Saturday, August 4, 2007

बाल्यकाल


कृष्णभुषण बल


सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा
पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ
आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ
कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए
कति सुकुमार बितेका दिनहरु जहाँबाट मैले यत्रो यात्रा थालेको थिएँ
अँगालोबाट फुत्काउन मनै नलाग्ने प्रेयसीजस्तै ती नफर्किने दिनहरु
प्रत्येक बिहानीले हिमाललाई चुम्बन गरेजस्तै सम्फना मात्र बाँकी छाड्ने
ती
उत्सवहरु
परेलीको बारले छेक्नै नसकेर पल्टेका थोपाजस्तै ती विगतहरु
सुन्दर सपनाको फूलबारीजस्तै विपनामा फेरि सादृश्य हुँदैनन्
सत्य भएर पनि बालुवाको घरजस्तै लाग्ने विपनामा कुनै घर हुँदैन
वर्तमानमा मात्र थाहा लाग्दोरहेछ आफूबाट चिप्लिएका समयहरु
हत्केलाबाट फुत्केपछि समय पनि साँढे हुँदोरहेछ
छाडेर केवल सम्झनाहरु

No comments: