Wednesday, October 3, 2007

अन्तिम रात


किशोर पहाडी


ठोकेर
ड्याम् ड्याम् गोली ठोकेर
मेरा बाबालाई
चितुवाको छाला झैँ टाटेपाटे
लुगा लगाएकाहरूले
गोली ठोकेर मारिदिए-
ड्याम् ड्याम्... ...।

हानेर
ठ्याम् ठ्याम् लाठीले हानेर
मेरी आमालाई
हरियो वर्दी लगाएका दाइदिदीले
पिटीपिटी मारिदिए-
ठ्याम् ठ्याम्... ...।

अब म एक्ली बाँकी छु-
गाई चराउँछु,
बाख्रा चराउँछु,
पाठशाला जान्छु,
कसैको बिगार गर्दिनँ;
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई ।

मलाई नमार्न भनिदिनोस् उनीहरूलाई
म यो देशको भविष्यको कर्णधार,
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई
म आफै आफ्नो आँसुको धार

अब खाल्टा परेका बाटाहरू
मैले सम्याउनु पर्छ,
अब फाट्न थालेका धाँजहरू
मैले सध्याउनु पर्छ
मैले आफ्ना ससाना चलायमान पैतलाहरू उचाली
कठोर पर्वतहरू चढ्नु पर्छ,
मैले आफ्ना ससाना अबोध औँलाहरू घिसारी
देशको नयाँ नक्शा कोर्नुपर्छ

रातको सन्नाटामा
अहिले म कुचुक्क परेर
गोठमा आफ्नी गाईसँगै
थकाई मार्दैछु हजुर
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई ।

No comments: