Monday, September 24, 2007

खबरदार शब्दहरु !


रोशन सुवेदी

खबरदार शब्दहरु !
खबरदार शब्दहरु !
समयको यो क्षणमा
अझै सजग भएर बोल्नुपर्छ
खबरदारी गर्दै औलो ठड्याउनुपर्छ

अझैं अध्यारो बिरुद्ध शंखघोष गर्दै
सत्तालिप्सामा र भागबण्डामा टाँसिएको
लोभी फ्याउरे अनुहारहरुको मुखेण्डो उतार्दै
उज्यालोको समय यात्रामा
मुठ्ठी कसेर हिड्नुपर्छ

ती बोली नहुनेहरु
अझै शब्दबिहिन छन्
ती जीवन नभएकाहरु
अझै लाशतुल्य छन्
ती बिकट गाउँहरु, ती बस्ती र गल्लीहरु
अझैं चुकसरी अध्यारोमै छन्
युगौदेखि किचिएका अनुहारहरु
पिल्सिएकै छन् किचिएकै छन्

ती स्वतन्त्रताका कोरा भाषणहरु
नारी मूक्तिका उद्घोषहरु
छुवाछुत बिरुद्धका शब्दघोषहरु
कोठे मूक्तिका घोषणाहरु
बाँच्न पाउने अधिकारहरु
अझैं मात्र बोलीमा अड्किएका छन्
कोरा अक्षरमा कैद भएका छन्

होशियार शब्दहरु !
देश लुट्ने भोका ब्वासाहरु
जनताको रगत पसिना शोषण गर्ने जुकाहरु
अधिकार र न्यायको हत्या गर्ने अपराधीहरु
अझैं छाती फुलाएर हिडिरहेछन्
भ्रष्टचारीहरु, देश खोक्रो बनाउनेहरु
अझै जनताका प्रतिनिधि भएको अभिनय गरिरहेछन्
अनि भ्रष्टचारमुक्त समाजको व्याख्यान दिदैछन्
अधिनायकवादका पात्रहरु लोकतन्त्रको मोडल बताउँदैछन्
जनताको छातीमा गोलीका पर्रा बर्षाउने अनुहारहरु
कुर्सीमा गजधम्म बसेर बोलीमा लोली मिलाउँदै छन्
आफु चोखिदै अरुलाई नै औंलो देखाउँदैछन्
अरु धेरै अनुहारहरु
अध्यारोका चमेराहरु ऊज्यालोका महिमागान गाउँदैछन्

खबरदार शब्दहरु !
फेरीपनि षणयन्त्रका गोटीहरु चल्न सक्छन्
अँध्यारा खोपीभित्र खेल हुन सक्छन्
जनतालाई पुन दाश बनाउन
ती काला अनुहार जुर्मुराउन सक्छन्

खबरदार शब्दहरु !
परिबर्तनको नाममा खेती गर्नेहरु
अझै भ्रममा बाँधेर शासन गर्न खोज्लान्
अझै शब्दजाल बनाएर मोज गर्न खोज्लान्
आँखामा छारो हालेर गीताका पाठ पढाउन खोज्लान् ।

खबरदार शब्दहरु !
बलात्कारी भाग्न नपाउन्
भ्रष्टाचारी उम्किन नपाउन्
हत्याराहरु लुक्न नपाउन्
जनताका रगतमा होली खेल्नेहरु
दाशताका पहाड थोपर्नेहरु छुट्न नपाउन्

होशियार शब्दहरु !
मान्छे अझैं मूक्ति भएको छैन्
खबरदार शब्दहरु !
मान्छे अर्झै अधिकार सम्पन्न भएका छैन् ।
शब्दहरु ! समयको यो क्षणमा
अझै सजग भएर बोल्नुपर्छ
खबरदारी गर्दै औलो ठड्याउनुपर्छ ।

-

कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४४६०१९४३ बास, ४४७०९३३ कार्यालय

email-subedi.roshan@gmail.com

No comments: