Monday, September 24, 2007

जीवन

पुष्प मूनंकर्मि


मेरो जन्म पछि
दुध पैचों मागेर टारेकी थिइन रे मेरी आमाले !
बक्षबाट दुध ननिस्केपछि
मेरो बाबाले लिटो ल्याएको थियो रे उधारोमा !
यसरी चल्दै थियो मेरो घर
हजुर बुबाहरुको पालादेखि !
औंठा छाप लाएर मेरो बाबाले
स्कूल सम्म त पुयाए मलाई
तर निशुल्कको नाममा खुलेका विद्यालयमा
भर्ना शुल्क, परिक्षा शुल्क तिर्न नसक्दा
हैरानी खेपेर भएपनि
शिक्षकको निगाहले फेरि फेरि पढ्न पाए ।
जव कलेज प्रवेश गर्न गए
मेरा हात धेरैले तानेर लान खोजे गेटैबाट
र बेर्न खोजे तिनीहरुले रंगाएको कपडाले
जसलाई मात्र देखाउनु छ
दुनियालाई आङ्खनोमा संख्या बढेको
र मलाई प्रयोग गर्न थाले
भाषणमा, सडकमा, तोड्फोडमा,
कालो मोसो दल्नमा, र्याली निकाल्नमा
मलाई थुनेपछि चल्न थाल्यो बहस संसदमा
तर चलेन बहस त्यहा
उधारोमा काटिएका बिलका बारेमा
हरेक साझ
ती बिलले सताउछन् साह्रै नै मलाई
तर बिललाई
फरफराएको कपडाले देख्न चाहदैनन्
केवल छेकेकाछन् मेरा बाटाहरु
आज कसैले पनि पत्याउदैनन्
यो मुहारलाई
तर मलाई
मात्र एउटा अन्तिम उधारो बिल जसरी भएपनि काट्नुछ
सदा सदाको लागि ।
-
१३ अगष्ट २००७, दोहा,कटार

No comments: