Monday, August 13, 2007

टिष्टा र राबी नदीका सपनाहरु


टंक वनेम

इतिहासको गर्भ मै टुहुरा भएर
दाम्साङ गढी र राबी नदी
सुगौली सन्धिले बारेको
मेचीको धार चिमोटिन्छ
दिनदहाडै कोपारिन्छन्
जङ्गे पिलरको नाङ्गो छाती
सुस्केरा हालेर हर्रर ....
बग्छ रे टिस्टा नदी ।

असल छिमेकी रोजेर नपाइने भए पछि
सुस्ता महेशपुर सुसाउन सकेनन्
कालापानी टिङ्कर भन्ज्याङ्
टिकापुर, भजनी टिक्न सकेनन्र्
बर्तमान
राक्षसले अपहरण गरेको
दन्त्य कथाको राजकुमारी झैं
मध्य रात र मध्य दिनमा
बिरही भाका हालेर
बास्छ रे टिस्टा नदी ।

सहेर आर्दश हुनुको पनि त
पिडा हुन्छ क्यारे
बलत्कार भएर बाँच्नु त
झनै कति गाह्रो हुँदो हो
शायद
तिनै अब्याक्त बेदनाहरु मा
सुस्केरा हालेर हरहर
रुन्छ रे राबी नदी ।

सीमास्तम्भ रुङ्ने बन्दुकहरु
आफ्नै स्वाभिमान झोसि रहेछन्
माटोको लागी लड्ने सङ्गिनहरु
आफ्नै छाती घोचि रहेछन्
रगतको गन्धमा सप्रन्दो छ
स्वाभिमानी देश प्रेम ।

अनि त
राबी नदी रोए जस्तै
रुन नसकेर
टिस्टा नदी बासे जस्तै
हाँस्न नसकेर
कबि हुनुको नियति
कबिताको बाँझो खेतमा
स्वाभिमानि हिमाल ठड्याउनु
के अनौंठो भो र ?

तरै पनि
सपनाको ताँदोमा
बिपनाको बाण चढाएर
इतिहासको बूढी आमा
सकि नसकि
राबी नदीको जङघार
तर्दै गरेकी हुन्छे
दालिमहाटको भन्ज्याङ्
नाँघ्दै गरेकी हुन्छे ।

हो
स्वाभिमानी छातीले
कति सहनु ?
अतिक्रमणको नाङ्गो प्रहार
अहङ्कारको पर्दाले छोपिएर
कति लड्नु
सकुनि युद्ध ?
कि दृष्टिहिन धृतराष्ट्र झैं
बन्ने हो स्वयम्भू आँखा ?

नत्र अलिकति
दुख्नु पर्दथ्यो टिकापुर
पिडाले छटपटाउनु पर्दथ्यो
माने भन्ज्याङ्
बिद्रोहि स्वारःले
कराउनु पर्दथ्यो
महेशपुर
जङ्गेको जोशमा
तरवार निकाल्नु पर्दथ्यो
जङ्गे पिलर
बिद्रोहको तोप पड्काउदै
कांगडा र दालिमहाट ।

तर
जिम्मेवार छातीहरुमा
स्वाभिमानको लेउ नपलाए पछि
पराजयको पिडा भोगेर
इतिहास र बर्तमानको
सारङ्गी रेट्दै
बिरही भाकामा बास्छ रे
बिचरा ! टिष्टा नदी
बिपनामै ऐँठन लागेर
सपनै देख्न छाड्यो क्यारे
बिचरा ! छम्ब भूमी ।

-----------
हाल ,वेलायत

No comments: