Tuesday, November 20, 2007

इच्छा

सुलभ दाहाल

म विदेश जान्न
यहीँ बस्छु
आफ्नै देशमा बस्छु
मैले मेरो जन्मको
मूल्य तिर्नुछ यो देशलाइ
यो देशको माटोलाइ
म यही, जन्मेँ हुर्के
अब यही चोला त्याग्नेछु
म विदेश जादैँ जान्न
वरु म यहीँ भोकै मर्छु
भोकमरी सहेर पनि
यहीँ बाँच्छु
वरु म दुखमा रमाउछुँ
तर यो देश छाड्दीन
यहाँ महङ्गी,भ्रष्टाचार छ
म अनभिज्ञ छैन
सबै जानकार छन
नातावाद,कृपावाद व्याप्त छ
फेरी पनि यहीँ बस्छ, यहीँ बाँच्छु
म विदेश कहिल्यै जान्न
मलाइ ती डलरकोलोभमा
देशलाइ भुल्नु छैन
त्यसैले म यहीँ बाँच्छु
धेरै सास्ती र थोरै हाँसो खपेर।

सुरुङ्गा-५, झापा,नेपाल

चेलीलाई सम्झेर


इश्वर चाम्लिङ्ग

गोदावरीलाई मखमलीलाई र सम्झे सयपत्रीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

बर्षौ बित्यो सम्झनामै तिहार मनाएको
धेरै भयो खुशि ल्याउने भाका बढाएको
फूल रानीलाई स्यानी बैनीलाई र सम्झे सेलरोटीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

यसबेला त गला भरी माला हुनुपर्ने मेरो
धेउसीरे र भैलेनीले स्वर सुक्नु पर्ने मेरो
दीपावलीलाई मेरो भागी मालालाई र सम्झे टिकालाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

२०६४ सालको तिहारमा, बेलायत

गजल


वषन्तमोहन अधिकारी

धेरै भयो अल्झिराको गाठो रहेछ ।
सिमाना र साध बिच आठो रहेछ ।

घर भित्र मेलमिलाप हुन छाडेछ
रण्डी बाजी जस्तै चाल नाठो रहेछ ।

समाज भित्र गन्हाएर हल्ला चलेछ
गर्भ भित्र त्यो नाठोको पाठो रहेछ ।

चिसो चुल्हो रोग भोक बच्चा रोएछ
घरनै लुट्यो त्यो नाठो बाठो रहेछ ।

सकुनीको पासा भित्र यहाँ पारेछ
संसारमा नभएको टाठो रहेछ ।

दुख्यो मुटु बाँच्न अव गार्हो भएछ
कपिलवस्तु रौतहटको लाठो रहेछ ।

यस्तै गरिन्छ यहां

तुलसी सुनार

दमाइले सिलाएका कपडा लगायर
मन्दिर भित्र पस्ने हरु
त्यहि मन्दिरमा
दमाइलाई पस्न दिदैनन् यहां
ढुङ्गालाई देउता मान्दै
मुर्ति पुजा गर्ने हरु
त्यहि मुर्ति बनाउने हातहरुलाई
मुर्ति छुन दिदैनन् यहां

सुनारले बनाएका गहना लगायर
झकमक्क भई हिड्ने हरु
त्यहि सुनार ले छोएमा
सुनपानी छर्कि चोखिन खोज्छन् यहां

कामीले बनाएका भाडाहरु सजायर
घरको सौन्दर्य बढाउन खोज्नेहरु
त्यहि भाडोमा उसैलाई
पानी दिन मान्दैनन् यहां

यो कस्तो बिडम्बना
जस्ले श्रम गर्छ पसिना बगाउछ
त्यहि मान्छे पछाडी परिरहेछ यहां
जस्ले श्रमको सोषण गर्छ
त्यहि मान्छे अगाडी बढीरहेछ यहां

त्यसैले

श्रम गर्ने र पसिना बगाउनेहरुको
श्रमको मुल्यांकन गरिनु पर्छ यहां
एक मुठी चामल र पिठो होइन
पेटभरी खान र बस्न पाउनु पर्छ यहां ।

रझेना ४ पुष्पनगर बांके नेपाल

Monday, November 19, 2007

आगो बल्दैछ

स्वर्गीय विमल गुरुङ्ग

केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरै खाइसकेपछि खाना ।

आगो बल्दैछ
पात पतिंगरहरु जल्दैछन्
काठहरु बल्दैछन्
खसेलाहरु जल्दैछन्
आगो बल्दैछ ।

रहर छ
आगो ताप्ने मलाई पनि
यो हुस्सु परेको रातमा ।

आगो बल्दैछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
हामीलाइ
बाटोमा
राम्ररी हिंड्न नदिने
काँडाहरु जल्दैछन्
कोइला हुँदैछन्
खरानी हुँदैछन्
आगो बल्दैछ ।

कहीं जाँदा पनि
हामीलाई शान्ति छैन
कोठा जाँदा पनि शान्ति छैन
कौसीमा
सडक, रिक्सा, साइकल, मोटर
मान्छेहरु र
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
सिमेन्टका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
केही गर्दा पनि शान्ति छैन
कतै जाँदा पनि शान्ति छैन
हुस्सु-हुस्सु छ चारैतिर
ठण्डा-ठण्डा छ चारै-चारैतिर ।

हुन सक्छ
यसैले केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरे खाइसकेपछि खाना ।

आगो बल्दैछ
साइकलको पुरानो टायर जल्दैछ
खुब मजाले
हवार-हवार्ती जल्दैछ
साइकलको
डेट-अफ ट्युबहरु जल्दैछन्
छेस्का छेस्कीहरु बल्दैछन्
मकैका खोयाहरु जल्दैछन्
प्लास्टिकहरु बल्दैछन्
ढुङ्गाहरु काला हुदैछन्
माटोहरु डड्दैछन्
वातावरण तापमय हुदैछन्
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदै छन्
हुस्सु भयभित हुदैछ
आगो बल्दैछ ! !
२०४६-९-२०

ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ -बस दुर्घटनामा
कृति कविता संग्रह 'आगो बल्दैछ'

Thursday, November 15, 2007

एक पुस्तक र एक लेखक


सबिना सिन्धु

सारा धक फुकाएर
आफैंलाई उप्काएर
कागज भित्र कोरिन्छ
अक्षरका ती लामहरुमा ।

र् तर्क र वितर्कको संज्ञा लगाई
शब्द र परिभाषहरुबाट
झोल झैं ऊ छानिन्छ
मस्तिष्कका रङ्गनि जालीहरुमा ।

वाक्यांशका लहरहरु भित्र
अक्षरका मूल्यहरुमा
प्रत्येक पल्ट ऊ फेरिन्छ
हेर्राई र दृष्टिको मोलमा ।

भिन्न प्रकाशमा
भिन्न मुहारका
आँखाका अनौठा र्स्पर्शहरु पश्च्यात्
सुरक्षित साथ सेफ र र्याकमा सजिन्छ ऊ ।


- 'परिवर्तन' कविता सङ्ग्रह - २०५९ बाट

Tuesday, November 13, 2007

मदर टेरेसा


तिलक थापा

कठै मेरी आमा
कति असल थिईन उनि.....

भन्नु हुन्थ्यो
घमण्ड नगर,...
सवैलाई निश्छल
माया गर,...
सुःखमा नहास, ...
दुखमा नरोउ...
समस्यहरु संग नभाग...
मौज र मस्तीमा
मात्र नरम...
आहा, मेरी आमा
समाजकी गुरुआमा
थिईन उनि...

भन्नुहुन्थ्यो
दिन दुखीको सेवा गर,...
शत्रुलाई मित्र बनाउ, ...
मित्रलाई मनमा बसाउ, ...
रिस र घृणा त्याग...
असाहृयलाई माया गर...
आहा, मेरी आमा
कति ज्ञानी थिईन उनि...

भन्नुहुन्थ्यो
बटुवाको निम्ती
पाटी पौंवा बनाउ...
त्यसैको छेउमा
एउटा कुवा खनाउ...
थकित यात्रीका लागी
चौंतारी बनाउ...
आहा, मेरी आमा कति असल
थिई उनको विचार..

भन्नुहुन्थ्यो
अनपढलाई शिक्षा दैउ...,
अन्धोलाई संगै डोरयाउ...
अनाथलाई आश्रम दैउ, ...
बृद लाई आश्रअ दैउ...
आहा, मेरी आमा
कति महान थिईन उनी...

भन्नुहुन्थ्यो
पापीलाई धर्म सिकाउ, ...
बैमानीलाई गुन सिकाउ, ...
जिद्घीलाई जितन दैउ,
घमण्डीलाई आचरण सिकाउ, ...
आहा, मेरी आमा
कति असल थिईन
मेरी आमा....

भन्नुहुन्थ्यो
शुद्घ मनले पुजा गर,..
कसै माथी पाप नसोच, ..
देउतालाई प्रशन्न बनाउ, भन्दै,
कुनै पशुको बलि नचढाउ..
सक्छौ भने देउताको नाउमा
एक जोडी भाले पोथी
परेवा छोड्देउ..
आहा, मेरी आमा
कति धर्मि थिईन उनी..

मदर तेरेसा का नामले
चिनीन्थिईन उनि..
तिमो र मेरो मात्र हैन
ससार कै आमा थिईन उनि..
लाखौ आमाहरुका आमा..
मदर तेरेसा थिईन उनी..