Thursday, August 23, 2007

रहर


हरिभक्त कटुवाल

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहास पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

No comments: