Thursday, August 30, 2007

हैजाले लान नसकेकाहरु

मीन द्वन्द्वी


उता बस्तिमा बाघ पसेर
धमाधम मान्छे खाइरहेको छ
हरेक दिन गाउँबाट कोही न कोही
हराएको खबर आइरहेको छ,
यता आफूलाई जन्मजात
शिकारी ठान्ने केही महानुभावहरू
झिङ्गा मार्ने आफ्नो सिद्धान्तको,
झिङ्गा मार्नु पर्ने कारणको
बखान गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

उता बाघले बस्तिमा पसेर
आतङ्क फैलाइरहेको छ
गाउँभित्र दिनप्रतिदिन
असुरक्षा मौलाइरहको छ
यता आफूलाई उच्च कोटीको
शिकारी ठान्ने केही महानुभावहरू
फिस्टा मार्ने आफ्नो सिद्धान्त र नीति
कता हो कता बहादुरीपूर्ण भएको
दाबी गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

आफ्ना गाउँले इष्ट-मित्रहरूलाई
बाघले मारेको समाचार आउँदा पनि
संगै खाईखेलेका दौंतरीहरूलाई
बेपत्ता पारेको खबर पाउँदा पनि
तिनका आँखामा बेदनाको नाम पनि छैन
मुखमा सहानुभूतिको 'राम राम' पनि छैन
"म बहादुर, तँ चाहिं काँतर" भनेर उनीहरू
आपसमा घाँटी कोराकोर गरिरहेका छन्
एक-अर्काको भूडी फोराफोर गरिरहेका छन्
हैजाले लान नसकेकाहरू !

म

लक्ष्मी माली


म
एउटा स्वचालित यन्त्र
'स्वीच अन' हुँदा चल्ने
'स्वीच अफ' हुँदा रोकिने
तर
यति नसोच तिमीले सपनामा पनि
कि
मेरो स्वीच तिम्रै औंलामा छ
होइन भने
'स्वीच अन' गरेर हेर
मेरो आस्था
मेरो विश्वास
म उभिएको धरातल
हल्लाउन सक्ने छैनौ तिमी
मेरो संवेदनशील व्यवहार
जीवनको एउटा सम्झौतामात्र हो
विवशता होइन
धेरै कुराहरु सहेको छु
समय समयमा
तर बुझ तिमी
कक्रिएको माटो भिजाउने
म पानी हुँ
आफ्नै अन्जुलीभरिको ।

नदी उत्सव


रमेश श्रेष्ठ

नदीहरू
स्तनले कविताहरू कोर्छन्
र, हृदयको बाँझो खनेर
क्षितिजले धरती टेकेर निदाएका
गीतहरू सुनाउँछन्
उक्लेर पहाडको निधारमा
पसिनाले जङ्गल भिजेको
कथाहरु लेख्छन्
उदास झुप्राहरूबाट
अभाव पखाल्न उठेका
खेतका हातहरू
चप्प समातेर
दरिलो बनाउने आँट बाँड्छन्
र, गर्भमा हुर्किरहेका
थुप्रै बालक नदीहरूका
ढुकढुकीहरू सुनाउँछन्
सडकभरि दृष्टि बिछ्याएर
इन्द्रेणी सन्तानहरुका शिरमाथि
आकाशको छानो कस्छन्
र, आफ्नो खुम्चिएको
निधारका धर्साहरू उप्काएर
जीवनमा हिँडनुपर्ने
लामा-लामा बाटाहरू देखाउँछन्
मूलहरूका भुलभुले आँखाहरू पुछेर
निरन्तरता र दृढताको
जीवन डोरीहरू बाट्न सिकाउँछन्
कहाँ भेटिएला नदीहरूलाई ?
झरनाको जस्तै लामो कपाल
सागरको जस्तै गहिरो आँखा
हिमालको जस्तै सुन्दर मुस्कान
जहाँ उभिइरहन्छ एउटा
गर्भिणी बिहान
त्यहीँ खोज्नु नदीहरूलाई

Tuesday, August 28, 2007

मेरो गाँउटोल


विश्वास दीप तिगेला

उमेर र परिस्थतीले
मलाई कहाँ पुर्‍याएछ कुन्नि
बुडापाकाहरु भगवान झै लाग्छ
गाँउघरको शोभा इज्वत झै लाग्छ
तर, छिमेकी बाजे बोजु,
छिमेकी वडाबा, वडिआमाले
सधैको लागि मेरो गाँउ
भर्खरै छोडेर जानु भयो रे
त्यसैले आजकल मलाई
मेरो गाँउ बेरमाइलो र उराठ लाग्छ ।

आँगनमा सुकाएको बिस्कुन
अब कस्ले रुङ्छ होला ?
रोइ रहेकी सानी नानीलाई कस्ले फकाउछ होला ?
सधै वडाले टेक्ने लौरी
कता पर्‍यो होला ?

बुडापाकाका अर्तिउपदेश
अब त गाँउघरले बिषिर्न्छ होला
त्यसैले मेरो गाँउटोल
मलाई बेरमाइलो र उराठ लाग्छ ।

------------------------
ब्रुनाइ, २५ मार्च २००५

वीर गोर्खाली


इश्वर चाम्लीङ्ग

हामी वीर गोर्खाली, वीरताको शानले नै विश्व थर्कने
स्वाभिमानी नेपाली, खुकुरीको धारले नै बैरी तर्सने
हाम्रो रगत रातो छ, आगो भन्दा तातो
इतिहासलाई सोधे हुन्छ, कहिले हाम्ले हार्‍या छ
हामी वीर गोर्खाली
स्वाभिमानी नेपाली

जहां जहां अशान्ति छ, शान्ति कायम गर्र्छौ हामी
जहां जहां अन्याय छ, अन्यायीलाई मार्र्छौ हामी
संसार हाम्रो घर हो,
वीर गोर्खाज थर हो
हामी भित्र आगो छ,
हाम्रो रगत तातो छ.
हामी वीर . . . . . .

धेरै लड्यौ सबै जित्यौ, विश्व सामु वीर भयौ
हार्नु भन्दा मर्नु निको जित्यौ सबलाई भि. सि. पायौ
संसारकै वीर,
जहिले उच्च शिर
हामी केहि साना,
शाहसिला वाण
हामी वीर गोर्खाली,
हामी वीर . . . . . .

जुन


दिलिप योन्जन


अन्धकारमा डुबेको अभाबको जिन्दगी
कालो रातमा उज्यालो छर्न झुल्किएकी जून
सुनसान सुनसान सडक बस्ती हुँदै
कोठामा निर्बस्त्र नागिए झै
सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै
दुख सुख सगाल्दै, निसासिदै
समुद्र, मरुभूमी ,हरियाली हुदै
एक क्षितिजबाट अर्को क्षितिज चाहार्दै
एक्लो उजाड जिन्दगी बोकेर
पाखा पखेराहरुमा अल्झिन्दै
अन्धकारमा पिल पिल उज्यालो छर्दै
गाँउ, बस्ति, झरना अनि टाकुरा हुदै
एउटै गतिमा उकाली, ओराली अनि देउराली हुदै
आश्था र भरोसाको दियो झै
हरेक झिस्मिसेबाट निस्किएर उज्यालिदै
क्रमस एउटा गाँउ बाट अर्को बस्ति हुदै
निर्धारित गन्तब्य लिएर सधै
लम्किरहन्छ बिस्तार बिस्तारै

-------------------
बोगोता कोलोम्बिया
hyounjon111@gmail.com
00573173078378

Monday, August 27, 2007

एक दिन एकचोटि आउँछ

गोपालप्रसाद रिमाल


एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ
लाटा-सुधा बोल्नथाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएर इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की-फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्छ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !