा गाडिएको छ
जो देशको हो
उसको हातमा देश छैन
जो देशको होइन
उसको हातमा देश छ
आजभोलि
म सोच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?

यक्ष प्रश्नहरु

मनरुप नेप्च्युन


आजभोलि प्रजातन्त्र कहाँ छ ?
किसानहरुको चुलोमा
प्रजातन्त्र कतै भेटिएन
भोका पेटहरु बाहेक
मजदूरहरुका झुप्राहरुमा
प्रजातन्त्र कहिल्यै देखिएन
नाङ्गा अङ्गहरु सिवाय
भरियाहरुको बाटोमा पनि
प्रजातन्त्र कतै छैन
नाङ्गा पदचापहरु बाहेक
आज भोलि
सच्चा प्रजातन्त्र कहाँ छ ?
गाउँ बस्तीहरुमा
प्रजातन्त्र पुगेको छैन
उत्पीडनका पंजाहरु सिवाय
पहाडका खोंचहरुमा झनै
प्रजातन्त्र छैन
माओवादी जनकङ्गालहरु बाहेक
तर्राईका फाँटहरुमा पनि
प्रजातन्त्र पाइएन
जङ्गेपिलरका भग्नावशेषहरु सिवाय
यहाँका नदीनालाहरुमा समेत
प्रजातन्त्र भेटिएन
विवशताका आँसुहरु बाहेक
तसर्थ
आजभोलि सधैं जसो
निन्द्रामा यक्ष प्रश्नहरुले
मलाई झस्काउने गर्छ-
"वास्तविक प्रजातन्त्र कहाँ गयो ?
कतै संसदभित्रै
खसीबजारको बोका झैं
लिलाम बढाबढमा त परेन ?"

Saturday, August 25, 2007

ग्लाड ग्लाडियोलस पानी अमला


तोया गुरुङ्ग

बर्षातको हुर्मत अध्यारिदै आकाश र्झछ
कोठामा तनक्क चारैतिर मिलेको एउटा असुन्दर
तिक्तता लिएर निस्कन्छ बाहिरतिर ओछ्यान

बारुले हास्छौ - उद्दिप्त शिखरहरु नाम उर्लेको
लाटोबुंगो मुढा ठोस्छौ उसैतिर भित्तामा उकाली चित्र
दोहोरी ह्रदय जोडछौं चुडछौं - कसेको तुना
तुर्लुङ्ग शवको आन्द्रा - निस्पट्ट घाममा
तरेली खेलेर विचरण गर्दा - हुन ज्योति/ज्योतिर्मय

फुस्सा जिन्दगी - फुस्सा कथन - फुस्सा चरण
नागीले तेर्स्याएको उनको तसवीर/उनीहरुको सेलुलर
माटो निर्धक्क सुतेकाहरु सलबलाए/सुसाए
ताती जन्ती - फुस्सा धुन, स्वीट सावर क्या ! सावरी
झिम झिम परेली - षोडश/षोडशी - भोलि भेटौंला
के बस्नु गजधम्म
ग्लाड ग्लाडियोलस - पानी अमला

रक्सी

छक्कु उदासी

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी

मान्यजनको मान र सत्कारमा सुहाई दिने
दुखीको दुखाई, थकाई र पिर मेटाई दिने
एकान्तमा जम्ने, भेटघाटमा त झनै रम्ने
कहि कतै नशा हैन अमृत भएको छ रक्सी

कसैको खुसीमा खुसीयाली मनाउन मिल्ने
जताततै अति प्रसंसनिय भएको छ रक्सी
कसैको दुःखमा दुःखै बिसाउन पनि मिल्ने
कहि कतै त ओखटी पनि भएको छ रक्सी

सरिरमा मात र गीलासमा रक्सी छञ्जेल
आहा...रक्सी थपिदिने त्यो हातै पोषीलो
आकासको तारानै झार्ने कुरै जोशीलो
आफनै कुरामा सहि थप्ने साथनै रसीलो

रमझम र रमाईलै हुने भएर सबै पिउने गरेको छ
दयालुको मन जितेको छ, सत्जनको दिमाख हारेको छ
पापीको तन पगालेको छ, मर्खको बल पनि हारेको छ
त्यसैले होसियार ! बिस्तारै लाग्ने बिष हो रक्सी

कोहि भन्छन, पिउनको लागी जिउछु , प्यारी रक्सी
तर जीन्दगीनै डामाडोल बनाउने कुलत हो रक्सी
कोहि भन्छन, जिउनको लागी पिउछु , मिठो चुस्की
होसियार ! बिस्तारै कंगाल बनाउने बोक्सी हो रक्सी

-------
जापान

Friday, August 24, 2007

शहिदको गीत


ईश्वर चाम्लीङ्ग

म मरेको हैन तिमी यसै भ्रममा परेछौ
म बाचिरहेछु शहिद भएर तिमी ब्यर्थै र्राईरहेछौ।

यी आँशुले कमजोर बनाउछ तिमीलाई नै
तिमी रोई मात्र रन्छौ भने बगाई लग्ला तिमीलाई नै
म हारेको हैन तिमी त्यसै भ्रममा परेछौ
मैले जितेकोछु शहिद भएर तिमी ब्यर्थै रोईरहेछौ

भो घातहरु हैन मलाई साथहरु दिदैजानु
बाकी धेरै गर्नुछ त्यहाँ हात सबैको माग्दै जानु
म मरेको हैन तिमी यसै भ्रममा परेछौ
म बाचिरहेछु शहिद भएर तिमी ब्यर्थै र्राईरहेछौ।

Thursday, August 23, 2007

परिभाषामा

भीमा खजुम

त्रासदी अन्धकारभित्र
नरोकिएको जीवन-दैनिकीको
पन्ना-पन्नामा चिप्लिएर
लामो रातको सन्नाटाभित्र म
अर्न्तर्द्वन्द्वको गहिराइमा परी
बिना सम्झौता भागेको योद्धाझैँ
लुसुक्क रमाउन थालेकीछु
समयको यस बिहानीसँगै
दिन अनि साँझहरू
मेरो समिप अस्तव्यस्त उभिन्छन्
जहाँ म अन्यौलताको थाकभित्र
पुरै पुरिएकी हुन्छु
आफैले हराएको मेरोपन
त्यही अन्यौलतामा शून्यता पिएर
खितखिताउँदै हाँस्छ रे
मैले निलेका सन्नाटाभित्र
शून्यताको परिभाषा खोज्न
भर्खर-भर्खर ब्यूताउँन लागेकीछु
कुन्नि के थाहा,
यो लामो शून्यताबीच
तिम्रो परिभाषाले मलाई
जिउँदै समवेदनाको चौघेराभित्र
पुष्पहार सजाएर श्रद्धाञ्जली
चढाइसक्यो कि ?
मेरो परिभाषामा म
यद्धपि जिउँदै छु
अन्यौलताको थाकभित्र पुरिएर ।

रहर


हरिभक्त कटुवाल

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहास पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

कालमहिमा


लेखनाथ पौड्याल

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३।

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।४।

Tuesday, August 21, 2007

बुनु तिम्रो सम्झना


ईश्वर चाम्लीङ्ग

बुनु,
शब्दहरुका अंकुरित मुनाहरु ता-ता ता-ता, तु-तु तु-तु
टेलिफोनमा सुन्छु तिम्रो तोते बोली,
के के भन्यौ तिमीले मलाई
अर्थ लाउँदा-लाउँदै हर रात बित्छ मेरो यहाँ।

तिमी कहिले
खित्का छोडेर हास्छौ
बडो गजबले रोकी-रोकी दोहोरो हास्छौ
त्यो पक्कै खुशि भएर हासेको हौ तिमी
सायद परदेशी बाबाको आवाज चिनेर वा टेलिफोनमा कुनै अनौठो आवाज सुनेर
म तिम्रो खित्काहरु कान देखि मन र मस्तिष्क भरी सुनेर मुस्कुराउदै दिन काट्छु
यहाँ।

तिमी रोईरहेको हुन्छौ कहिले
मलाई खोजेर नै रोयौ कि,
सोध्छु?
तिमी हिड्दै बाहिर मात्र जान खोज्छौ रे
निकै नटि भएको छौ अरे
उनले यसै भनिन फोनमा
म यो परदेशी जिन्दगीलाई सुस्केर्दै
भित्ताको फोटोलाई टोलाँउछु र तिमीलाई सम्झन्छु
समयले तिमीलाई निकै डोरयाईसकेछ
बसेर टुलु-टुलु हेथ्र्यौ
कसैले हेरयो की, मुस्कुर्राई दिन्यौ
आजभोली हिड्दै बाहिर जान नपाए रोईदिन्छौ रे तिमी
सायद घरभित्र बसिराख्न मन पर्दैन होला तिमीलाई
किन कि घर सानो हुन्छ।
सायद बाहिरको संसार देख्न र बुझ्न मनपर्छ होला तिमीलाई
किन कि संसार विशाल हुन्छ।

म तिम्रो रोईरहेको आवाज सुनेर
त्यहाँको दृष्य मन भित्र अवलोकन गर्छु र झन धेरै तिमीलाई सम्झन्छु।
म ति म्रो ता-ता, तु-तु नबुझिने बोलिको अर्थ लाउँदै
तिम्रो भावना बुझ्न खोज्छु र झन धेरै तिमीलाई माया गर्छु।
तिमी निरन्तर मेरो डायरीका पानाहरुमा अनि यि आखाका नानीहरुमा अपडेट
भईरहन्छौ
म यस्तै सम्झनाहरु अपडेट गर्दै दिन, रात, हप्ता, महिना र बर्ष कटाँउछु
केवल भोलीको प्रतिक्षामा
जुन भोली म तिमीलाई यी हातहरुले छुन सकुँ
जुन भोली म तिमीलाइ यी आखा भरी हेर्न पाँऊ

--------------
कोसोभो

इन्द्रेणीको रङ्ग - २


रामगोपाल आशुतोष

अचेल म
चिहानमा सुतेर आपैFmलाई श्रद्धाञ्जली दिँदै सोच्छु
यो धर्तीमा इन्द्रेणीको मोल कति छ ???
कसले खाइरहेको छ इन्द्रेणी पसिनाको मोल ???

आफ्नै आकाशमा छरिएर
छरपस्ट इन्द्रेणीको पातपात, हाँगाहाँगामा
विदीर्ण अनुहारहरू, आरोपको रूख रोपेर
साम्प्रदायिक रङ्ग दिन्छन् इन्द्रेणीका रङ्गहरूलाई ।

ती विदीर्ण अनुहारहरू
सात सालपूर्वका गरिब नियतिहरू
देखेर इन्द्रेणीको रङ्ग, विस्मयले काँप्छन्
त्रसित छन् ती अनुहारहरू
इन्द्रेणीको चेतना र उनीहरूविरुद्ध बढिरहेको ज्वाला देखेर

पटकपटक, समयको मूल्यमा झुन्डिएका हुन्छन् र
इन्द्रेणीका ती सारा रङ्गहरू राष्ट्रका नाममा सहिदहरू

एक समय काटिएका थिए
पराजयको नियति र काँतर रातको बलमा
विरोधावलीमा उम्रिएका नाकहरू
बगाएको थियो रगतको आहालमा
परिश्रमका पसिना, कर्मठ बाहुबलहरू
कीर्तिमान कायम गरेको थियो २३७ वर्ष अघि
रगतको साम्राज्यले गरेको थियो आक्रमण
स्थापित गरेको थियो एकछत्र शासन
वर्गीकरण गरेको थियो इन्द्रेणीका रङ्गलाई
घोषणा गर्दै एकतन्त्रीय विदीर्ण अनुहारको शासन
र चलाएको थियो शोषणको अभियान

बनाएर आरोपित साम्प्रदायिकताको
विदीर्ण अनुहारहरू लालायित थिए
अभिशप्त इन्द्रेणीको मृत्यु

इन्द्रेणी जो आँखाभरि मृत्यु सजाएर
उठे शिरमा कात्रो ओढेर
तत्पर बने आफ्नो लासको मलामी आफै बन्न
तिलाञ्जली, आहूति दिएर संवेदनाहरू आफ्नो
क्रान्तिधुन बजाए समावेशी इन्द्रेणीका लागि

इन्द्रेणीलाई थाहा थियो
कुकुरको पुच्छर सोझो हुन सक्दैन
थाहा थियो देखाउनेछ विदीर्ण अनुहारहरूले आफ्नो औकात
आफ्नो दुनो सोझिएपछि सत्तामोहले थिच्नेछ उनीहरूलाई
खानेछ उनीहरूले पहिलेजस्तै
समावेशी लोकतन्त्र र गणतन्त्रको मूल्यलाई

विडम्बना !
प्राचीन समयभन्दा फरक छ वर्तमान इन्द्रेणी
विदीर्ण अनुहारमा कान्ति छैन
भनौँ मुजा परेको छ अनुहारमा
त्रासले बसाएको छ उसको कञ्चटमा खाल्डो
दुब्लाएको छ ऊ र उसको तरुणो हुने सपना

म देखिरहेछु चिहानबाट ब्यूझेर अन्यायको मृत्यु
किनभने आफ्नो चितामा सुतेर
आफैलाई श्रद्धाञ्जली दिइरहेको मेरो
जागृत भएको छ ब्रहृम
फर्केर आएको छ मेरो यायावर चेतना
अनि मसँगै मुठ्ठी कसिरहेका
अनगिन्ती जाज्वल्यमान इन्द्रेणीका हातहरू
पुनर्जागरण, पुनःसंरचनाका लागि बुलन्द आवाजहरू

म देखिरहेछु जागृत इन्द्रेणीहरू उठिरहेको
म देखिरहेछु
कर्मकाण्डीय एकतन्त्रकाविरुद्ध उठेका अनेकहरू
म देखिरहेछु सनातन विदीर्ण अनुहारहरूविरुद्ध
सुस्तरी बढ्दै गरेको डढेलोहरू
हिमालहरू, तर्राईहरू, पहाडहरू ..........

नपत्याए हेर
एकतन्त्रलाई कजाउने इन्द्रेणीमा रातो रङ्ग
बहन सुरु भइसकेको छ नसानसामा...............
--------------------
२०६३/०५/१५

बालक


दिलिप योञ्जन

दिनभरिको पसिनाले साटेको पिठो
तातो गाँससंगै झपक्क निदाउने कल्पना
साँझ नपर्दै हावा र पानीले छोप्ला भन्ने के थाहा?
स्याउला र चित्राले बनेको महललाई
डोब र किल्ला मात्र छोडेर उड्ला भन्ने के थाहा?
ताजमहलको कल्पना गर्ने दुखियालाई
बाच्ने आशामा रुने अबोध बालकको, के दोष?
दाउरा र पिठो नै भलले बगाए पछि
के थाहा अबोध बालकलाई?
हाड छाला टासिएकी आमाले लाम्टा छुसाउछिन भन्ने
झन जोडले कराउदै रुन्छ
के थाहा अबोध बालकलाई
दुध नआउने लाम्टा चुस्नुपर्छ भनेर
हावा, हुरी र पानीमा छटपटिनुपर्छ भनेर
जाडो र गर्मी भन्न पाइन्दैन भनेर
भोक-भोकै रुदै कराउदै बाँच्नुपर्छ भनेर
------------------
साउथ अमेरिक

Monday, August 20, 2007

म एक तन्नेरी मोनालिसा


सबिना सिन्धु

सम्भावनाको भविष्य लम्कँदै
जिन्दगीको खाता पल्टाउँदैछे
समयको परिशिष्ट भित्र
जोडफल र योगफलको
अङ्कगणितमा बाँधिएकी
तन्नेरी मोनालिसा ।

जाग्रित मोनालिसा हाँसेर
बग्दैछे, माथि छहराबाट
हामफाल्न तयार भएको
झरनाको श्वेत पानी झैं ।

आवश्यकताका सूचनाहरु पढ्दै
आकृतिहरुकी मोनालिसा
दियोमा बल्दै छे,
सतीमा होमिएको
एक जिउँदो लाश भएर,
म र म जस्तै
एक तन्नेरी मोनालिसा ।
-----------------------
कपिलाकोट ९ , सिन्धुली

बाल गीत


ईश्वर चाम्लीङ्ग


हाम्ले खेल्ने खेलको नाम के हो भन
एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन
गन साथी एबिसिडी इएफजिएच भन
धेरै पढि धेरै जानी ठूलो मान्छे बन
आफू भन्दा ठूलालाई आदर गर्नु पर्छ

आफू भन्दा सानालाई माया गर्नु पर्छ ... माया गर्नु पर्छ साथी माया गर्नु पर्छ।
साथी हामी मिली मिली खेलौ सबैसँग
एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन
भन साथी इएफजिएच आईजेकेल भन
धेरै पढि धेरै जानी ठूलो मान्छे बन
कहिले हामी खेल्ने, कहिले टी भि हेर्ने

घरमा पनि पढ्ने हामी सँधै स्कुल जाने.....स्कुल जाने साथी हामी सँधै स्कुल जाने।
साथी हामी मिली मिली खेलौ सबैसँग
एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन
भन साथी एमएनओपी क्युआरएसटी भन
धेरै पढि धेरै जानी ठूलो मान्छे बन

------------------
कोसोभो

Sunday, August 19, 2007

म अलकति सबै हुँ .....


मिजास तेम्वे

म अलिकति मासु हुँ ।
अलिकति हाड हुँ ।
अलिकति रक्त हुँ ।
अलिकति नसा हुँ ।
अलिकति हावा अनि पानी हुँ ।
म अलिकति सबै हुँ ।

म अलिकति कल्पना हुँ ।
अलिकति सपना हुँ ।
अलिकति रहस्य हुँ ।
अलिकति त्रास हुँ ।
अलिकति साहस अनि आहत हुँ ।
म अलिकति सबै हुँ ।

म अलिकति माया हुँ ।
अलिकति बिश्वास हुँ ।
अलिकति धोका हुँ ।
अलिकति आघात हुँ ।
अलिकति घृणा हुँ ।
अलिकति बेदना हुँ
अलिकति हाँसो र आँसु हुँ ।
म अलिकति सबै हुँ ।

म अलिकति राजनीति हुँ ।
अलिकति कुटनीति हुँ ।
अलिकति समाज हुँ ।
अलिकति दर्शन हुँ ।
अलिकति नैतिक हुँ ।
अलिकति भ्रष्ट हुँ ।
अलिकति ज्ञान अनि बिज्ञान हुँ ।
म अलिकति सबै हुँ ।

म अलिकति नायक हुँ ।
अलिकति खलनायक हुँ ।
अलिकति अन्य हुँ ।
अलिकति निर्देशक हुँ ।
अलिकति निर्माता हुँ ।
अलिकति बिधाता अनि नाशी हुँ ।
म अलिकति सबै हुँ ।

म अलिकति धर्म हुँ ।
अलिकति कर्म हुँ ।
अलिकति यात्रा हुँ ।
अलिकति बिसाउनी हुँ ।
अलिकति पाहुना हुँ ।
अलिकति प्रलय हुँ ।
अलिकति बिलय हुँ ।
अलिकति शुरुवात अनि अन्त्य हुँ ।
म अलिकति सबै हुँ ।

दुई मुक्तकहरु


भरु 'पल्'

'प्रमोशन'

पेन्डुलम् झैं झुन्डिएको सुनको अनौठो ताज छ,
त्यो ताज लाउनेहरुको लाममा नामर्दहरुको राज छ
आफ्नो त लाममा उभिने नि सपनै भो हजूर,
दुईटै टेक्ने पाउहरुमा गोमन सर्पको दांत छ।

'जागिर'

जा-गिर्दा गिर्दा म निगालोको भाटा भएको छु,
कति मान्नु फन्टुस् हूकुमहरु
म बतास चल्दाको छता भएको छु,
न भोक, न तिर्खा तपाईको सेवा गरिरहदा,
हजूरलाई नै पहिर्याउने खादा भएको छु ।

-----------------------
नोर्थ योर्कशायर, बेलायत।

लिम्वुवान


टंक सम्वाहाम्फे

लिम्वुवान
युगौ देखि
थियो
नेपाली मानचित्र भित्रै
काहा मेटिएको छ र?
छ अहिले पनि
उस्तै
र रहिरहने छ
धरतीको अस्तित्व रहुन्जेल

लिम्वुवान
सत्ताका क्रुर भारदारहरुले
नामोनिशान
बनाउन खोजे
त्यसका सीमा रेखाहरु
भत्काए
र भने एउटै नेपाल
अनि कहिल्यै नउठ्ने गरी
कुल्चन खोजे
तर तिनीहरुले सोचे जस्तै
लिम्वुवान
लोप भयो र काहा ?
वरु उ भित्रभित्रै
जीउदो भएर जागी रहेछ

लिम्वुवान
कहिल्यै हारेन
शत्रुहरुवाट
न कि राजामहाराजाहरु वाट नै
वरु हारे लिम्वुवानसंग
निहु खोज्नेहरु
त्यसैले उसको पराक्रम देखेर
हात बढाउनु पर्यो
सन्धिको लागि
र ताम्रपत्रमा लेख्नु पर्यो
कि तिमी
सदासदाको लागि
स्वतन्त्र छौ भनेर

लिम्वुवान
छ र त छन् लिम्वुहरु
अव कस्ले भन्न सक्छ ?
कि लिम्वुवान छैन भनेर
वरु सोध्नुहोस लिम्वुहरुलाई
लिम्वुवान
काहा देखि काहा सम्म
थियो भनेर
वरु सम्झौता गर्नुहोस्
लिम्वुहरुसंग
लिम्वुवान
काहा देखि काहा सम्म
हुनु पर्छ भनेर

लिम्वुवान
लिम्वुहरुको आफ्रनै घर हो
के आफ्रनै घरलाई
मेरो घर हो भन्न पाईन्न र ?
के उसको घरको
आफ्नै हक हुदैन र ?
त्यसैले निर्विवाद
आफ्नै भाषा जाति धर्म र संस्कृतिमा
रमाउन पाउनु
उसको अधिकार हो
अव कसैले
अपहरण गर्न नखोजे हुन्छ
उसको जिजीविषालाई
भोलि हतियार भएर
उठ्न सक्छ
तसर्थ
आरक्षणको प्रलोभन
नदेखाए हुन्छ
सहानुभूतिको माला
नपैर्याए हुन्छ
किनभने लिम्वुवानले
चाकरी र चाप्लुसीको
भाषा वोल्दैन
षड्यान्त्रको भाषा वुझ्दैन
मात्र स्वतन्त्रता चाहन्छ
लिम्वुवान भएर बाच्नको लागि

समय-त्रासदी

हरिश "कल्पित"


बिवश जिन्दगीको जिउनें अधिकार
खोज्दै हिडेको समय
बन्दुकको नाल र एम्बुसको पासोबाट
मुक्तिको कामना गरिरहेछ ।

संवेदना हराएको मस्तिक झैं निर्जिव
लमतन्न सडकमा
आफु समय हुनुमा दुखिरहेछ
खैँ !कसलाई थाहा छ
आँशुको भेललाई रोकेर उसले
हर्षो उन्माद फैलाईरहेको
फगत मृगतृष्णाको भूमरीमा
अल्झि रहेछ समय !

आफूले आफ्नै इच्छा आकाक्षालाई
तरवारको धारमा राखेर
उन्मुक्त भएकाछन् समयहरु !
बुद्ध पनि अब त समयको अगाडी
विवश भैँ
निर्लिप्त भावमा चुपचाप हेरिरहेछन्
सोच्दै होलान
मेरो शान्तिको सन्देशलाई
कति कठोर संग छलिरहेको छ समय
अझ !अब कति बिभत्स
नृत्य गर्ने हो समयले ?

भो !पुग्यो
अब शान्तिको बर्षा चाहिन्छ !
टाढा टाढा क्षितिजसम्म
जीवनको शंखनाद चाहिन्छ
शान्तिको परेवा उड्नु पर्छ अब !
बिश्वासको दियो बल्नु पर्छ हृदयमा अब !

Wednesday, August 15, 2007

स्वप्नहरू


इश्वरवल्लभ

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
कति परीहरू उड्छन्,
पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन् ।
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको वासना कि
पीडाको वासना,
र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्
त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
वास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भुइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू ।

Monday, August 13, 2007

कलमवीर र गोठालाहरु

लोक सिङ्गक

निस्केका गोठालाहरु
चढ्न फूलको सगरमाथा
उज्यालो पर्खेर
अपाङ्ग वर्तमानसँग
एउटा सन्नाटा
अँध्यारो पछि उज्यालोको सन्नाटा जस्तै ।

लछ्राप्प भिजेर
क्रस फायरको तुषारोले
लुगलुग कामिरहेछन् गोठालाहरु
चुपचाप चुपचाप
आज गयो
भोलि टुहुरा चल्लाहरु र रित्ता काखहरु ।
परिणती वाँच्नुको उरुङ्गबाट
सवलाङ्ग खुट्टाहरु
छलाङ्ग मार्दै
परिस्थिति -
समुन्द्रपारीको वाध्यतासँग
शोक विर्षोका अहोरात्रिसँग ।

ओझेल परेर
जुनको अर्को पाटामा
हुरि असिनाको बादल मुनि
कलमवीरहरु
रोइरहेछन् जोड्दै
भिजेको कागजभरि
कथा - हराउनेहरुको
कथा - इतिहासमा छुटेका शब्दहरुको ।

शुरुवात - सुन्यबाट हुन्छ
आज - उस्तै रहन्न
परिवर्तनको इजलासमा
कलमवीर र गोठालाहरु
पानीको लठ्ठी टेक्दै
लम्किरहेछन् खुल्ला परिवेशमा
थाम्न भोलिको आकासलाई ।

--------
धनकुटा/हाल कीर्तिपुर, काठमाडौँ ।

टिष्टा र राबी नदीका सपनाहरु


टंक वनेम

इतिहासको गर्भ मै टुहुरा भएर
दाम्साङ गढी र राबी नदी
सुगौली सन्धिले बारेको
मेचीको धार चिमोटिन्छ
दिनदहाडै कोपारिन्छन्
जङ्गे पिलरको नाङ्गो छाती
सुस्केरा हालेर हर्रर ....
बग्छ रे टिस्टा नदी ।

असल छिमेकी रोजेर नपाइने भए पछि
सुस्ता महेशपुर सुसाउन सकेनन्
कालापानी टिङ्कर भन्ज्याङ्
टिकापुर, भजनी टिक्न सकेनन्र्
बर्तमान
राक्षसले अपहरण गरेको
दन्त्य कथाको राजकुमारी झैं
मध्य रात र मध्य दिनमा
बिरही भाका हालेर
बास्छ रे टिस्टा नदी ।

सहेर आर्दश हुनुको पनि त
पिडा हुन्छ क्यारे
बलत्कार भएर बाँच्नु त
झनै कति गाह्रो हुँदो हो
शायद
तिनै अब्याक्त बेदनाहरु मा
सुस्केरा हालेर हरहर
रुन्छ रे राबी नदी ।

सीमास्तम्भ रुङ्ने बन्दुकहरु
आफ्नै स्वाभिमान झोसि रहेछन्
माटोको लागी लड्ने सङ्गिनहरु
आफ्नै छाती घोचि रहेछन्
रगतको गन्धमा सप्रन्दो छ
स्वाभिमानी देश प्रेम ।

अनि त
राबी नदी रोए जस्तै
रुन नसकेर
टिस्टा नदी बासे जस्तै
हाँस्न नसकेर
कबि हुनुको नियति
कबिताको बाँझो खेतमा
स्वाभिमानि हिमाल ठड्याउनु
के अनौंठो भो र ?

तरै पनि
सपनाको ताँदोमा
बिपनाको बाण चढाएर
इतिहासको बूढी आमा
सकि नसकि
राबी नदीको जङघार
तर्दै गरेकी हुन्छे
दालिमहाटको भन्ज्याङ्
नाँघ्दै गरेकी हुन्छे ।

हो
स्वाभिमानी छातीले
कति सहनु ?
अतिक्रमणको नाङ्गो प्रहार
अहङ्कारको पर्दाले छोपिएर
कति लड्नु
सकुनि युद्ध ?
कि दृष्टिहिन धृतराष्ट्र झैं
बन्ने हो स्वयम्भू आँखा ?

नत्र अलिकति
दुख्नु पर्दथ्यो टिकापुर
पिडाले छटपटाउनु पर्दथ्यो
माने भन्ज्याङ्
बिद्रोहि स्वारःले
कराउनु पर्दथ्यो
महेशपुर
जङ्गेको जोशमा
तरवार निकाल्नु पर्दथ्यो
जङ्गे पिलर
बिद्रोहको तोप पड्काउदै
कांगडा र दालिमहाट ।

तर
जिम्मेवार छातीहरुमा
स्वाभिमानको लेउ नपलाए पछि
पराजयको पिडा भोगेर
इतिहास र बर्तमानको
सारङ्गी रेट्दै
बिरही भाकामा बास्छ रे
बिचरा ! टिष्टा नदी
बिपनामै ऐँठन लागेर
सपनै देख्न छाड्यो क्यारे
बिचरा ! छम्ब भूमी ।

-----------
हाल ,वेलायत

Friday, August 10, 2007

घुम्ने मेचमाथि अन्धो मान्छे


भूपी शेरचन


दिनभरि
सुकेको बाँसझै
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोटयाएर;
दिनभरि
सल्लाघारीझै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक - असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ,
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको 'लेथे' नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी - पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रर्दशनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।

फूल


केदार श्रेष्ठ

न घमण्डले मात्तिएर
फूलेको हो फूल
न रिसले लात्तिएर
फुलेको हो फूल
न कसैको खिस्सी उडाउन फुल्छ
न सुवास छरी लोभ्याउन फक्रिन्छ
न सुन्दरता हानी फसाउन फुल्छ
होइन अहमताले
फक्रेको होइन फूल
न कसैलाई जीवनदेखि लखेट्न फुल्छ
न कसैलाई निराशामा अल्झ्याउन फुल्छ
बरु आशा सजाउछ
निराशाले खोक्रिएका आखाहरुमा
बरु जीवन भर्छ
संघर्षदेखि अत्तालिएका पाइलाहरुमा ।

फूल पाउलिन
एक चिम्टी माटो भए पुग्छ
चाहिदो हावापानी भए पुग्छ
धर्ती, छाती भए पुग्छ
जहा, जरा स्वतन्त्र फैलाउन सकोस्
सुवास, सुन्दरता बाड्न सकोस्
न अनकन्टार भीरपाखा भन्छ
न सन्नाटा जङ्गल
कठिनाइबाट कहिल्यै लत्रदैन
फूल
फूलभन्दा टाढा कहिल्यै भाग्दैन ।

हागा छोडेपनि
माटो सजाउछ, फूल
धर्तीलाई उर्वर गहना लगाउछ
फेरि फुल्न सिकाउछ अरुहरुलाई
त्यसैले त फूल
न कहिल्यै र्झछ
न कहिल्यै ओइलाउछ
कहिल्यै फिक्का हुदैन रङ्ग
कहिल्यै मर्दैन फूल
फूल त फक्रिरहन्छ
आखाहरुभित्र
जहा, आशाका रेखा छोट्टीने छैन
बरु बढ्नेछ
संघर्ष अध्यारिने छैन
बरु ज्वाजल्यमान भइरहन्छ
निरन्तर हेरिरहन्छन्
धर्ती, धर्तीका सिर्जनाहरु
देखिरहन्छन्
मान्छे, मान्छेका आकृतिहरु
फूल त बाचिरहन्छ
मनहरुभित्र
जहा, थुप्रै मनहरुको सञ्जाल छन्
जहा, थुप्रै आशाहरु सञ्चित छन्
जिउदा सपनाहरु सिगारिएका हुन्छन् ।

Thursday, August 9, 2007

पोटोम्याक


जय छाङ्छा

हरेक दिन तातो सूर्य तल र्झछ
र बस्छ पोटोम्याकमा
बिथोल्दै शान्तिहरू नदीमा
ऋद्ध बाफहरू अकासिन्छन् मिसिंदै सूर्यका किरणहरूसंग

पोटोम्याकको किनारामा बसेर
नियाल्छु म पात्तिएको सूर्य खेलिरहेको हुन्छ, बालुवासंग

प्रत्येक सांझ चन्ıमा तल ओर्लने गर्छ
र खेल्ने गर्छ पोटोम्याकको छातीसंग
र गर्भिणी बनाउंछ-
पोटोम्याकले जन्माउंछे सहस्र साना चन्ıहरू
अतुल्य अनन्त दृश्यहरू ।

दुःखित रात्रिले ल्याउंछ अन्धकार पोटोम्याककै किनारमा
घर र्फकने समयमा जगमगाउंदो पोटोम्याकको सौर्न्दर्यले
गिजोल्छ मेरो स्मृति ।

चोट



वानीरा गिरि

चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट सुरु गर
दुइ आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू

तिमी र म
मितेरी लगाई एकाकार बनौं
सदा-र्सवदालाई ।
कति घतलाग्दो
एक दिन
सम्सांझै
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
मैले
आफूलाई सम्हाल्न नपाउंदै
एक्कासि बलात्कार गर्यौ तिमीले
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरू
सर्जमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा
हरेक चोटि
हरेक दिन
हरेक प्रहर
हरेक पल
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना
र चोट यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।

चोट
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
कांडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औंसीको रात हुन्थ्यो
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा र्स्पर्श बनेको छ
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
कांडा उम्रने झयाङ बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दांत बनेकी छु
औंसीको अंधेरी रात बनेकी छु ।

सर्कसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
चोट
तिमीले कति चांडै रत्यायौ मलाई
अब त
तिमी र म
नङ र मासु बनेका छौं
कृपण र पैसा बनेका छौं
चोर बाटो र पैताला बनेका छौं

हिंड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
म थाक्तिनं ।

ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आंधीबेरीका झोक्काहरू
लेसोत्तर पारिदेऊ
ध्वस्त पारिदेऊ

चोट
तिम्रो भीमकाय स्वरूपले गांज मलाई
तिम्रा लपलपाउंदा
डढेलाका जिब्राहरुले चाट मलाई
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्काउने तोपखानामा
मुन्टो लुकाउन आउंछु म
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
तर पक्का हो
कान फोरेर सुन चोट
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नं
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नं ।

Wednesday, August 8, 2007

तिम्रो अभाव

रिचा शर्मा तिवारी


तिम्रो अभाव मेरो जीवनमा
कहाँ कसरी पूरा हुन्छ यो अभाव ?
आऊ तिमी समाऊ मेरो हात
पूरा गर यो अभाव
जीवन बाँच्ने आधार दिएर

खुसी हुने आशाको दीयो बालेर
मेरो जीवनमा तिमी उज्यालो छर
तिम्रो कल्पनाको अभाव
मेरो जीवनमा . . .
सधैँ कसैको आभावआखिर किन ?
कहिले सम्म ?

त्यो तिमी नै हौ
सपनामा मेरो अभाव पूरागर्ने
बिपनामा पनि पूरा गर न
मेरो अभाव !

बस्
तिम्रो आगमनको कामना छ
यो जीवनमा
त्यो अभावको रेखा तोडिदेऊ
आऊ मेरो जीवनमा
अभावलाई पन्छाएर
पूर्णता बनेर ।

म त फगत एउटा--


भरु 'पल'

म त फगत एउटा भर्याङ् - अब कहाँ जाने हजुर------?
मेरो दरिलो मेरुदन्ड समातेर
बलिष्ट करङहरुको खुटकिलो टेक्दै
कैयौं मान्छेहरु माथितिर चढे,
केही हनुमान र सुग्रिबहरु,
सीताको खोजी गर्दै चढे,
र लंकातिरै मुग्लान पसे,
केही स्याल र हाइनाहरु सिनोको केवाब छपाउदै चढे,
र पदीय लालचको बैतरणी तर्दातर्दै मरे,
केही बाङपाटे र पिरानाहरु मेरो कठालो समाउदै चढे,
र सफलताको 'बेसक्याम्प' तिर अगाडि बढे,
म भने फगत एउटा भर्याङ हुनुको गर्विलो छाती छाम्दै
अनुशासन र इमानदारिताको पदचापभित्र डुबिरहें,
मैमाथि टेकिने तिनका जबरजस्त पाउहरु चुमिरहें,
'जो हुकूम' को भारीमाथि भारी थेक्दै,
स्वाचलित यन्त्रबत उभिरहें
माथि च् ढ्दा - उन्नतिको ओलन चाट्दै
कसैले मसंग स्वर्ग जाने कुरा गर्‍यो,
र मलाई स्वर्गको सपना देखायो,
मेरो टाउकोमा अन्तिम पाइला बजार्दै -
कसैले नर्क बस्ने योजना सुनायो,
र मेरो नाम यमदुतमा दर्ता गरायो,
अनि पछि उही मान्छेहरु -
ममाथि भएर च् ढ्न बेहद डराउन थाले,
दिमाखले बुढा हुन नसकेका नाबालकहरु
मलाई देख्दै तर्सेर कराउन थाले,
बर्षौंबात -
अहिले म सम्झन्छु
यत्रो निर्दयी बेमौसम समयले
अवसरको आकाश उघारिरह्यो,
च् ढ्नेहरुको भिडबाट स्वार्थ नै स्वार्थको गन्ध आएपछि,
म भने माथि पनि गईन,
झर्नेहरुको भिडबाट तिरस्क्रित भएपछि,
सांचो अर्थमा - म तलको पनि भईन,
हजुर,
म त फगत एउटा भर्याङ - अब कहाँ जाने?

------------
नोर्थ योर्कशायर, बेलायत।

Tuesday, August 7, 2007

आधारातमा ब्यूँझदा

कृष्णभक्त श्रेष्ठ


आधारातमा ब्यझे कुनै बेला भने
मानसिक र शारीरिक दुवै दृष्टिले
आफूलाई एक्लो पाउँछु
नित्तान्त एक्लो
सहनै नसकिने गरी एक्लो

अनि, कसैले केही नगरे पनि
निकै वाधा व्यवधान भएको अनुभव गर्छु

साधारणतया त्यस्तो बेला
गिलासमा उब्रेको
बासी रक्सी फेरि धोक्छु
भोलि बिहानैदेखि फलामे टाउको
सकीनसकी बाकी हिडनु पर्ने कुरा
राम्ररी थाह पाउँदा प।उँदै

जाँगर चले नयाँ केही कोर्न बस्छु
नभए पुरानो अधुरो कुनै पूरा गर्न खोज्छु

कारण/अकारण
सामान्य कुरा
असहज र असामान्य भयो भने
अस्वाभाविक परिणाम निस्कँदो रहेछ

त्यस्तो बेला
कसैको भजन नगाउँने
आराधना नगर्ने मान्छले
या त केही सिर्जना गर्न लागिपर्छ
नभए
जानी जानी
कत्ति आनाकानी नगरी
आफैंलाई अधिकतम् हानी पुर्‍याउँछ ।

यो समय र मान्छेहरू

अज्ञात युवक


यतिखेर
म सँगै समयलाई
स-साना झोक्काहरूले
बिउँझाइरहन्छन् बेला - कुबेलामा
मान्छेका अनुहारहरू
प्रतिविम्बमा आउँछन्, हराउछन्
केवल पीडाहरूसँगै

म,
मान्छे भएर मान्छे नियाल्छु
म, स्वयंलाई मान्छे देख्दिन
यो समय र मेरो दुर्भाग्य
समय र मेरो आँखा
यतिखेर आहत छ
आहत मेरो मित्रतामा
देशसँगै मेरो स्वीकृती पाइरहेछ
मान्छेलाई मान्छेमा देख्न
म देशसँगै
समयका ती दिनहरू खोजिरहेछु ।

आङ्खनै छाँयादेखि त्रसित यो समय र म
मान्छेको अनुहार र प्रतिविम्ब
मेरो लागि र यो समयको लागि
स-साना झोक्काले पनि हिर्काइरहन्छ
प्रहारसँगै घात प्रतिघात
अमूल्य उपहार दिइरहेछ
यो समय र मान्छेहरूलाई
केवल...........।

जिकिर


टंक वनेम

मरि सकेकि आमा
खाप्पुना मरङ्ना
छोरा छोरीको मायाले
नसकेको मेलोमा
आई रहन्थिन्
र भन्थिन्
ए नानीहरु हो !
मेरो मृत्यु भएको थाहा हुँदा हुँदै
तिमीहरुको मायाले
साँच्ची मर्नै सकिन

नसकेको अधुरो काम सक्न
आइ रहन्छु
हो-
खाप्पुना मरङ्नाले
टेकेको माटो
त्यहि लिम्बूवान हो
त्यहि लिम्बूवानमा
शुरु भएको थियो
यो श्रुति परम्परा ।
आमाले गरेको माया
आमाले ख्वाएको दश धारा दुध
छोरा छोरीले तिर्नु छ भने
नसकेको मेलो सघाउने आमाको
महानताको श्रृण चुकाउनु छ भने
के लिम्बूवानको लिम्बूहरुले
लिम्बूवानको कुरा उठाउनु
अपराध हो ?
आमाको अस्तित्वमा
रखवारी गर्न
पाउने कि नपाउने ?
छोरा छोरीको दुःख सहन नसकेर
मरि सकेकि आमासंग
स्वस्ति शान्तिको कामना गदै
त्यहि श्रुति परम्पराको
रक्षा खातिर
साहित्य शब्दहरुमा
गिदीको मसी पोख्न
पाउने कि नपाउने ?
भन्नुहोस महाशय !
अब-
ख्याल ख्यालमा
यि र यस्ता
माटीकोरे सवालहरुमा
फैसला गर्नु पर्छ
मालुम होस
श्रुति परम्पराको आमा
खाप्पुना मरङ्नाको
पारलौकिक कर्म गर्न
पाइन्दैन भने
कलमको मसीले
तिम्मकको घोडी र
भुत्ते भएको फे को धार
अर्जाप्न
कम्मर कस्नै पर्ने भो ।






Monday, August 6, 2007

म्यूजियम


युमा


छैन
कुनै नामोनिशान छैन
जीवनको
म्यूजियममा

अभिलेखमा
छैन
दरिद्रतम बस्तीको
सास निस्सासिने
जीवन्त रामझुपडी,
राखिएको छ
सम्राट्को वैभवशाली
निजी बेडरुम
म्यूजियममा
जसले
बताइरहेछ
अभिजात्य संस्कृतिको
दुर्दान्त कथा

शासकको ग्रे कोटको
फुत्किएको टाक
राजकुमारहरुले ज्युनार गरेका
आइसक्रिमका रित्ता कपहरु
ऐतिहासिक महत्वका
दुर्लभ वस्तुहरु
सरह
सुरक्षति राखिएको छ
म्यूजियममा

म्यूजियममा
टागिएको छ
बर्षौदेखि
तरवारको धारझै धारिलो
जुगा सहित विराजमान
शासकहरुका
मधुर मुद्राका
पोट्रेटहरु
राखिएको छैन
म्यूजियममा
राज्ययन्त्रको
हिंस्रक दात,
क्रुरता र अमानवीयता

म्यूजियममा
संङ्कलित छ
रानीसाहेबका कस्मेटिक्सहरु
राजकुमारीका
सयौ जोर जुत्ताहरु
सङ्कलनमा छैन
रामदुलारीहरुका रित्ता खुट्टाहरु
र,सुखिराम चौधरीको निधारबाट
बगिरहेको एक एक थोपा पसिना

राखिएको छैन
प्रियतमाको कोमल मुस्कान
म्यूजियममा
कुनै स्थान छैन
म्यूजियममा
बुढी आमाको
वेदनाको पहाड राख्ने,
किन छैन
म्यूजियममा
असंख्य आसुको सामुहिक सङ्कलन
किन
कहिल्यै पनि
राखिदैन
आम मान्छेहरुको जिन्दगी
म्यूजियममा उ

भावसमर्पण


मोमिला

शहीदहरुप्रति........

आज, ति म्रा रगतका थोपाहरु
मेरा सितारका तारहरुमा
छल्किरहेछन्...
म, मेरो अलपत्रे बाँसुरीमा
केवल तिमीलाई भर्न चाहान्छु...
तिम्रो एकथोपा रगतको बदला
मैले केही दिनुपर्दा
म, तिमीलाई
मेरो जनमभरको आँसु कैद गरेर
मेरो कविताका उत्कृष्ट भावहरुको
अर्घ दिन चाहान्छु
तिमी ती भावहरुमा
कवि रिमालको सपनामा जस्तै
हिउँ र आगोभन्दा पनि बढ्ता
छोइने भएर आइदिनू
म, मेरा कविताका उत्कृष्ट शब्दहरु
अर्पण गर्न चाहान्छु
तिमी ती शब्दहरुमा
नेपाली आकांक्षाको
उत्कृष्ट धुन बनेर बजिदिनू,
म, मेरा भविष्यका सारा वर्तमानहरु
तिमीलाई नै र्समर्पण गरिरहेछु....
तर कुन्नि किनहो !
तिम्रा अश्रुबुँदहरु
आज, मेरो आफ्नै आँखामा
छल्किरहेछन् ।

Sunday, August 5, 2007

लास खोई ?

केशव सिल्वाल


तिमीले मुन्टो बटार्दैमा
के बटारिन्छ हावाको दिशा ?
तिमीले फेर्दैमा गीतको भाका
के फेरिन्छ झरनाको झङ्कार ?
तिम्रो अडवाङ्गे चालले
के भासिन्छन् हाम्रा गोरेटोहरू ?

आसुलाई आगो बनाउन
अब सिकाइरहनु पर्दैन
हामीले जानी सक्यौँ
रातो झण्डा हल्लाउन
सिकाइरहनु पर्दैन
हामी आफैले सिलाई सक्यौँ
हिँड्नलाई बाटो देखाउनु पर्दैन
हामीले बाटो पहिल्याई सक्यौँ

त्यसकै अन्त्य चाहियो
जसले हत्या गर्‍यो हाम्रो समयको
त्यसकै अन्त्य चाहियो
जसले हत्या गर्‍यो हाम्रो सपनाको
त्यसकै अन्त्य चाहियो
जसले हत्या गर्‍यो हाम्रो इतिहासको
त्यसकै अन्त्य चाहियो
जसले दागा धर्‍यो हाम्रो चेतनामाथि

कसरी ब्युझन्छ मरेको व्यक्ति ?
करोडौँ मानिसको मुटु चोरेर
के तिमी प्रत्यारोयण गर्र्छौ मुटु ?
करोडौँ मानिसको धड्कन झिकेर
के त्यसमा भर्र्छौ धड्कन ?
त्यति सस्तो छैन मुटु
सडकको दायाँबायाँ फुलेको फूलझैं
सजिलै टिप्न सक्दैनौ
त्यति सस्तो छैन धड्कन
खुकुलो माटो खोस्रिएर
बालुवा झिके झैं झिक्न सक्दैनौ

तयार भइसक्यो हरियो बाँसको घारो
मलामी ठीक परिसके
एकोहोरो शंख बजिसक्यो
खोई, लास खोई ?

नीला पाइला टेक्ने राता मान्छेहरू


ठाकुर वेलवासे


ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु

रगतले मुख धुन इच्छा राख्ने
इश्वरप्रति
मेरो खेद छ

ताराहरूका छाती कुल्चिएर
आफ्नो अधिपत्यको
उचार्इगर्व खोज्ने
इश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

आक्रोशका रगतले
नसाहरू भरेर
खडेरीको मौसम सिर्जना गर्ने
इश्वरमा
मेरो समवेदना रहन सक्दैन

भोको पेटले
पानी उमार्न
माटोसँग भगीरथयुद्ध छेड्ने
मान्छेअगाडि
नतमस्तक क्षितिज आफै ओर्लन्छ

सम्भ्रान्त बस्तीतिर बहकिने
इश्वर
शरीर ओछ्याएर बाँधमा
एउटा नदी नै पटाएर
मरूभूमिको बस्तीतिर
पारिजात फुलाउने मान्छे
के मान्छे अर्कोर् इश्वर जन्मन सक्दैन
हरेक प्रभातमा यही
कल्पना गर्ने गर्छु

एउटा यस्तो मान्छे
बारुदबाट समयलाई
सधैँ बचाओस्
एउटा नीलो आकाश उघारोस्
अनि
रक्तहीन समयलाई निर्भय फैलन दैओस्
त्यो मेरो भगवान् मान्छे

म निरन्तर आराधना गरिरहेको छु
नीला पाइला टेक्ने
राता मान्छेहरू

Saturday, August 4, 2007

बाल्यकाल


कृष्णभुषण बल


सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा
पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ
आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ
कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए
कति सुकुमार बितेका दिनहरु जहाँबाट मैले यत्रो यात्रा थालेको थिएँ
अँगालोबाट फुत्काउन मनै नलाग्ने प्रेयसीजस्तै ती नफर्किने दिनहरु
प्रत्येक बिहानीले हिमाललाई चुम्बन गरेजस्तै सम्फना मात्र बाँकी छाड्ने
ती
उत्सवहरु
परेलीको बारले छेक्नै नसकेर पल्टेका थोपाजस्तै ती विगतहरु
सुन्दर सपनाको फूलबारीजस्तै विपनामा फेरि सादृश्य हुँदैनन्
सत्य भएर पनि बालुवाको घरजस्तै लाग्ने विपनामा कुनै घर हुँदैन
वर्तमानमा मात्र थाहा लाग्दोरहेछ आफूबाट चिप्लिएका समयहरु
हत्केलाबाट फुत्केपछि समय पनि साँढे हुँदोरहेछ
छाडेर केवल सम्झनाहरु

जिन्दगी-क


उपेन्द्र सुब्बा


शत्रुको बगैँचामा
फुलेको फूल भयो जिन्दगी ।

देख्नेले भने-
कति सुन्दर !
छुनेले भने-
कति कोमल !
कतिले भने-
आह !
कस्तो मीठो वासना !

त्यो जिन्दगी
न त मैले देख्न पाएँ
न त मैले छुन पाएँ
न त मैले वासना नै लिन लिएँ
शत्रुको बगैचामा
फुलेको फूल भयो जिन्दगी ।

आखिर म तिम्रै भाइ हो

स्वप्निल आचार्य


जसले जितेपनि यही कुरा भन्ला
यहाँ नभएपनि कहीँ त होला ।
जति चोट दिन्छौ देउ, माया यो तिम्रै लागि हो
यो कुरा चाँही नभुले आखिर म तिम्रै भाइ हो ।
हजार घाउ होला छाती चिरिरहेको
यो कुरा चाँही नभुले आखिर म तिम्रै भाइ हो ।

हिंडेका हामी थियौँ काँधमा काँध हाली
संगै खेल्ने गर्दथ्यौँ यही आँगनीमा हामी ।
कहाँ गए ती दिन, कसरी टुट्यो नाता?
नाता टुट्यो ल सही रगत एउटै हो ।
यो कुरा चाँही नभुले आखिर म तिम्रै भाइ हो ।

हिजो छोडी गएको ममता घर आएमा
बालापनका दिनहरु कतै फेरी सम्झेमा ।
बोलाउनु मलाई तिमी बाँड्नलाइ फेरी खुशी ।
खोज्नु मनभित्र कतै, सत्यता त्यही नै हो ।
यो कुरा चाँही नभुले आखिर म तिम्रै भाइ हो ।

गुन्जिने छ जुन पल शान्तिको यहाँ बाँसुरी
फर्की आउनेछौ तिमी ईखलाई त्यहीँ मारी ।
त्यो पलले ल्याईदिनेछ आँसुले आँखा भरि ।
हाँस्नेछ हाम्रो भूमि, विजय त्यही नै हो ।
यो कुरा चाँही नभुले आखिर म तिम्रै भाइ हो ।

Friday, August 3, 2007

अँध्यारोका विरुद्धमा

मातृका पोखरेल


अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ/अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलाई झम्टँदै आयो
मेरो भगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।
जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तक्र्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।
त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै-थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरुद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कंदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडे ।

बिदाइमा उठेका हातहरु


दिलिप योन्जन


बसपार्कमा उभिएर बिदाइमा
तिमिले आँखाभरि मोती सजएको
भाबना छल्किन्दा आँसुले गाला भिजेको
रातभरि सुकसुकाउदै गरेको बाचाहरु
तिम्रो आँसुले मेरो निद्रा उडाएको
त्यो रात बशौ बितेपनि
मेरो मस्तिस्कको आकाशमा
मेरो आँखाको सागरमा
तिम्रा शब्दहरु रिदयभरि गुन्जिरहन्छन्
म डुबिरहन्छु, हराइरहन्छु
झिनो आशाको लामो गन्तब्य लिएर
भाबबिहवल भएर एक्लै छटपतिन्छु
वारि पारि छितिजभरि खोजिरहन्छु
जब गोधुली गल्दै जान्छन
यनभरि तिमी घुमिरहन्छौ, उडिरहन्छौ
चाहनाहरु छताछुल्ल पोखिन्छ
कोमल आत्मा पोल्छ, ट्टाउँछ
ढुकढुकी खोज्न थल्छ रक्तिम किरणसरी
जब जब साँझ अन्धकार रात बन्छ
तिम्रो मीठो निद्राले ब्युझाइ रहन्छ
रातभरि छटपटाएर घायल बन्छु
सपनीभरि स्वर्गमा उडिहिदे नि
तिम्रो अगालोमा बाँधिएर हराउन सक्दिन
म आफु आफैमा हराउन सक्दिन
ओल्टिन्छु, कोल्टिन्छु, थकित मेरा यादहरु
त्यसैले त हर रात अनि दिनहरु
पल पल पलभरिको लागि भए पनि
मुटुभरि सजाएर
परेलीभरि टिल्पिलाएर
रिदयभरि तस्बिर साचेकोछु
मेरो सम्झना गरी सधै सधै तिनी
हाँसोका पलहरु सँगै खुशीका खित्काहरु
बाचा बन्धनका अमर आधारहरु
कल्पनामा कोरिएका सुन्दर महलहरु
आज पनि मेरो सामु जीबित छन्
तिम्रो आस्थामा डुबेका भबनाहरु
आँखाभरि छल्किएका चाहनाहरु
सँगसगै बिदाइमा उथेका कोमल हत्केलाहरु

-------------------
साउथ अमेरिका

मेरो लिम्बिवान फिर्ता देऊ

रोशन यक्सो "मूलसुब्बा"


तिमीलाई तिम्रो घरखेत माग्दिन
तिम्रो धनसम्पती पनि म सग्दिन
काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन
सिंहदरवारभित्रको कुर्सी
जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू
लड्ने गर्छौ, बाझ्ने गर्छौ
त्यो कुर्सी तिमिलाई माग्दिन
त्यो तिमी नै राख ।
नारायणहिटी भित्रको कुर्सीजसको निम्ती
विरेन्द्रको पूरा वंश विनास भयो
त्यो कुर्सी पनि माग्दिन
त्यो पनि तिमी ने राख ।
सिंहदरवार तिमी नै राख
नारायणहिटी पनि तिमी नै राख
अझ सम्पूर्ण काठमाण्डौ तिमी नै राख
तरतिमीले हिजो झुक्याएर मसंग लिएको
लिम्वुवान माग्छु ।

तिमीसंग त्यो फक्ताङलुङमा माग्छु
जसलाई तिमीले कुम्भकर्न बनायौ
त्यो तुम्रिसे माग्छु
जसलाई तिमीले डुम्रिसे बनाएका छौ
त्यो मुकुमलुङ माग्छु
जसलाई तिमीले पाथिभारा बनाएका छौ
त्यो फेदेन माग्छु
जसलाई तिमीले फिदिम बनाएका छौ
समग्रमा म लिम्बिवान माग्छु
मेरो आफ्नै लिम्बिवान ।
म तिमीलाई काठमाण्डौ माग्दिन
तिम्रो अधिकार पनि माग्दिन
तरम तिमीसंग मेरो अधिकार माग्छु
मेरो आफ्नै पहिचान माग्छु
मेरो आफ्नै अस्तित्व माग्छु
जसलाई तिमीले खोसेर लिएका थियौ/राखेका छौ
झुक्याएर लिएका थियौ/राखेका छौ
म तिमीलाई अरु केही माग्दिन
भो ! मलाई तिम्रो केही पनि नदेऊ
तर मलाई मेरो लिम्बुवान चाहिन्छ
हामीलाई हाम्रो लिम्बुवान चाहिन्छ
हो ! हामीलाई हाम्रै लिम्बिवान चाहिन्छ
हाम्रै पहिचान चाहिन्छ
हाम्रै अस्तित्व चाहिन्छ
मलाई मेरो लिम्बिवान चाहिन्छ

--------------
ताप्लेजुङ, हाल: काठमाण्डौ

राष्ट्रिय गान


व्याकुल माइला


सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

Thursday, August 2, 2007

षड्यान्त्रको जाल


टंक सम्वाहाम्फे


धेरै पटक
फाली सक्यौ
धमीलो पानीमा
षड्यान्त्रको जाल
अव नसोच
त्यसै गरी माछाहरु
जालमा पर्लान भनेर
समयले
कोल्टे फेरि सक्यो
अझै पनि सोच्छौ होला
कि पानी धमीलै छ
र अन्योलमा छन् माछाहरु
तर साङली सक्यो
धमीलो पानी
त्यसैले चेष्टा नगर
षड्यान्त्रको जाल फाल्न
किनकी साङलो पानीमा
जुनसुकै
वा जस्तोसुकै जाल फाले पनि
त्यो हरेक माछालाई थाहा हुन्छ
कि जाल कसरी फालिन्छ भनेर
तिमीलाई थाहा नभएको हुन सक्छ
धमीलो पानी साङलीएको
वा पुरातन सोचमा अल्झिएर
साङलो पानीलाई
धमीलै सम्झेर
अझै पनि षड्यान्त्रको जाल
फाल्ने कोशीस गरीरहेछौ
अव सोच्नु
धमीलो पानीमा
माछाहरु हुदैनन् भनेर
र सोच्नु
साङलो पानीमा
षड्यान्त्रको जाल फाल्न सकिदैन भनेर
यदि साङलो पानीलाई
धमील्याएर
षड्यान्त्रको नया जाल
फाल्न खोज्यौ भने
त्यो घातक हुनेछ तिम्रै लागि
किनभने पानीमा
मात्र निर्दोष माछाहरु हुदैनन्
त्यहा खतर्नाक
सार्क माछाहरु पनि हुन सक्छन्
जस माथि
षड्यान्त्रको जाल
आखा चिम्लेर फाल्यौ भने
जालसंग जल्हारीलाई पनि सिध्याउनेछ
किनकी सार्क माछाहरु
आफ्नो विरुद्ध धावा वोल्नेहरुलाई
आफ्नै शिकार वनाई दिने गर्छन्
त्यसैले एक्काइसौ शताब्दिको
साङलो पानीलाई
धमीलो सम्झेर
षड्यान्त्रको जाल फाल्ने
घृष्टता नकस्नु
किनभने हरेक माछाहरुलाई
थाहा भैसक्यो
कि जाल कसरी फालिन्छ भनेर

मान्छेको मन

विष्णुविभु घिमिरे


सर्पको बिषालु दाँत जस्तै
मान्छेको जहरिलो मन पनि
सर्पका अरु साधारण दाँतभित्रै लुकेझैँ
मान्छेको पापी मन पनि
उसको स्वाभाविक मनसँगै कतै लुकेको हुन्छ
साधारणतया र्सपले सधैँ डस्दैन
साधारणतया मान्छेको पनि
यो मन सधैँ देखिदैन
अवसर आउनुर्पर्छ दुवैलाई
कहाँ कतिखेर
अकस्मात् डस्ने हुन्
कसैले भन्न सक्दैन ।
जतिसुकै पवित्र मनले सोँचे पनि
मान्छेको मन कहिल्यै र्सवत्र पवित्र हुँदैन
जब उसको पापी मन ब्यूँझन्छ
त्यतिखेरमान्छे र्सपभन्दा डरलाग्दो हुन्छ
मान्छे बिच्छीभन्दा भयानक हुन्छ
पशु स्वभावको एउटा सीमारेखा हुन्छ
मान्छेसँग कुनै निश्चित स्वभाव हुँदैन
तिमी निश्चिन्त हुन चाहन्छौ भने
कसैसँगको निश्चित निर्ढक्क बिश्वासमा पनि
अलिकति अविश्वास कतै न कतै जोगाएरै राख
अलिकति फरक अलग्गै
सीमारेखा कोरेरै राख
त्यो अविश्वास जोगाउन सकेनौ भने
त्यो सीमारेखा कोर्न सकेनौ भने
मान्छे के गर्छ, के गर्दैन
मान्छेको बारेमा म केही भन्न सक्तिनँ ।

पतन गर तिम्रा वीर्यहरु !


शिव प्रकाश - हरैंच /मोरङ
पतन गर तिम्रा वीर्यहरु
भड्खालामा,
खोल्सामा,
पँधेरामा,
नजन्माउ कुनै सन्तान्
वीर्यका बाछिटाले नुहाउने
यौन सुन्दरी पिंगलाहरु
नारी अलङ्कार पहिरेर
सहरका गल्लीहरुमा
सतिसावित्रीको अभिनयमा
सीताको आँलच अस्तित्व
निश्छल सतित्वमाथि
धब्बा लगाउने छोरीहरु ।
पतन गर तिम्रा वीर्यहरु
ओछ्यानमा,
पाइखानामा,
नजन्माउ कुनै सन्तान्
मानवतामाथि धावा बोल्ने
सृष्टिका सुन्दर सृजाना
लहलहाउदा यौवनाहरु च्यात्ने
द्रौपदीहरु लुछ्ने दुशासनहरु
पुरुषत्वका नाउँमा
स्त्रीत्व अस्मिता लुटेर
यौन उन्माद मनाउने
मान्छेको छाला ओढेका छोराहरु ।
पतन गर तिम्रा वीर्यहरु
खेतमा,
हातमा,
झारपातमा,
नजन्माउ कुनै सन्तान
धरतीका बोझ
अनायास हाँसेर बाँचिरहेकाहरु
बाँचेर मरिरहेकाहरु
मान्छे जस्ता देखिने
नपुङ्सक मान्छेहरु ।
-------
हाल - बोष्टन / अमेरिका । जूलाई ३१,२००७