Tuesday, August 21, 2007

इन्द्रेणीको रङ्ग - २


रामगोपाल आशुतोष

अचेल म
चिहानमा सुतेर आपैFmलाई श्रद्धाञ्जली दिँदै सोच्छु
यो धर्तीमा इन्द्रेणीको मोल कति छ ???
कसले खाइरहेको छ इन्द्रेणी पसिनाको मोल ???

आफ्नै आकाशमा छरिएर
छरपस्ट इन्द्रेणीको पातपात, हाँगाहाँगामा
विदीर्ण अनुहारहरू, आरोपको रूख रोपेर
साम्प्रदायिक रङ्ग दिन्छन् इन्द्रेणीका रङ्गहरूलाई ।

ती विदीर्ण अनुहारहरू
सात सालपूर्वका गरिब नियतिहरू
देखेर इन्द्रेणीको रङ्ग, विस्मयले काँप्छन्
त्रसित छन् ती अनुहारहरू
इन्द्रेणीको चेतना र उनीहरूविरुद्ध बढिरहेको ज्वाला देखेर

पटकपटक, समयको मूल्यमा झुन्डिएका हुन्छन् र
इन्द्रेणीका ती सारा रङ्गहरू राष्ट्रका नाममा सहिदहरू

एक समय काटिएका थिए
पराजयको नियति र काँतर रातको बलमा
विरोधावलीमा उम्रिएका नाकहरू
बगाएको थियो रगतको आहालमा
परिश्रमका पसिना, कर्मठ बाहुबलहरू
कीर्तिमान कायम गरेको थियो २३७ वर्ष अघि
रगतको साम्राज्यले गरेको थियो आक्रमण
स्थापित गरेको थियो एकछत्र शासन
वर्गीकरण गरेको थियो इन्द्रेणीका रङ्गलाई
घोषणा गर्दै एकतन्त्रीय विदीर्ण अनुहारको शासन
र चलाएको थियो शोषणको अभियान

बनाएर आरोपित साम्प्रदायिकताको
विदीर्ण अनुहारहरू लालायित थिए
अभिशप्त इन्द्रेणीको मृत्यु

इन्द्रेणी जो आँखाभरि मृत्यु सजाएर
उठे शिरमा कात्रो ओढेर
तत्पर बने आफ्नो लासको मलामी आफै बन्न
तिलाञ्जली, आहूति दिएर संवेदनाहरू आफ्नो
क्रान्तिधुन बजाए समावेशी इन्द्रेणीका लागि

इन्द्रेणीलाई थाहा थियो
कुकुरको पुच्छर सोझो हुन सक्दैन
थाहा थियो देखाउनेछ विदीर्ण अनुहारहरूले आफ्नो औकात
आफ्नो दुनो सोझिएपछि सत्तामोहले थिच्नेछ उनीहरूलाई
खानेछ उनीहरूले पहिलेजस्तै
समावेशी लोकतन्त्र र गणतन्त्रको मूल्यलाई

विडम्बना !
प्राचीन समयभन्दा फरक छ वर्तमान इन्द्रेणी
विदीर्ण अनुहारमा कान्ति छैन
भनौँ मुजा परेको छ अनुहारमा
त्रासले बसाएको छ उसको कञ्चटमा खाल्डो
दुब्लाएको छ ऊ र उसको तरुणो हुने सपना

म देखिरहेछु चिहानबाट ब्यूझेर अन्यायको मृत्यु
किनभने आफ्नो चितामा सुतेर
आफैलाई श्रद्धाञ्जली दिइरहेको मेरो
जागृत भएको छ ब्रहृम
फर्केर आएको छ मेरो यायावर चेतना
अनि मसँगै मुठ्ठी कसिरहेका
अनगिन्ती जाज्वल्यमान इन्द्रेणीका हातहरू
पुनर्जागरण, पुनःसंरचनाका लागि बुलन्द आवाजहरू

म देखिरहेछु जागृत इन्द्रेणीहरू उठिरहेको
म देखिरहेछु
कर्मकाण्डीय एकतन्त्रकाविरुद्ध उठेका अनेकहरू
म देखिरहेछु सनातन विदीर्ण अनुहारहरूविरुद्ध
सुस्तरी बढ्दै गरेको डढेलोहरू
हिमालहरू, तर्राईहरू, पहाडहरू ..........

नपत्याए हेर
एकतन्त्रलाई कजाउने इन्द्रेणीमा रातो रङ्ग
बहन सुरु भइसकेको छ नसानसामा...............
--------------------
२०६३/०५/१५

No comments: