दामोदर पुडासैनी "किशोर"
चित्रहरुको माझमा उभिएपछि
एकाएक ध्यानमग्न बन्न थालें म
पटापट सत्यका कुराहरु बक्नथाले चित्रहरु
उबडखाबड उम्रियो
स्निग्ध र सपाट फाँट उम्रियो
चित्र नियाल्दैं गएपछि
खुल्न थाले पीडाका ककराहरुबाट
फ्रेमका खिरिला पहाडहरु
चित्र भयो र पो
अमर हुन पायो मायाले
चित्र नभएको दिन
कुनै अभिलेख रहनेछैन मायाको
र, मेटिनेछन् हिसाब किताव र बहिखाताहरु
क्रमशः ब्रम्हाण्डवाट सधैका लागि
प्रिय, तिमी र म
बिदा भयौं भने यो संसारबाट
हाम्रो गाढा मायालाई
बचाइरहनेछ अनन्तसम्म
केबल हाम्रो मायाले चित्रले
चित्र छ र पो शुन्य छ
चित्र छ र पो संसार छ
चित्र नभए कहाँ हुन्थ्यो आकार
चित्र नभए कहाँ खुल्थ्यो जीवनमा
इन्द्रेणीरंग
जिन्दगीलाई नौलो चित्रमा
ढाल्न सक्ने हो भने
सम्झ
सिर्जना गर्न सकिनेछ
एउटा विशाल ब्रहमाण्ड
चित्र नभए
हरेक मान्छेको धड्कनमा
कहाँ बाँच्थिन् र मोनालिसा
कहाँ लेखिन्थ्यो र अमरकथा लैला मजुनको
प्रिय, आखिर बाँचेको छ हाम्रो प्रेम पनि
तिम्रो मेरो चित्रका
अन्तर आकारहरुमा
चित्रहरुका माझमा
क्रमशः लोलाउँन थाल्दोरहेछ मान्छे
र, खुरुखुरु झुल्कन थाल्ने रहेछन्
शाश्वतका घाम र जूनहरु
No comments:
Post a Comment