Monday, October 15, 2007

नेताहरुलाई

मनरुप नेप्च्युन


आजभोलि
तपाईंहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?
बिचलित जस्तो
देखिने स्वाभिमान
निरीह आकाशमा
उड्न खोज्दैछ ।
तपाईबाट
विदा पाएर हो कि ?
तर
तपाईलाई थाहा छ कि छैन ?
उसको सुनियोजित
आकाशमार्ग चील र
गिद्धहरुको बाटोमा पर्दछ ।
किन कि,
आकाश अहिले
चील र गिद्धहरुको घेरामा छ ।
आजभोलि
तपाईहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?
मानिसको मन, मस्तिष्क त
एकाधिकारवाला कुर्सी हो
जहाँ एउटा मात्र रहन्छ ।
स्वाभिमान या अभिमान ।
स्थापित स्वाभिमान
चर्किन थाल्छ
अभिमानको चापले ।
आजभोलि
तपाईहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?

No comments: