Monday, August 13, 2007

कलमवीर र गोठालाहरु

लोक सिङ्गक

निस्केका गोठालाहरु
चढ्न फूलको सगरमाथा
उज्यालो पर्खेर
अपाङ्ग वर्तमानसँग
एउटा सन्नाटा
अँध्यारो पछि उज्यालोको सन्नाटा जस्तै ।

लछ्राप्प भिजेर
क्रस फायरको तुषारोले
लुगलुग कामिरहेछन् गोठालाहरु
चुपचाप चुपचाप
आज गयो
भोलि टुहुरा चल्लाहरु र रित्ता काखहरु ।
परिणती वाँच्नुको उरुङ्गबाट
सवलाङ्ग खुट्टाहरु
छलाङ्ग मार्दै
परिस्थिति -
समुन्द्रपारीको वाध्यतासँग
शोक विर्षोका अहोरात्रिसँग ।

ओझेल परेर
जुनको अर्को पाटामा
हुरि असिनाको बादल मुनि
कलमवीरहरु
रोइरहेछन् जोड्दै
भिजेको कागजभरि
कथा - हराउनेहरुको
कथा - इतिहासमा छुटेका शब्दहरुको ।

शुरुवात - सुन्यबाट हुन्छ
आज - उस्तै रहन्न
परिवर्तनको इजलासमा
कलमवीर र गोठालाहरु
पानीको लठ्ठी टेक्दै
लम्किरहेछन् खुल्ला परिवेशमा
थाम्न भोलिको आकासलाई ।

--------
धनकुटा/हाल कीर्तिपुर, काठमाडौँ ।

No comments: