Monday, August 27, 2007

यक्ष प्रश्नहरु

मनरुप नेप्च्युन


आजभोलि प्रजातन्त्र कहाँ छ ?
किसानहरुको चुलोमा
प्रजातन्त्र कतै भेटिएन
भोका पेटहरु बाहेक
मजदूरहरुका झुप्राहरुमा
प्रजातन्त्र कहिल्यै देखिएन
नाङ्गा अङ्गहरु सिवाय
भरियाहरुको बाटोमा पनि
प्रजातन्त्र कतै छैन
नाङ्गा पदचापहरु बाहेक
आज भोलि
सच्चा प्रजातन्त्र कहाँ छ ?
गाउँ बस्तीहरुमा
प्रजातन्त्र पुगेको छैन
उत्पीडनका पंजाहरु सिवाय
पहाडका खोंचहरुमा झनै
प्रजातन्त्र छैन
माओवादी जनकङ्गालहरु बाहेक
तर्राईका फाँटहरुमा पनि
प्रजातन्त्र पाइएन
जङ्गेपिलरका भग्नावशेषहरु सिवाय
यहाँका नदीनालाहरुमा समेत
प्रजातन्त्र भेटिएन
विवशताका आँसुहरु बाहेक
तसर्थ
आजभोलि सधैं जसो
निन्द्रामा यक्ष प्रश्नहरुले
मलाई झस्काउने गर्छ-
"वास्तविक प्रजातन्त्र कहाँ गयो ?
कतै संसदभित्रै
खसीबजारको बोका झैं
लिलाम बढाबढमा त परेन ?"

No comments: