Monday, October 15, 2007

कविताको सम्झनामा घाउ बल्झेछ

डा. मधुकृष्ण श्रेष्ठ ' माधुर्य'


सौन्दर्य की प्रतिमा !
कविता !
मेरी प्रेयसी !
तिमी त मभित्रै छ्यौ
त्यसैले त खोज्ने गर्दिनँ
कतै शब्दहरूमा

मुटुभित्रै छ्यौ
त्यसैले त देख्दिनँ
कतै छन्दहरूमा
श्वासप्रश्वासमै छ्यौ
त्यसैले त भेट्दिनँ
कतै भावहरूमा

आउन त आयौ
गहिराइहरूमा
आयौ तिमी किन ?
मान्छे झैँ अनायास
स्वार्थ लिएर आयौ ?
भोगाइहरूसँगै
एकान्त समयमा
आफूलाई पस्कन आयौ
कल्पनाको सौन्दर्य बनेर
जीवनको पर्याय बनेर
त्यसैले त माया गर्छु चुम्बन बर्साउछु
रातको तारा गन्दै अङ्कमालमा ममता दर्साउछु

एकैछिन छुट्टीनु पर्दा तिमीसँग आज
मध्याहृनको दिन पनि लाग्न थाल्यो साँझ
सम्झनाको घाउ मुटुमा चसक्क बल्झेछ
सपनीको त्यान्द्रोमा समेत पिरती अल्झेछ

प्रेयसी !
कविता !
मान्छे तिमीजस्तो सुन्दर छैन
खुशी, सुखी वा आनन्दित छैन
मान्छेको जीवनमा सदाबहार वसन्त बाँच्न सक्तैन
चाहेर पनि सुख बाँच्न सक्तैन
सुख त सन्तोषमा बाँच्छ
कल्पनामा बाँच्छ
रहरमा बाँच्छ
सम्झौतामा बाँच्छ

बरु केही अभावहरूका बेलाहरूमा
अन्तिम घडीका मेलाहरूमा
मान्छेको सहारा, दुःख हुन सक्छ
मान्छेको आफ्नो भन्नु पीडा हुन सक्छ
पीडाको मात लागेर ढुनमुनिएको बेला
सङ्कीर्ण ब्रहृमाण्डमा कवि नअटेको बेला
तिम्रो स्वर्गीय पुष्पमार्गमा भौँतारिन देऊ
कोमल मुटुभित्र तिम्रो एउटै सहारा देऊ
म तिम्रो लागि तिमीसँगै बाँच्न चाहन्छु
तिम्रै बोली, मायाप्रीति साँच्न चाहन्छु !

No comments: