Thursday, August 23, 2007

परिभाषामा

भीमा खजुम

त्रासदी अन्धकारभित्र
नरोकिएको जीवन-दैनिकीको
पन्ना-पन्नामा चिप्लिएर
लामो रातको सन्नाटाभित्र म
अर्न्तर्द्वन्द्वको गहिराइमा परी
बिना सम्झौता भागेको योद्धाझैँ
लुसुक्क रमाउन थालेकीछु
समयको यस बिहानीसँगै
दिन अनि साँझहरू
मेरो समिप अस्तव्यस्त उभिन्छन्
जहाँ म अन्यौलताको थाकभित्र
पुरै पुरिएकी हुन्छु
आफैले हराएको मेरोपन
त्यही अन्यौलतामा शून्यता पिएर
खितखिताउँदै हाँस्छ रे
मैले निलेका सन्नाटाभित्र
शून्यताको परिभाषा खोज्न
भर्खर-भर्खर ब्यूताउँन लागेकीछु
कुन्नि के थाहा,
यो लामो शून्यताबीच
तिम्रो परिभाषाले मलाई
जिउँदै समवेदनाको चौघेराभित्र
पुष्पहार सजाएर श्रद्धाञ्जली
चढाइसक्यो कि ?
मेरो परिभाषामा म
यद्धपि जिउँदै छु
अन्यौलताको थाकभित्र पुरिएर ।

No comments: