Wednesday, October 31, 2007

नदी किनारा


देवेन्द्र खेरेस

कुन वगैचा
कुन वनजंगल
र कुन पाखापर्वतबाट बगायो
त्यो असती बाढीले मलाई ।

त्यै बाडीमा बगेर
हाड र छालाहरु खिइएछ
नशाहरु खुम्चिएछ
र बाढीसँगै बगेर
जान नसकेपछि
आधा बाटैमा छेउलागेको
नदि किनारा हुँ म ।

त्यै वगैचामा फल्ने-फुल्ने वैषहरु
त्यै वनजंगलमा डुल्ने-घुम्ने जोसजाँगरहरु
त्यै पाखापर्वतमा हास्ने-खेल्ने रहरहरु
त्यै असती बाढीले गर्दा
भलै-भल
पहिरै-पहिरो
र छाँगाबाट खसेर
फुटेर
चिराचिरा परेको अस्तित्व
टुक्रिएर जोडिन नसकेको
खिइएर चम्किन नसकेको
यतिवेला
हराउनलाई तयार
बिलाउनलाई तयार
र नदिमा पानी भएर
बग्न नसक्नुको पीडा
थप्लाभरि बोकेर
गन्तब्यको खोजिमा हिँडेको यायावर

अब
आफ्नै थानवास खोजेर/रोजेर
जाने सुर चढेकोछ
साच्चै सुर चढेकोछ
कहा कहा जाउजस्तो
के के गरौजस्तो
र कतै बाटो खोजेर
हिँडि हालौजस्तो सुर चढेकोछ
फेरि फेरि तल नझर्नेगरि
फेरि फेरि तल नपर्नेगरि
फेरि फेरि तल किचिएर नमर्नेगरि
उभै उभै जाने सुर चढेकोछ
मैले टेकेको माटो
मैले हिडेको बाटो
मैले हेरेको दृष्य
मैले वाँचेको जीवन
मैले रोजेको विचार
सप्पै सप्पैमा सुर चढेकोछ ।

यै नदिको जघार तर्दै
माथि-माचि पुगेर
हिउ झरिबस्ने
पहाडको मुन्तिर
झुलो चक्मक्मा
दल्सिन् ढुङ्गा ठोसेर
झिल्का उडाउदै
आगो वाल्ने सुरचढेकोछ
पुरानो ठुटाहरु ढालेर
पुरानो झिक्राहरु भाचेर
पुरानो पातहरु टिपेर
पुरानो बोक्राहरु ताछेर
पुरानो जराहरु उखेलेर
र, अझै पनि भएन भने
काचो काठमा आगोवालेर
वर्षौ देखिको जाडो छल्ने सुरचढेकोछ ।

विचारको छेप्याश्रले
कन्चटमा ताकेपछि
पढ्किनलाई तयार
यै किनारमा
यहिनेर हेर्छु
पानीमा सल्बलाउने
माछाहरुको बथानझै
नशा-नशामा वग्ने
तातो रगत
घरि-घरिनै उम्लिने गर्छ ।
र, यै नदिमा
तल र माथि
माथि र तल
र पर-परसम्म
गोतामारेर संसार फैलाउने
सामुन्द्रिक प्राणीझै
म आफ्नो संसार फैलाउन किन सकिन ?
कि म प्राणी हैन ?
कि हैन म प्राणी ?
कि प्राणी मध्यको चेतन्शिल प्राणी हैन म ?

अब
किनारा भएर बस्नुको अर्थ छैन
अब खिइसकेको हाड र छालाहरु
सेकतापगर्दै
हिसाब गर्नुछ
भाचिएको करङ्गहरु गनेर
बिर्सिएको सपनाहरु खोज्दै
फरि अर्को सपना देख्नुछ
खोला
नदि
समुद्र
र, सागर महासागरदेखि
किनारालागेको म
अब सपना देख्नुछ
अर्को - समयको लागि
अर्को - चेतनाको लागि
अर्को - मानिसको लागि ।

हाल - हंगकंग

No comments: