Sunday, July 8, 2007

निरंकुश काठमाण्डु !


विक्रम सुब्बा

शंकाको पखेटा जोडेर चराहरू उडिरहेछन्
अनगिन्ती तारा टाँगेको आकाश
छपनीजस्तै घोप्टिएर
धर्तीको सबथोक नियाली रहेछ
किसिम-किसिमका जहाजहरु
समुद्रपारीका दिमाग आयात गर्छन्
जंगलभित्र लुकेर शीवपुरीको डाँडो
आँखा चिम्लेझैँ गरेर
व्यारेकभित्रबाट जनताका चाल हेरिरहेछ
चुच्चे फुलचोकी डाँडो
कुनै पार्टीको धुर्त सदश्यझैँ दाउ हेरिरहेछ
चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि
दक्षिणतिर चुपचाप बसेर
छिमेकीलेझैँ सब गतिविधी नियालीरहेछ
पत्तो छैन कुनबेला काठमाण्डुले
मुलुकलाई कुन भीरमा खसाउँने हो
तर फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरंकुश काठमाण्डु !

बाजे-बराजुका पालादेखि धरहरा
आकाश घोचेर-गुजारा गर्दै बाँचेकोछ
नाङ्गो शरिरभरि स्वर्ण-भष्म घसेको स्वयम्भु
भिक्षापात्रमा जम्मा गरेको शान्तिले
युगयुगदेखि ज्यान पाल्न बाध्य छ
धसिंगरे गँजडी ‘पशुपतिनाथ’लाई
मन्दिरभित्र नाङ्गै थुनेर
पित्तलको साँढे सेक्युरिटी गार्ड बसेकोछ
चन्द्र शम्सेरको मुजुरा-घरभित्र
संसदमा स्वाँठहरू नाचगानमा मस्त छन्
कसैलाई पत्तो छैन कुनबेला काठमाण्डुले
मुलुकलाई कस्तो थाङनामा सुताउँने हो
तर फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरंकुश काठमाण्डु !

गाउँबाट आएका सफा मानिसलाई काठमाण्डु
विशाल बजारमा नाफाखोरको तालिम दिन्छ
पार्टीमा छिरेको सुकुलगुण्डालाई काठमाण्डु
हातमा मुलुकको तालाचाबी दिन्छ
सिल्लीहरूलाई विश्वविद्यालयमा
दिमाग भुट्ने काम दिन्छ काठमाण्डु
कानुन मुताबिक डकैती गर्नेहरूलाई
विशिष्ट श्रेणीको आदर-पत्र दिन्छ काठमाण्डु
कतै काम नलागेका विदेशीलाई
घरज्वाइँको ताम्र-पत्र दिन्छ काठमाण्डु
पत्तो छैन कहिलेदेखि काठमाण्डुले
मुलुकको ह्याकुलाका चोक्टाहरू
कुन सेकुवा पसलको सुईरोमा पोलेर बेच्ने हो
तर फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरंकुश काठमाण्डु !

-----
शंखमूल काठमाण्डौ

No comments: