गीता त्रिपाठी
बादलको देशमा
बादलकै मान्छेहरू
टेक्छन् बतासे खुट्टाहरू र
सरिरहन्छन् कहिले यता
कहिले उता
तिनका हलुका वजनहरू
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षातिर
मातृशक्तितिर
ती छुट्दै जान्छन्
उठ्दै जान्छन्
भ्रमको अस्थिर आयामहरूमा र
फेरिरहन्छन् बादले-आकृतिहरू
कहिले काला हुन्छन्
घनघोर काला
कहिले सेता
रूवाझैँ हलुका
धेरैजसो ती गहुंगोरा हुन्छन्
बीचका
न यताका न उताका
घामलाई छेकिदिन्छन् ती
पानीलाई रोकिदिन्छन्
तन्किरहने र खुम्चिरहने आकार बोकेर
एकान्तमा कानेखुसी गर्छन्
बतासे ऋतुझैँ सरिरहन्छन्
कहिले यता, कहिले उता
विना वजनका मान्छेहरू ।।
----------------
वालुवाटार काठमाडौ
No comments:
Post a Comment